सेनाद्वारा नागरिक बेपत्ता

काठमाडौं : कुनै समय तत्कालीन शाही सेनामा काम गरेका र जनयुद्धको समयमा हतियारसहित जनमुक्ति सेनामा समावेश भएका झलकुमार भगतलाई १२ वर्षपछि नेपाली सेनाले नियन्त्रणमा लिई बेपत्ता पारेको छ । २०६२ साउन ४ गते भगतले शाही सेनाबाट विद्रोह गरेका थिए । एकातिर प्रचण्ड र अर्कोतिर ज्ञानेन्द्रले दुईथरी सेनालाई निर्देशन गरिरहेको तत्कलीन अवस्थामा भगतले प्रचण्डको अपिलअनुसार राजतन्त्र फाल्न शाही सेनाबाट विद्रोह गरेको २०६२ साउन १५ गते भोजपुरको घोडेटार बजारमा नेकपा (माओवादी) द्वारा उनको स्वागतार्थ आयोजित सभामा बताएका थिए । झलकुमार भगतलाई विद्रोह गर्न अपिल गर्ने प्रचण्ड प्रधानमन्त्री तथा नेता, तत्कालीन जनसेनाका कमाण्डर पाशाङ उपराष्ट्रपति भएको देशमा नेपाली सेनाले भगतलाई बेपत्ता पारेको छ ।

भगतलाई मंसिर ८ गते राती २ बजे मोरङ, सिद्राहास्थित नजकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । ११ दिनसम्म प्रहरीले हिरासतमा राखेर १९ गते नेपाली सेनालाई बुझाएको थियो । नेपाली सेनाद्वारा सोही दिन हेलीकोप्टरमा काठमाडौं लग्ने भन्दै बेपत्ता पारेको छ । नेपाली सेनाले भगतको विषयमा झूठो प्रचारबाजी पनि गरिरहेको भगतका आफन्तको आरोप छ । सो गैरकानुनी र शान्ति प्रक्रिया भाँड्ने हर्कतको विरुद्ध पुस १६ गते झलकुमार भगतका दाजु नन्दुलालले सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका छन् । पुस १६ मै सर्वोच्च अदालतका माननीय न्यायाधीस श्री दीपकराज कार्कीको एकल इजलासले विपक्षीको नाममा पक्राउ गर्नुको कारण बन्दीसहित उपस्थित हुन आदेश भएको छ ।

भगतको पक्षमा वरिष्ठ अधिवक्त श्री एकराज भण्डारी, नेपाल सरकारका पूर्वन्यायाधीवक्ता तथा अधिवक्ता हरि फुयाँल, नेपाल सरकारका पूर्व न्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र अधिवक्ता कपिलचन्द्र पोखरेलले बहस गर्नुभएको थियो । बेपत्ता पारिएका भगत नेकपा निकट युवा संगठनका पूर्णकालीन राजनीतिक कार्यकर्ता हुन् ।
स्रोत :  रातो खबर साप्ताहिक, पूर्णाङ्क १२४, पुस १९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :