प्रस्ताव अप्रिल थेसिसकै स्तरमा छ : प्रकाण्ड, प्रवक्ता, नेकपा

यो प्रस्तावलाई महान् लेनिनको अप्रिल थेसिसजस्तो लागेको छ । वैज्ञानिक आँकलन र भविष्यको बाटो देखाएको छ । संसदीय दलहरूले चुनावमा जाने बेलामा चुनावले शान्ति, समृद्धि र स्थायित्व ल्याउने नारा दिएका थिए । स्वाधीनता र समाजवाद ल्याउने दावी गरिएको थियो । प्रचण्डले १० वटा सरकारसम्म वामपन्थीले सरकार चलाउने दाबीसमेत गरेका थिए । यसले जनमामा समेत भ्रम परेको थियो । हाम्रो चुनाव खारेज अभियान सशक्त भएपछि चुनावले पराधीनता र निरंकुशता ल्याउन चुनाव भइरहेको भन्ने जनमत बढ्दै गयो । नेकपासँग जनताको शक्ति छ । विचार र राजनीति छ । यो वैकल्पिक राजनीतिक शक्ति हो भन्ने कुरा स्थापित हुँदै गयो । स्थानीय चुनावभन्दा प्रदेश र केन्द्रीय सभाको चुनाव खारेज अभियानमा जनसहभागिता र सहयोग बढ्यो । जनमत बढेको छ । देशभक्त र क्रान्तिकारी कम्युनिस्टहरू खुसी भएका छन् । वास्तविक लोकतन्त्रवादीहरू पनि खुसी भएका छन् । प्रतिक्रियावादीहरूले घटनाक्रमहरूलाई गम्भीरतापूर्वक हेरेका छन् । महान् अवसर पनि हाम्रो अगाडि छ । प्रस्तावले त्यसलाई खतरा र चुनौती भनेर सटिक ढंगले उल्लेख गरेको छ । यसबेला दलालसत्ताको अन्तर्विरोध झन् बढेको छ । संसदीय व्यवस्थाको परम्परागत प्रभावकारी शक्ति कांग्रेस पराजित भएको छ । निर्वाचनपछि राजनीतिक अस्थिरता समाप्त हुन्छ भनेका थिए, तर अझ झन् बढेको छ । निराशा, अन्यौलता र राजनीतिक संकट झनै बढेको छ । हामीले प्रतिक्रियावादी संकटलाई क्रान्तिकारी संकटमा अथवा क्रान्तिमा बदल्नुपर्छ । कांग्रेसले भन्दा एमाले गठबन्धनले जनतामा बढी भ्रम दिन सक्छ । यसले समाजवाद, समृद्धि र विकास नारा दिएको छ । प्रचण्डले त्यसो गर्न सकिएन भने संघीय लोकतन्त्र धरापमा पर्छ भनेका छन् । संघीय लोकतन्त्र खतरामा पर्छ भनेको के हो ? त्यो भनेको क्रान्ति अगाडि आउँछ भनेको हो । एमाले गठबन्धन दलालको भेषमा नभएर समाजवादको भेषमा आएको छ । प्रचण्डको समाजवाद नेहरू र वीपीको कोइरालाको समाजवाद हो । हाम्रो वैज्ञानिक समाजवाद हो । नेपालमा दलालहरूको कथित समाजवादको नारालाई हामीले सामाजिक दलाल पुँजीवाद भनेका छौँ । दलाल पुँजीवाद समाजवादको रूपमा आएको छ । आत्मसर्पण गर्दा पनि साम्राज्यवादले एमाले–माकेलाई सरकार बनाउन दिएको छैन । कांग्रेसले सभामुख कांग्रेस र उपसभामुख मधेसवादी दललाई दिएर ५ वर्ष सरकार चलाउन, राष्ट्रपतिसमेत लैजान प्रचण्डलाई प्रस्ताव गरेको छ । यो प्रस्ताव कांग्रेसको भन्दा भारत र अमेरिकाको हो । संक्षिप्तमा भन्दा प्रस्तावले वस्तुसंगत, समीक्षा, वैज्ञानिक विश्लेषण र भविष्यको पाटो प्रष्ट पारेको छ ।
(नेकपाको छैठौँ पूर्ण बैठकमा व्यक्त विचारको सम्पादित अंश । शीर्षक हामीले दिएका हौँ– सम्पादक ।)
स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३, अड्ढ ३१, पूर्णाङ्क १२६

२०७४ माघ ३ गते अपरान्ह ४ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :