डा. केसीको गम्भीर आरोप

काठमाडौं : सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीसँग बयान लिएको छ । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. केसीले सर्वोच्च अदालतमा बयान दिएका हुन् । डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीका न्यायिक कार्यहरूको फेहरिस्त उल्लेख गर्दै बयान दिएका छन् । डा. केसीले प्रधानन्यायाधीश पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको भन्दै उनीमाथि न्यायिक छानबिन गरी कारबाही हुनुपर्ने, अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सफाइ दिएको प्रकरणमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेलगायत उल्लेख गरेका छन् । ११ बुँदामा समेटिएको लिखित बयानमा डा. केसीले पराजुलीले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएको भन्दै उनीबाटै अदालतको अवहेलना भएकाले पराजुलीमाथि अदालतको अवहेलनामा कारबाही गर्न मागसमेत गरेका छन् । अवहेलना मुद्दामा पक्राउ गरी अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि केसीलाई अदालतमा (मङ्गलबार) उपस्थित गराइएको हो । अदालतमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र भण्डारी र लेखनाथ न्यौपानेलगायत कानुन व्यवसायीले बहस गरेका थिए । प्रा. डा. केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीनमा प्रा. डा. शशी शर्मालाई पुनःबहाली गराउने अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनसन सुरु गरेका थिए । उहाँलाई सोमबार साँझ अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरी रातारात हिरासतमा राखेकोमा विभिन्न क्षेत्रबाट व्यापक विरोध पनि भएको छ । केही राजनीतिक विश्लेषकहरूले सिङ्गो राज्यसत्ताको चरित्रबारे बहस हुनुपर्ने समयमा, बालकृष्ण ढुङ्गेलको फैसलामा सही भन्दै ताली पिट्नेहरू डा. केसीको पक्षमा उफ्रनु पाखण्डसिवाय केही पनि भनिरहेका छ् । स्रोत रातो खबर साप्ताहिक, वर्ष ३, अंक ३०, पूर्णाङ्क १२५

२०७४ पुस २६ गते बिहान ९ : ४१ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :