महासंघका अध्यक्ष आचार्यसहित ४ जना गिरफ्तार

काठमाडौं : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्टसहित चार जना पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको छ । शुक्रबार कतारको दोहास्थित ग्राण्ड प्यालेस होटलमा पत्रकार महासंघको कतार शाखाले गरेको कार्यक्रममा सहभागी भएका बेला उनीहरुलाई कतारका सुरक्षाकर्मीले गिरफ्तार गरेको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई स्थानीय समयअनुसार शुक्रबार दिउँसो २ बजे प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो । प्रहरीले पत्रकारको साथमा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोखरेललाई पनि पक्राउ गरेको छ । पत्रकारहरुका लागि होटल तथा भिसाका लागि उनले सहयोग गरेका थिए । कतारस्थित नेपाली दूतावासको पहलमा पक्राउ परेका पत्रकारहरुलाई छुटाउने कोसिस भइरहेको कतारमा कार्यरत एक पत्रकारले जानकारी दिए । अध्यक्ष आचार्य नेतृत्वको टोली गत सोमबार कार्यक्रममा भाग लिन काठमाडौँबाट कतार पुगेको थियो ।

२०७४ पुस २९ गते बिहान १० : ०९ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :