भन, कसरी भएँ म अयोग्य ? : बालकृष्ण ढुङ्गेल

तिमीले
गोडाफाट भन्यौ मैले गोडा फाटेँ
सतर्क भन्यौ म सतर्क बनेँ
अगाडि बढ भन्यौ, म अगाडि बढेँ
पछाडि हट भन्यौ म पछाडि हटेँ
सर्टिफिकेट फाल भन्यौ मैले फालेँ
दस्ताबेज पढ भन्यौ मैले पढेँ
इतिहास पढ भन्यौ मैले पढेँ
समाज पढ भन्यौ मैले पढेँ
अरू कति कुराहरू तिमीले नभन्दा पनि पढेँ ।
तिमीले बन्दुक बोक भन्यौ मैले बोकेँ
कैयौँ क्विन्टल भारी पनि बोकेँ
सहयोद्धाका अमर शरीर बोकेँ
घाइते शरीर बोकेँ
रक्तिम सन्देश बोकेँ
बोक्न त आजादहरूका प्यार पनि बोकेँ
जल्लादहरूका काला कर्तुत पनि बोकेँ ।
घर भनिएन
सम्पत्ति भनिएन
बा आमा भनिएन
प्रियसी भनिएन
पढाइ भनिएन
केवल भनियो त परिवर्तन
हिँडियो त मृत्युलाई हत्केलामा राखेर
भत्काइयो दुश्मनको जिल्ला
बनाइयो आफ्नै लाल किल्ला
जलाइयो बुर्जुवा किताबका पाना पाना
बनाइयो सामन्तीलाई निशाना ।
तिमीसँग आदेश दिन सक्ने क्षमता थियो
मसँग पनि त तिम्रो आदेश मान्ने क्षमता थियो ।
मैले आदेश पालना गरेकै हुँ
आफ्नो कर्तव्य निभाएकै हुँ
भोक भोकै लडेकै हुँ ।
त्यतिबेला
मेरो अपाङ्ग शरीर पनि तिम्रो लागि अमूल्य थियो
किनकि म भाँच्चिएको हात लिएर
बन्दुक चलाउन सक्थेँ
खुट्टामा गोलीका डल्ला बोकेर
अहोरात्र लड्न सक्थेँ ।
तिमीले बन्दुक रोक भन्ने बेलासम्म पनि
म तिम्रो लागि प्रिय नै थिएँ
किनकि म तिम्रा लागि सुरक्षा दिन सक्थेँ
तिमीलाई हर–क्षण पहरा दिन सक्थेँ ।
तर जब तिमी
हामी बस्ने परालको गुन्द्री छाडेर
राता कार्पेटमा बस्न थाल्यौ
अनि बिस्तारै मेरो मूल्य तोकिन थाल्यो ।
जब मूल्य तोकियो
मजस्तै हजारौँलाई हाटबजारमा राखियो
तिमीले पठाएका
कैयौँ ग्राहकहरू आए
अङ्ग अङ्ग जाँचे ।
खुट्टामा गोली बोकेको म
भाँच्चिएको हात भएको म
अयोग्य बनेँ ।
कमरेड !
कुनै बेला त्यही भाँच्चिएको मेरो
हात तिम्रा लागि प्यारो थियो होइन ?
गोली लागेको मेरो खुट्टा
तिम्रा लागि तन्दुरुस्त थियो होइन ?
म अमूल्य थिएँ होइन ?
म योग्य नै थिएँ होइन ?
तर म आज कसरी अयोग्य भएँ ?
तिमीले भनेको मोर्चा सम्हालेकै हुँ
दुश्मनको किल्ला तोडेकै हुँ
तिमीलाई गुन्द्रीबाट रातो कार्पेटसम्म पु¥याएकै हुँ
के त्यहाँ पु¥याउनु मेरो गल्ती थियो ?
मेरो अयोग्यताको कारण तिमी त्यहाँ पुगेका हौ ?
तिमीले त मेरो योगदानको मापन हुन्छ भन्थ्यौ
तर मेरो चोटग्रस्त शरीर नापियो
मेरो शरीरको उचाइ नापियो
मेरो शरीरको तौल नापियो
तर
खै त तिम्रो उचाइ नापिएको ?
खै त तिम्रो तौल नापिएको ?
खै त तिम्रो योग्यता नापिएको ?

केही पनि मापन गर्नै नपर्ने तिमी योग्य
तिमीलाई योग्य बनाउन
शरीरमा गोली बोक्ने म अयोग्य ?
भन, कसरी भएँ म अयोग्य ?!
स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३ अंक ३१, पूर्णाङ्क १२६

२०७४ माघ ७ गते बिहान १० : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :