दलाल पुँजीवादी संसदीय व्यवस्था उन्मूलन गर्न एकीकृत जनक्रान्तिले मात्र सक्छ : सुदर्शन

काठमाडौं : माघ २३ गते वीरगन्जको बिर्तास्थित लायन्सको भवनमा ‘वर्तमान परिस्थिति र नेपाली राष्ट्रियताको प्रश्न’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेपालमा भैराखेको राष्ट्रघातलाई एकीकृत जनक्रान्तिले मात्र रोक्न सक्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविका दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण भएको भन्दै त्यसको उन्मूलन केवल एकीकृत जनक्रान्तिले मात्र गर्न सक्ने बताउनुभएको छ । उहाँले अगाडि भन्नुभएको छ, ‘सुगौली सन्धिदेखि अहिलेसम्म नेपाल र भारतबीच भएका असमान सन्धिसम्झौताद्वारा नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट नवऔपनिवेशिक अवस्थामा पुगेको छ । विश्व साम्राज्यवाद निगम पुँजीवाद (उत्तरसाम्राज्यवाद) मा पुगेको स्थितिमा यहाँ निगम पुँजीवादका दलालहरूले राज्यसत्ता हातमा लिएका छन् । त्यसकारण नेपाली श्रमजीवी तथा उत्पीडित जनता र दलाल पुँजीवादका बीचको अन्तरविरोध प्रमुख बन्न गएको छ ।’ उहाँले नेपाली राष्ट्रियताको मुख्य समस्या भारतीय साम्राज्यवाद रहेको बताउनुभयो । सुदर्शनले भन्नुभयो, ‘प्राकृतिक साधनस्रोतहरूमाथि भारतीय एकाधिकारवादी पुँजी कम्पनीहरूको गिद्देदृष्टिले नेपाली राष्ट्रियतामाथि खतराको घन्टी बजिरहेको छ ।

उपल्लो कर्णाली, अरुण तेस्रो, कोसी उच्चबाँध यसका ताजा उदाहरण हुन्’, उहाँले अघि भन्नुभयो, ‘नवऔपनिवेशिक अवस्थाले दलाल पुँजीवाद जन्माएको छ । त्यसले गर्दा कुनै पनि असमान सन्धिसम्झौताहरू खारेज हुने छैनन् । यसको अलावा तीमाथि अरू थपिनेछन् । दलाल पँुजीवादका विरुद्ध नेपाली देशभक्त, किसान, मजदुर, सिपाही र राष्ट्रिय पुँजीपति वर्ग एक भएर लड्नुको विकल्प छैन । त्यसैले यी सम्पूर्ण समस्याको अन्तिम समाधान भनेको एकीकृत जनक्रान्ति नै हो । दलाल पँुजीवादी संसदीय व्यवस्था उन्मूलन गर्न वर्गसङ्घर्ष र राष्ट्रियताको आन्दोलन जरुरी छ । यो अत्याचारी व्यवस्थाको विकल्प भनेको अन्ततः वैज्ञानिक समाजवाद नै हो । राष्ट्रियताको आन्दोलन र वर्गसङ्घर्ष एकीकृत भएपछि एकीकृत जनक्रान्ति नै हुन्छ ।’

नेपाल कम्युनिस्ट पार्टी पर्साको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा नारायणी ब्युरो इन्चार्ज चिरन पुन, प्राध्यापक डा. हरिराम ठाकुर, प्राध्यापक भाग्यनाथ गुप्ता, ग्रेटर नेपालका संयोजक एवम् प्राध्यापक फणिन्द्र नेपाल, डा. भगवानचन्द्र ज्ञवाली, राजमोका हिमलाल पुरीले टिप्पणी गर्नुभएको थियो । पर्सा जिल्लाका इन्चार्ज लक्ष्मण उप्रेतीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भारतले जग्गा अतिक्रमण गरेका छपकैया र इनरुवाका जनताको उल्लेख्य उपस्थिति रहेको थियो ।  

२०७४ माघ २३ गते अपरान्ह ५ : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :