संसदीय व्यवस्थाको कहर जनतामाथि झन् झन् बढ्दै

काठमाडौं : नेपाली कांग्रेसको नेतृत्वको परम्परागत दबाब संसदीय प्रवृत्ति र एमाले–माके गठबन्धनको सामाजिक दलाल प्रवृत्तिले देश तथा नागरिकलाई चरम दोहन गरिरहेको छ । उग्र–राष्ट्रवादको रूपमा विघटित राजतन्त्र तथा राजावादी हिन्दु धर्मवादी दलाल प्रवृत्ति जयजयकार थाप्दै गौंडो ढुकेर बसेको छ ।

नेपालमा तीनथरी शक्तिहरू छन् । जुन शक्तिको सरकार बने पनि घुमिफिरी दलाल शक्ति नै राजकीय शक्तिको बागडोर सम्हाल्न आइपुग्ने स्थिति देखिन्छ । देशमा दलाल शक्ति निजी स्वार्थको टक्करमा देश र नागरिक पिल्सिनुपरिरहेको छ । जनताको व्यवस्था नआउञ्जेल दलालको चक्रबाट पिल्सिनुको विकल्प पनि देखिन्न । जनयुद्ध र शान्तिप्रक्रियाको एउटा पक्षलाई थुनेर, लखेटेर गरिएको चुनावलाई निकास नदिने धेरैको अनुमान थियो । निर्वाचन सकिएको १ महिना बितिसक्दा पनि नयाँ सरकार गठन राहत वितरण विकास सबै कुरा लथालिङ्ग छन् । तराईको शीतलहरभन्दा पनि राजनीतिक वातावरण चिसिंदै र निराशाजनक हुँदै गएको छ । पाँचवर्षको लागि देश र नागरिक दोहन गर्ने मतादेश पाएका दलहरूलाई चुनावी बाटाले छोएको छैन । चुनाव हारेका दलहरू कुर्सी लम्ब्याउने र सामाजिक दलहरू रापताप मत्थर पार्ने खेलमा छन् । यसमा उनीहरू एक हदसम्म सफल पनि भएका छन् । दलाल संसदीय सत्ताको चरित्रको कारण अस्थिरता र अराजकता नरोकिने निश्चित छ । देश त्यही दिशामा गइरहेको छ । एमाले गठबन्धनले स्थिरता, समृद्धि र समाजवादको नारा दिएर चुनाव जितेका थिए । तर दलाल व्यवस्थाले त्यो दिन सक्दैन ।

जनताले चुनावको वाचा पूरा गर्न दबाब दिनेछन् । तसर्थ, चुनावी वाचाले नै एमाले गठबन्धनको लागि कात्रो बनेर आउने स्थिति छ । जनतामा निराशा छ । देश संकटतर्फ गइरहेको अवस्था छ । यतातिर चुनावको राप सेलाउँदै गएको छ । अन्यौलता बढिरहेको कांग्रेस गठबन्धन भने प्रचण्डलाई नेतृत्व गर्न सार्वजनिक आह्वान गरिसकेका छन् । प्रचण्डले अझै त्यो विषयमा सोचेको छैन भनेर त्यो विकल्पको ढोका खुलै राखेका छन् । यसप्रकारको अस्थिरताले राजनीतिक अन्यौलता बढ्दै गएको छ । समाजवादी क्रान्तिबाहेक नौरंगी दलाल प्रतिनिधि र व्यवस्थाबाट समस्याको समाधान देखिन्न । यसले समाजवादी क्रान्तिको अपरिहार्यतालाई अझ टड्कारो बनाएको छ । स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३, अंक ३०, पूर्णाङ्क १२५

२०७४ पुस २८ गते बिहान ११ : ३७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :