सीजीका मजदुर र मालिक मिले !

काठमाडाैं: बर्दिया जिल्लाको उदीयमान नगर बाँसगढीस्थित सिजी फुड इन्टरप्राइजेज प्रालिमा कार्यरत मजदुर र कारखाना व्यवस्थापन पक्षका बीचमा लामो समयदेखिको तनाव, द्वन्द्व र हडताल आपसी सहमतिमा ‘वीनवीन नीति’ मा टुङ्गिएको छ । पुस १५ को लिखित सम्झौतापछि हड्ताली मजदुरहरू काममा फर्किएका छन् ।

नेकपा निकट अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघले असोज ६ गते विनोद चौधरीको बाँसगढीस्थित सो उद्योगको व्यवस्थापनलाई २४ सूत्रीय माग प्रस्तुत गरेका थिए । मजदुर नेता रमेश विश्वकर्माद्वारा हस्ताक्षरित मागपत्रअनुसार मजदुरको मासिक न्यूनतम पारिश्रमिक १८ हजार हुनुपर्ने, मजदुरलाई नियुक्तिपत्र दिनुपर्ने, एक महिना कार्यविधि पूरा गरेकालाई स्थायी गर्नुपर्ने, सरकारद्वारा व्यवस्था गरिएका सबै बिदा र सुविधा मजदुरले पनि पाउनुपर्ने, सञ्चय कोषको व्यवस्था हुनुपर्ने, दुर्घटना बिमा १० लाख हुनुपर्ने, दैनिक ८ घण्टाभन्दा बढी श्रम गर्न बाध्य नपार्नुपर्ने, अतिरिक्त श्रम स्वेच्छिक हुनुपर्ने र पारिश्रमिक दोब्बर हुनुपर्ने, मई दिवसमा दिने गरिएको सरकारी बिदा लागू गर्नुपर्नेलगायत थिए । असोज १३ गतेसम्म माग सम्बोधन नभए आत्मरक्षाका लागि हड्तालमा उत्रन बाध्य हुने चेतावनी दिइएको थियो ।

त्यसपछि झण्डै ३ महिना मजदुरहरू सङ्घर्षमा रहे भने उद्योग व्यवस्थापनले आन्दोलनमा फुट पैदा गर्ने र मजदुर नेताहरूलाई प्रलोभनमा पार्ने, धम्की दिने गर्न थाल्यो तर मजदुर आन्दोलनले झन् सङ्गठित र संयुक्त स्वरूप ग्रहण गरेपछि पुस ५ गते व्यवस्थापन पक्षले हड्ताली मजदुर सङ्गठनसँग वार्ताको औपचारिक आह्वान गर्‍यो । पुस १२ गते मजदुरले पत्रकार सम्मेलन गरी संयुक्त आन्दोलनको चेतावनी दिएका थिए । त्यसै दिनदेखि मजदुरहरू आम हड्तालमा उत्रिएका थिए ।

उद्योग पूर्णतः बन्द भएको ४ दिनपछि पुस १५ गते मजदुर सङ्गठनका प्रतिनिधिहरू कृष्णप्रसाद ज्ञवाली, विजय खत्री, सुनिद सेन, पुष्पा पौडेल, रमेश विक र लिलाधर सोनी, व्यवस्थापनको तर्पबाट रामकाजी सिटौला, कुमारसिंह बस्नेत र तुलसीराम रेग्मी सहभागी थिए । बाँसगढीस्थित उद्योगको सेमीनार कक्षमा सम्पन्न सो वार्तामा अनेक्रा औद्योगिक मजदुर संघका भेरी संयोजक भीम अधिकारीसहित मजदुर नेताहरू वार्तामा सहभागी थिए । सो वार्तामा चौधरी समूहको नवलपुर, दुम्कौलीस्थित चौधरी ग्रुपको उद्योगबाट समेत प्रतिनिधिहरू उपस्थित थिए । मजदुरको पक्षमा निगरानी गरिरहेको नेकपा बर्दियाको जिल्ला इञ्चार्ज देवकला अधिकारीले मजदुरलाई धोका दिने, माग पूरा नगर्ने, गरे पार्टीले हस्तक्षेप गर्न बाध्य हुने बताएकी छन् । त्रिपक्षीय वार्ताले १६ गतेदेखि कारखाना सुचारु गर्ने र माघ १ गतेभित्र मजदुरका माग पूरा गर्नेलगायत सहमति भएको छ । स्रोतः रातो खबर साप्ताहिक, अङ्क २९, पूर्णाङ्क १२४ 

२०७४ पुस १९ गते अपरान्ह ५ः०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :