माओ दिवसमा ध्रुवीकरण पहल

काठमाडौं : पुस ११ गते तदनुरूप २६ डिसेम्बरका दिन मङ्गलबार संसारभरिका श्रमिक, उत्पीडित जनसमुदाय, देशभक्त र क्रान्तिकारी जनसमुदायले माओ त्सेतुङको सम्झनामा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेका छन् । नेकपा निकट जनवर्गीय सङ्गठन, मोर्चा सङ्गठन र रातो खबर प्रकाशनगृहले संयुक्त रूपमा काठमाडौँमा अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेका छन् ।

विश्व कम्युनिस्ट आन्दोलनमा अध्यक्ष माओका योगदानहरूलाई ‘माओवाद’ का रूपमा संश्लेषण गरिएको छ । औद्योगिक र पुँजीवादी देशमा समाजवादी क्रान्तिको कार्यदिशा प्रतिपादन र सफल कार्यान्वयन, साम्राज्यवादको व्याख्या महान् लेनिनले गर्नुभयो । अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा ‘किसानमा भर परेर क्रान्ति गर्नुपर्ने र त्यसको स्वरूप तिनै देशका क्रान्तिकारीले ठोस गर्नुपर्ने’ लेनिनको धारणा थियो । लेनिनको त्यो अभिभारालाई अध्यक्ष माओले पूरा गर्नुभयो । लेनिनले एउटा मात्रै देशमा पनि समाजवादी क्रान्ति सम्भव हुने तर क्रान्ति निरन्तर जारी राख्नुपर्ने विचार राख्नुभएको थियो ।

माओकै समयमा सोभियत सङ्घमा प्रतिक्रान्ति भयो भने चीनमा तेङमण्डली प्रतिक्रान्तिको झन्डा उठाउन थाल्यो । रुस र आफ्नै पार्टीको दक्षिणपन्थी हावाका विरुद्ध माओले सन् १९६६ मा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गर्नुभयो । त्यसले चीनलाई एउटा शक्तिशाली देश बनायो । सर्वहारा वर्गलाई बलियो हतियार दियो । माओका योगदानहरूलाई आफ्नो देशमा सिर्जनात्मक रूपमा लागू गर्नु, संशोधनवादको मुख्यालयमा बम बर्साउनु, क्रान्तिकारी धु्रवीकरण गर्नु आजका क्रान्तिकारीहरूको दायित्व हो । यही मर्मलाई आत्मबोध गर्दै नेकपाका महासचिव विप्लव र नेकपा (क्रा.मा.) का महासचिव किरणले संयुक्त विज्ञप्ति जारी गर्दै क्रान्तिकारी धु्रवीकरणका लागि वार्ता र छलफल अघि बढाउने घोषणा गरेका छन् । संयुक्त विज्ञप्तिमा भनिएको छ–

समसामयिक नेपाली राजनीतिक सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच हालै एक उच्चस्तरीय बैठक सम्पन्न भएको छ । उक्त बैठक निम्न निष्कर्षमा पुगेको छ :

१) कथित प्रतिनिधिसभा र प्रदेशसभाको चुनावसम्म आइपुग्दा दलाल पुँजीवादी र संशोधनवादी पार्टीहरूबीचका गठबन्धन र एकता नयाँ स्तरमा व्यक्त भएका छन् । त्यसमा माओवादी केन्द्र एमालेमा पतन भएको छ भने नेपाली काङ्ग्रेसले दलाल पुँजीवादी तथा पश्चगामी पार्टीहरूलाई गोलबन्द गर्ने पहल गरेको छ । यस सन्दर्भमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरूबीचको वैचारिक, राजनीतिक एवम् सङ्गठनात्मक एकीकरण तथा धु्र्रवीकरण पनि अनिवार्य आवश्यक बन्न पुगेको निष्कर्षसहित त्यस क्षेत्रमा पहल गर्ने निर्णय गरियो ।

२) आज साम्राज्यवादी विदेशी तत्वहरू पुराना र नव दलालहरूमार्फत हाम्रो देशका प्राकृतिक स्रोतसाधनहरू लुट्न लागिपरेका छन् । मुख्यतः भारतीय शासकवर्गले एकातिर सन् १९५० को असमान सन्धि हुँदै देउवा सरकारसँगको ४६ बुँदे सहमतिसम्म पुग्दा कोसी, गण्डकी, महाकाली, कर्णाली, अरुणजस्ता ठूला नदीहरूमा हस्तक्षेप गर्न पुगेको छ भने अर्काेतिर सीमा अतिक्रमणलगायत आर्थिक, राजनीतिक तथा सांस्कृतिक हस्तक्षेप पनि गरिरहेको छ । राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार तथा पेसागत हकअधिकारका समस्यालाई लिएर सयुक्त सङ्घर्ष सञ्चालन गर्नुका साथै जनयुद्ध, सहिद सप्ताह, जनआन्दोलनलगायत दिवसहरू संयुक्त रूपले मनाउने निर्णय गरिएको छ ।

३) विश्व राजनीतिमा पछिल्लो समय अमेरिकालगायत मुलुकहरूले उत्तरकोरियामा गरिरहेको अमानवीय नाकावन्दी, प्यालेस्टाइनको भूभागभित्र पर्ने जेरुसेलमलाई इजरायलको राजधानी घोषणा गर्ने अतिक्रमणकारी कदम र विश्वव्यापी रूपमा साम्राज्यवादीहरूले गरिरहेका अतिक्रमण र हस्तक्षेपको घोर निन्दा गर्दै तिनको विरोध र उत्पीडित राष्ट्रहरूको स्वाधीनता तथा मुक्तिका पक्षमा सङ्घर्ष गर्ने निर्णय गरिएको छ ।

उक्त विषयमा आवश्यक सहयोग तथा समर्थन गर्नका लागि सम्पूर्ण जनसमुदाय एवम् श्रमिक वर्गलाई विशेष आह्वान गरिन्छ ।
स्रोत : रातो खबर साप्ताहिक, पूर्णाङ्क १२३, पुस १३ गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :