सामाजिक दलाल पुँजीवादको भ्रममा नपरौँ

नेपाल कम्युनिस्ट पार्टीले तीनमहिने जनजागरण अभियान घोषणा गरेको छ । नेकपाले वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि एकीकृत जनक्रान्ति सम्पन्न गर्न र दलाल पुँजीवादी सत्ताले फैलाएका भ्रमहरू समाप्त पार्न जनजागरण अभियान घोषणा गरेको हो । जनजागरण अभियानकै क्रममा नयाँ सत्ताले पुरानो सत्ताका राष्ट्रघाती, जनघाती, दलाल, सूदखोर, भ्रष्टाचारी र कालोबजारियाहरूलाई कारबाही गर्ने विषय अघि सारिएको छ ।

दलाल संसद्वादीहरूले कथित संविधानसभाबाट संविधान जारी गरिएपछि मुलुकलाई सुख, समृद्धि र शान्तिको लदाबदी दिने ऐलान गरेका थिए तर ठीक त्यसको उल्टो यतिबेला मुलुक इतिहासकै सर्वाधिक सङ्कटमा छ । भारतीय साम्राज्यवादले आफ्नो विस्तारवादी चरित्र देखाउँदै नेपालको सीमादेखि संसद्वादी दलालहरूको मस्तिष्कसम्म कब्जा गरिरहेको छ । जनतन्त्रको अवस्था कति नाजुक भएको छ भने देश र जनताका पक्षमा आवाज उठाउनेहरूलाई देशव्यापी गिरफ्तार गरी बन्दी बनाउने र दुःख–यातना दिँदै तारिकमा झुन्ड्याउने क्रम बढिरहेको छ । वर्तमान सत्ताले जनतामा लादेको व्यभिचारका विरुद्ध आयोजित सभाहरूमा हस्तक्षेप गरेर दलाल पुँजीवादी सत्ताले आफ्नो असली चरित्र देखाएको छ । मुलुकमा महँगी, कालोबजारी र तस्करीले आकाश छोएको छ । दलाल संसद्वादका मतियारहरूले चुनावमा तस्करहरूबाट उठाएको चन्दाको मार अहिले जनताले महँगीको माध्यमबाट खेपिरहेका छन् । दलाल संसद्वादीहरूले चुनावमा अर्बौं खर्च गरेर जनतामाथि बोक्नै नसक्ने महँगी र विकृतिको भार बोकाएका छन् ।

मुलुकमा राष्ट्रघात गरेर, जनतामाथि दमन र महँगी लादेर संसद्वादी पार्टीहरू सरकारको लुछाचुँडीमै व्यस्त छन् । नेपालीमा एउटा भनाइ छ, दुष्ट चीलले किसानलाई आकाशतिर देखाएर कुखुरा चोर्छ रे । दलाल संसद्वादीहरू कहिले कथित प्रदेश राजधानी त कहिले कथित प्रदेश प्रमुख विवादमा जनतालाई होमिदिएर आफू सत्ता भागबन्डा र लुछाचुँडीमा मस्त छन् । प्राकृतिक प्रकोप ः भूकम्प, बाढीपीडित र महँगीको मारमा परेका शोषित–उत्पीडित जनतामाथि अभाव र उत्पीडन थोपरिइरहेकै छ । शासकहरूबीच सत्ता लम्ब्याउने र सत्ता हत्याउने खेल चलिरहेको छ । यो खेलमा दलाल संसद्वादको अभियन्ता काङ्ग्रेस त अगाडि हुने नै भयो, कथित ‘वाम’ गठबन्धनका माके–एमालेको सामाजिक दलाल पुँजीवादी चरित्र झनै खतरनाक शैलीले अघि आएको छ ।

जनयुद्धको बलमा प्रतिक्रियावादी संसदीय व्यवस्था मृत्युशय्यामा छट्पटाइरहेको अवस्थामा साम्राज्यवादी शक्ति, नेपाली दलाल पुँजीवादी शक्ति र आत्मसमर्पणवादी प्रचण्ड—बाबुरामहरूको साँठगाँठमा जनयुद्धलाई विघटन गरियो भने त्यसको परिणामस्वरूप मृत्युन्मुख संसदीय व्यवस्थालाई जबर्जस्ती सत्तामा फर्काइएको छ । तर छ्वालीको खुट्टा टेकाएर टिकाइएको यो मरणोन्मुख दलाल सत्ताको आयु धेरै लामो छैन । यो प्रतिगामी सत्तामा पुरानै प्रतिगामी, दलाल पुँजीवादी शक्ति काङ्ग्रेस अडिइरहोस् वा नवोदित माके–एमालेको सामाजिक दलाल पुँजीवादी समूह आओस्, त्यसले कुनै फरक पार्दैन । अझै जनसमुदायमा सामाजिक दलाल पुँजीहरूले केही समय भ्रम पार्ने खतरा पनि उत्तिकै छ किनकि उनीहरूले स्थायी सरकार, विकास र समृद्धिको झूटा नारा बाँडेका छन् । नेकपाको जनजागरण अभियानले देश र जनताका विरुद्ध अहोरात्र यस किसिमका षड्यन्त्र गरिरहेका शक्तिहरूका विरुद्ध जनतामा व्यापक चेतना जागृत गर्ने र यसले दलाल सत्तालाई शीघ्र पतन गराउनेमा कुनै शङ्का छैन ।

नेकपाले विद्यमान पुरातन सत्ताका लक्षण र अवस्थाहरूको संश्लेषण गर्दै भनेको छ, ‘सयौँ वर्षदेखि नेपाली जनताको खुन—पसिना चुसेर जुकाजस्ता ढाडिएका नयाँ र पुराना धनकुवेर र दलालहरूले पालोपालो दुष्ट, दलाल पुँजीवादी सत्ताको मुखमा प्राण भर्ने जमर्को गर्दैछन् । यी संसद्वादी दलालहरूले हालै देशमा शान्ति, स्थिरता र समृद्धि ल्याउने भन्दै कथित चुनाव गराएको नाटक गरे, तपाईंहरूलाई पनि भोट हाल्न उक्साए । तर हामीले यी दलालहरूको चालबाजी र नाटक बुझेका थियौँ । त्यसैले हाम्रो पार्टीले जनतालाई आह्वान गर्दै भन्यो– यो “लोकतन्त्र” को चुनाव होइन, लुटतन्त्रमाथि सहीछाप गराउने षड्यन्त्र हो । जनताको भोटद्वारा जनताको सत्तालाई समाप्त गर्ने र क्रान्तिको घाँटी निमोठ्ने घातक ठगी धन्दा हो । यस चुनावलाई खारेज गरौँ । हाम्रो आह्वान र सङ्घर्षलाई जनताले साथ दिने देखेपछि र पार्टीको नेतृत्वमा सङ्घर्ष तेज बन्दै गएपछि त्यसबाट अत्तालिएका दलालहरूले हाम्रो पार्टीविरुद्ध निर्मम दमन गरे ।’ वास्तवमै यो दलाल संसदीय व्यवस्थाले राष्ट्रघाती, जनघाती, भ्रष्ट, कालोबजारियाहरूको संरक्षण गर्छ र श्रमजीवी, उत्पीडित जनतामाथि अझै विभेद र दोहन गर्छ । भारतीय साम्राज्यवादबाट निरन्तर नेपाली भूमि अतिक्रमण भइरहँदा, नेपालको राष्ट्रियतामाथि आँच आइरहँदा, वेश्यालयहरूमा नेपाली चेली बलात्कृत भइरहँदा, जनतामाथि कालोबजारी, महँगी र अभाव बढिरहँदा स्वाद मानेर हेरिरहने र तस्करहरूलाई संरक्षण गरी जनतामाथि आहत थोपर्ने तत्वहरूको नाम काङ्ग्रेस, माके, एमाले वा अरू जोकोही भए पनि देशद्रोही हो, राष्ट्रघाती र जनघाती हो । भारतले आफ्ना नयाँ नोकरहरूलाई निर्देशन दिन विदेशमन्त्रीलाई मङ्गलबार नेपाल पठाइसकेको छ । पुराना र नयाँ नोकरहरूले नेपाली जनताको भारतीय साम्राज्यवादविरोधी भावनाको कदर गर्ने कुरा त परै जाओस्, विस्तारवादीनीतिको पनि विरोध गर्ने छैनन्, उल्टै सम्मान गरेर र दाम चढाएर पठाउनेछन् । त्यसैले यी सामाजिक दलाल पुँजीवादीहरूको सपनाको स्वर्ग ध्वस्त पार्दै वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु देशभक्त, जनवादी, क्रान्तिकारीहरूको कर्तव्य र दायित्व हो । एउटा प्रचलित भनाइ छ, टाढैबाट देखिने गरी डस्न आएको सर्पभन्दा बिस्तरामा घुसेको सर्प बढी खतरनाक हुन्छ । यसतर्फ सङ्केत गर्दै नेकपाले भनेको छ, ‘एउटा अर्को ह्याउ खसेको तत्वहरूबाट बनेको माके भन्ने पार्टी छ, आफ्ना वीरतापूर्ण एवम् गौरवपूर्ण इतिहास थेग्न नसकेर मालिकहरूको पाउमा “चारधाम” लगाउन पुगेको सबैभन्दा नालायक यही भएको छ । यिनै पार्टीहरूमध्ये अहिले एमाले—माकेले गठबन्धन बनाएर विकास निर्माणको मूल फुटाउने कुरा गरेका छन् । यो गठबन्धनले भनेअनुसार कतैबाट पनि मूल फुटाउने अवस्था देखिँदैन, बरु यसले जस्ता पात्र, प्रवृत्ति बोकेर हिँडेको छ त्यसबाट भन्न सकिन्छ– यसले देश सुकाउने, लुटाउने र जनता सताउने कुकर्म मात्र गर्नेछ ।’ देश र जनताका विरुद्ध यति गम्भीर षड्यन्त्रको तानाबाना बुनेर बसेका तत्वहरूको भण्डाफोर र सङ्घर्ष यतिबेला मुखर बनेको छ । सम्पादकीय
स्रोत : रातोे खबर साप्ताहिक, वर्ष ३ अंक ३३, पूर्णाङ्क १२८

२०७४ माघ २० गते बिहान ११ : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :