महत्वपूर्ण निर्णय गर्दै नेकपा र क्रान्तिकारी माओवादीबीच उच्चस्तरीय बैठक सम्पन्न 

काठमाडौं : महत्वपूर्ण निर्णय गर्दै नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)बीच हालै बसेको उच्चस्तरीय बैठक सम्पन्न भएको छ । दूई पार्टीका शीर्ष नेताहरुले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै क्रन्तिकारी ध्रुवीकरण एवं एकताको प्रक्रियामा सहभागी हुने भएको हो । नेकपाका महासचिव विप्लव र नेकपा (क्रान्तिकारी)का महासचिव किरणद्वारा संयुक्त जारी गरिएको विज्ञप्ति भनिएको छ । – क्रान्तिकारीसँग आगामी जनयुद्ध दिवस र शहीद सप्ताहलाई केन्द्र र विभिन्न जिल्लाहरुमा संयुक्त रुपमा मनाउने निर्णय पनि गरेको छ । साथै, तत्काल कार्यगत एकताको पहल गरी संयुक्त संघर्षलाई अगाडि बढाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिको पूर्णपाठ – 

हालै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुका बीचमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । बैठकले निकालेका निस्कर्षहरु निम्नानुसार रहेका छन् : १) कथित संविधानको कार्यान्वयनको सन्दर्भमा संसदवादी दलहरुले तीनै तहका निर्वाचनद्वारा नेपालमा प्रतिक्रान्ति पुरा गर्ने धृष्टता गरी राखेका छन् । राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीवीकाका समस्याहरु थप गम्भीर बनेका छन् । यो स्थितिले राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरुका बीचको एकता अनिवार्य आवश्यकता बन्न पुगेको छ भन्ने अघिल्लो बैठकको निस्कर्ष सही सावित भएको छ र यो प्रक्रियालाई अगाडि बढाउन छिटै आवश्यक पहल गर्ने निर्णय गरिएको छ । 

२) साम्राज्यवादी शासकहरुले आ–आफ्ना दलाल तथा भरौटेहरुको सहयोगमा नेपालमा आर्थिक, राजनीतिक तथा सांस्कृतिक हस्तक्षेप गर्दै आएका छन् । यो प्रक्रियामा मुख्यतः भारतीय शासक वर्गले १९५० को असमान सन्धि र अन्य विविध सम्झौताहरुमार्फत् नेपाली जलस्रोतमाथिको हस्तक्षेप, सीमा अतिक्रमण र व्यापारिक हस्तक्षेप बढाउँदै लगेको छ । माथिल्लो कर्णाली, अरुण ३ पुनः भारतीय ठेकेदार कम्पनीलाई सुम्पने वा सरकारको पछिल्लो निर्णय, बीरगञ्जको छपकैयामा भएको भारतीय सीमा अतिक्रमण, नेपाली सामानलाई भारतीय बजारमा पैठारी गर्न रोक आदि कुराले स्थितिलाई अरु गम्भीर बनाएको छ । खाद्यान्त, तरकारी लगायत उपभोग्य वस्तुको मूल्य आकासिँदो छ । बेरोजगारीका समस्या विकराल छन् र कथित संविधानले उत्पीडित वर्ग, जाति, लिङ्ग र क्षेत्रका समस्यालाई सम्बोधन गरेको छैन । यी समस्यालाई अब बन्ने भनिएको सरकारले पनि सम्बोधन गर्न सक्दैन । यो कुरा केही दिन अगाडि भारतीय परराष्ट्र मन्त्रीले नेपाल भ्रमण गरेको बेला कथित वाम गठबन्धनका नेताहरुले देखाएको निकृष्ट दलालीको रवैयाबाट प्रष्ट हुन्छ । यस स्थितिमा राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा समस्यालाई लिएर पहिल्यैदेखि सञ्चालन गरिँदै आएका सङ्घर्षका संयुक्त कार्यक्रमलाई थप व्यवस्थित गरी अगाडि बढाउनका लागि वामपन्थी, प्रगतिशील, जनतान्त्रिक तथा देशभक्त शक्तिहरुसित आवश्यक समझदारी बनाई संयुक्त मेर्चा निर्माणको निम्ति शीघ्र पहल गर्ने निष्कर्ष निकालिएको छ । साथै तत्काल कार्यगत एकताको पहल गरी संयुक्त संघर्षलाई अगाडि बढाउने निर्णय लिइएको छ ।

 ३) दुबै पार्टी र क्रान्तिकारी ध्रुवीकरण एवं एकताको प्रकृयामा सहभागी हुने क्रान्तिकारीसंग आगामी जनयुद्ध दिवस र शहीद सप्ताहलाई केन्द्र र विभिन्न जिल्लाहरुमा संयुक्त रुपमा मनाउने निर्णय गरिएको छ ।  माथि उल्लेख गरिएका विषयमा सहभागिता जनाउन र सहयोग तथा समर्थन गर्नका लागि हामी श्रमिक, किसान लगायतका वर्ग र जनसमुदायलाई विशेष आह्वान गर्दछौं । 

 

२०७४ माघ २५ गते साँझ ७ : ०६ मा प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :