प्रतिक्रियावादी स्थानीय चुनाव ध्वस्त पार्दै जनसत्ता निमार्ण गछौँ : देवनारायण शाह

Dev-Narayan-Sah-e1489992214924
देवनारायण शाह केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी

मधेसी समुदायबाट उठेका क्रान्तिकारी नेता हुनुहुन्छ । २०२६ सालमा धनुषा जिल्लाका मिथिला नगरपालिका वडा नं ५ मा जन्मिनुभएका शाहको राजनीतिक जीवन तीन दशकभन्दा लामो छ । २०४२ सालमा नेपाल प्रगतिशील विद्यार्थी युनियनको सदस्यता लिएर राजनीति आरम्भ गर्नुभएका शाहलाई सिन्धुलीका कम्युनिस्ट नेता बोधराज काफ्लेले नेकपा (माक्र्सवादी) को पार्टी सदस्यता दिनुभएको थियो । उहाँ २०४८ सालमा नेप्रवियुको जिल्ला सदस्य बन्नुभयो । २०४९ सालमा नेकपा (माक्र्सवादी) बर्दियाका जिल्ला सेक्रेटरी हुनुभएका शाह २०५० सालमा विद्यार्थी सङ्गठनको केन्द्रीय सदस्य र २०५१ सालदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता भएर आन्दोलनमा होमिनुभयो । उहाँ २०५१ सालमा सिराहाको सेक्रेटरी हुनुभयो । २०६३ सालमा नेकपा (माक्र्सवादी) बाट विद्रोह गरी नेकपा (माओवादी) मा ध्रुवीकरण हुँदाउहाँ पार्टीको धनुषाका सेक्रेटरीका साथै केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो । हालै रोल्पाको थबाङमा सम्पन्न नेकपा (माओवादी) को आठौँ ऐतिहासिक महाधिवेशनले उहाँलाई नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा चयन गरेको छ । प्रस्तुत छ उहाँसँग समसामयिक विषयमा रातो खबरले गरेको अन्तर्वार्ता ः
 तपाईं नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । कस्तो अनुभूति गरिरहनुभएको ?
नेपालमा सिङ्गो कम्युनिस्ट आन्दोलन र १० बर्से जनयुद्धको नेतृत्व गर्ने माओवादी जनयुद्धले भयङ्कर क्षति बेहोरेर रक्षात्मक भइरहेको अवस्थामा हामी छौँ । हामीले विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनको वस्तुनिष्ठ समीक्षा गर्दै वर्तमानमा देखापरेको विसर्जनवाद, आत्मसमर्पणवाद र नवसंशोधनवादका विरुद्ध लड्दै पार्टीको आठौँ महाधिवेशन सम्पन्न गरेका छौँ । रोल्पा जिल्लाको थबाङमा भएको महाधिवेशनले मलाई केन्द्रीय समिति सदस्यजस्तो गौरवशाली पदमा निर्वाचित गरेको छ । यस बेला म एकातिर गौरवान्वित भएको छु भने अर्कोतिर दायित्वबोध र कर्तव्यबोधको गह्रौँ भारीले थिचिएको महसुस गरिरहेको छु ।
 भर्खरै महाधिवेशन सम्पन्न गरेर फर्कनुभएको छ । महाधिवेशन केकस्तो भयो, बताइदिनुस् न !
आठौँ महाधिवेशनको उद्घाटन सत्र फागुन १ गते काठमाडौँस्थित सहिद मञ्चमा सम्पन्न भयो । उद्घाटनमा ४० हजारभन्दा बढी जनता र कार्यकर्ता सहभागी थिए । त्यसपछि २ गतेदेखि रोल्पा जिल्लाको थबाङतिर लाग्यौँ । विकट थबाङ गाउँमा एक हजार प्रतिनिधि र पर्यवेक्षकका बीचमा शानदार रूपमा महाधिवेशन सम्पन्न भएको छ । हामीले आफ्नै पार्टीको आर्थिक लगानी र जनश्रमदानमा बनाइएको सहिद स्मृति भवनमा अधिवेशन सम्पन्न गरेका छौँ । हामीले वैचारिक, राजनीतिक, साङ्गठानिक र एकीकृत जनक्रान्तिको कार्यदिशा पारित गर्नुका साथै नेतृत्व निर्वाचन गर्दै महाधिवेशन सम्पन्न गरेका छौँ ।
 रोल्पा जिल्लाको उत्तरी दुर्गम स्थानमा बन्दसत्रको स्थल छनोट गर्नुभयो । त्यसो गर्नुको कारण के हो ?
थबाङमा निश्चित योजना र उद्देश्यसहित स्थल छनोट गरिएको छ । त्यसका खास कारणहरू छन् । पहिलो ः थबाङ वर्गसङ्घर्ष र कम्युनिस्ट आन्दोलनको आधार क्षेत्र हो । दोस्रो ः थबाङ क्रान्तिकारी आन्दोलन र जनयुद्धको उद्गमस्थल हो । तेस्रो ः थबाङ जालीफटाहा र प्रतिक्रियावादी राज्यव्यवस्थाको विरुद्धमा सधैँ उभिँदै आएको कम्युनिस्टहरूको आस्थाको धरोहर हो । त्यसकारण विचार र भावनाको एकीकरण गर्नका लागि थबाङमा बन्दसत्रको तयारी गरेका हौँ । हाम्रो कार्यदिशाले गाउँ र सहर जोड्नुपर्ने र दुवैतिर उत्तिकै ध्यान र जोड दिनुपर्ने ठहर गरेको छ । त्यसकारण कार्यदिशाको सारतत्वलाई लागू गर्नका लागि सो स्थल छनोट गरिएको हो । यसबेला कम्युनिस्ट भन्नेहरूले जनता र गरिबलाई बिर्सेका छन् । धोका दिएका छन् । यसबेला भावना र विचारको एकत्वका लागि पनि थबाङमा बन्दसत्र स्थल छनोट गरिएको हो । तसर्थ यो संयोग र आवेगमा आएर गरिएको निर्णय होइन । यसको दूरगामी प्रभाव पर्ने निश्चित छ । जनताकै बीचमा बसेर जनताकै पक्षमा हामीले निर्णय गरेका छौँ ।
 यतिबेला तराई÷मधेस जलिरहेको छ । तपाईं तराई÷मधेसवासी जनता र कम्युनिस्ट नेता हुनुको हैसियतले यस घटनालाई कस्तो विश्लेषण गरिरहनुभएको छ ?
भारतीय साम्राज्यवादद्वारा पालिएका काठामाडौँका शोषक, सामन्त, दलाल र दिल्लीद्वारा नै पालिएका मधेसका सामन्त, दलाल र शोषक वर्गको दोहोरो चेपुवामा मधेसका जनता थिचिएका र ठगिएका छन् । मधेसवादी दलहरूले भनेजसरी संविधान संशोधन भए पनि यहाँका दलाल र सामन्तहरूको स्वार्थ मात्रै पूरा हुन्छ । दिल्लीको वार्थ पूरा हुन्छ । मधेसका गरिब र श्रमीक जनताले केही पनि पाउनेछैन । यिनीहरूबीचको झगडा कसले जनता लुट्ने भन्ने प्रतिस्पर्धाबाहेक अरू केही होइन । जहाँसम्म तराईको पछिल्लो घटना हो राजविराजमा मधेसवादी र एमाले पार्टीको लुटाहा प्रतिस्पर्धा तथा सरकारको नालायकीपन जिम्मेवार छ । उता कञ्चनपुरमा भारतले नेपाली नागरिकको हत्या गरेको छ । तराई÷मधेसको मसिहा ठान्नेहरू एक शब्द नबोली दिल्लीको चाकरी र राष्ट्रघात गरेका छन् । प्रचण्ड सरकार रुन्चे स्वरमा जनता ठग्दैछ । केन्द्रमा रहेको दलाल सरकार, मधेसकेन्द्रित दलहरू र तिनका नेताहरूको जातीय–क्षेत्रीय उत्पीडन र अहंकारका कारण मधेसका निर्दोष जनताको ज्यान गएको छ । हामी गम्भीर छौँ र क्रान्तिद्वारा समस्या समाधान गर्नुपर्छ भन्ने ठान्छौँ । हत्याकण्डको छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई राहत तथा सम्मान उपलब्ध गराउन माग गर्दछु ।
 तराई मधेसका समस्या के हुन् ? तिनको समाधान कसरी हुन सक्ला ?
तराई मधेसमा केन्द्रीय सत्तामा नियन्त्रण गरेर उच्च पहाडिया खस अहंकारवाद र मधेसको झूट्टो गीत गाउने स्थानीय जमिनदारहरूको शोषण हो । त्यसप्रकारको शोषण र उत्पीडनमा यहाँका जनता प्रताडित छन् । ती दूवै शोषणबाट मुक्ति नै मधेसको मुक्ति हो । अन्यथा तावाबाट निस्केर घौरा (भुङ्ग्रो) मा भनेझैँ हुनेछ । त्यसप्रकारको शोषण र उत्पीडनबाट एकीकृत जनक्रान्तिले मात्रै मुक्ति दिन सक्छ । एकीकृत जनक्रान्तिको कार्यदिशाले मात्र स्थानीय जमिनदारको शोषण, दमन र काठमाडौँको दलाल सत्ताबाट मुक्ति सम्भव छ ।
 मधेसकेन्द्रित दलहरूले भनेजसरी नै संविधान संशोधन भयो भने मधेसको समस्या समाधान होला त ?
मधेसको समस्या सीमा हेरफेरको समस्या नै होइन । आर्थिक, सांस्कृतिक र राजनीतिक शोषण हो । उनीहरूलाई गाँस, बास, कपास चाहिएको छ । शिक्षा, स्वास्थ्य, रोजगार चाहिएको छ । उत्पादनका साधनहरू श्रमिकको हातमा चाहिएको छ । मधेसवादी दलका नेताहरूले त तराईलाई तिमीहरूले होइन, हामीले लुट्न पाउनुपर्छ भनेका छन् । त्यो समाधान होइन ।
 हालै भारतले कञ्चनपुरमा नेपाली नागरिकको हत्या गरेको छ । त्यसका विरुद्ध नेपाल बन्दलगायत दबाबमूलक जागरणमूलक सङ्घर्षका कार्यक्रम पनि गर्नुभयो । थप सङ्घर्षका कार्यक्रम पनि छन् कि ?
भारतीय साम्राज्यवादले नेपालको भूमिमा प्रवेश गरेर नेपाली नागरिकको हत्या गरेको छ । त्यस घटनाले हाम्रो सार्वभौमिक अखण्डता र स्वाधीनतामाथि ना¨ो हस्तक्षेप र आक्रमण गरेको छ । उसले आफ्नो साम्राज्यवादी चरित्र देखाएको छ । त्यसप्रकारको अतिक्रमण र उत्पीडन नेपाली जनताका निम्ति स्वीकार्य छैन । भारत सयौँ वर्ष अङ्ग्रेजको दास हुँदा पनि नेपाल स्वतन्त्र रहिआएको देश हो । भारत नामको देश अस्तित्वमा आउनुभन्दा झन्डै एक सय वर्षअघिदेखि अस्तित्वमा रहेको प्राचीन देश हो नेपाल । नेपालमाथि उत्पीडन गर्नु भारतकै लागि आत्मघाती कदम हुनेछ । भारतकै गलत नीति र व्यवहारका कारण नेपालमा हरेक दिन भारतविरोधी जनमत बढ्दै गएको छ । भारतीय ज्यादतीको विरोधमा हाम्रो पार्टीले देशभक्त र राष्ट्रवादी शक्तिहरूसँग कार्यगत एकता कायम गरेर संयुक्त सङ्घर्षको पहल गर्नेछ । हाम्रो प्रतिरोधकै कारण भारतीय साम्राज्यवाद सो घटनामा रक्षात्मक बन्न बाध्य भएको छ । नेपाल सरकारले सो घटनाको विरोध गर्न बाध्य भएको छ । पार्टीहरूले मुख खोलेका छन् । राजनीतिक विवाद छोडेर बर्दिया, अछाम लगायतका जिल्लामा संयुक्त प्रतिरोध सङ्घर्ष भएका छन् । सुदुर पश्चिम सहित कञ्चनपुरमा जनता सडकमा उत्रिएका छन् । हामी र हाम्रो पार्टीले ती सबै देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्नेछ ।
 हामीले नै मधेसको समस्या समाधान गर्छौं भन्नुहुन्छ तर मधेसमै तपाईंहरूको पार्टी कमजोर छ नि ?
तपार्इंको प्रश्नप्रति म सहमत छैन । मधेसमा हामी कमजोर छौँ भन्ने कुरा सही होइन । हो, कुनै समय हामी मधेसमा कामजोर पनि थियौँ होला । त्यो त अतीतको विषय हो । अहिले हामी मधेसमा कमजोर छैनौँ । हाम्रो पार्टीको आधार विस्तार तीव्रतामा भइरहेको छ । मधेसी जनताको मुक्तिका लागि सबैभन्दा वस्तुवादी र क्रान्तिकारी नीति र कार्यक्रम हामीसँग छ । त्यो कुरा मधेसका जनताले बिस्तारै बुझ्दै गएका छन् । मधेसको नारा लगाएर, सङ्घीयताको गीत गाएर मधेसी जनतालाई ठग्ने, ढाँट्ने षड्यन्त्र भइरहेको अवस्था छ । मधेसका जनता र पहाडका जनता लडाएर उल्टै जनता लुट्ने खेल भएको छ । त्यसकारण आममधेसी जनता हाम्रो नेपाल कम्युनिस्ट पार्टीमा गोलबन्द हुन्दै गएका छन् । त्यसकारण हामीले नै मधेसको समस्या समाधान गर्छौं भन्ने दाबी गरेका हौँ । हाम्रो पार्टीप्रति गरिब, श्रमिक, दलित सबै समुदायको समर्थन रहेको छ । हामीले व्यापक जनपरिचालन गरेका छौँ । तसर्थ मेरो दाबी के छ भने मधेसमा जनआधार भएको एक मात्र पार्टी नेकपा हो । अरू त पैसा र विदेशीको आशीर्वादका मौसमी गुट मात्रै हुन् ।
 केन्द्रीय समितिको बैठक बस्दै हुनुहुन्छ । त्यस विषयमा हाम्रा पाठकलाई केही भन्न सक्नुहुन्छ ?
हामी तीनमहिने कार्ययोजना तयार गर्नेछौँ । बैठक जारी रहेका कारण अहिले नै सबै कुरा भन्न गाह्रो छ । थबाङ महाधिवेशनको समीक्षा पनि गर्नेछौँ । सरकारद्वारा घोषित स्थानीय निकायको निर्वाचनका विषयमा पनि आवश्यक नीति र कार्यक्रम ठोस गर्नेछौँ । महाधिवेशन भर्खरै सम्पन्न भएका कारण केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन पनि गर्नुपर्ने छ । नेपाली क्रान्तिको सम्भावना र विकासको गतिलाई रोक्न देशीविदेशी शक्तिको गठबन्धनमा चुनाव घोषणा गरिएको हो भन्नेमा हामीमा कुनै भ्रम रहेको छैन । यसबेला भारतीय साम्राज्यवादले नेपाली सीमाभित्र पसेर नेपालीको हत्या गरेको छ । त्यो हस्तक्षेप नेपाली क्रान्ति र देशभक्त शक्तिका लागि धम्की पनि हो । त्यो धम्कीलाई हामी स्वीकार्छौ र त्यसका विरुद्ध प्रतिरोधात्मक आन्दोलन घोषणा गर्नेछौँ । त्यो अभियानकै रूपमा निर्माण गर्नेछौँ । प्रतिक्रियावाद, प्रतिक्रान्ति र साम्राज्यवाद र मूलतः भारतीय साम्राज्यवादका विरुद्ध कार्यक्रम बनाउने सोचेका छौँ । ठोस कार्यक्रमका विषयमा त बैठकपछि नै भन्न सकिनेछ । अहिले म यति मात्र भन्न सक्छु– हामी महाधिवेशनको भावलाई समातेर सशक्त र प्रभावकारी कार्यक्रम लिएर जनतासमक्ष आउनेछौँ । यसप्रति ढुक्क हुन अनुरोध गर्दछु ।
 सरकारले स्थानीय निकायको चुनावको घोषणा गरेको छ । त्यसप्रति तपाईंको पार्टीको धारणा के हो ? तपाईंहरू चुनावमा भाग लिनुहुन्छ ?
संसद्वादी दलाल सरकारले स्थानीय चुनावको घोषणा गरेको छ । नेपाली क्रान्तिलाई धरापमा पार्ने उद्देश्यले घोषित त्यसप्रकारको चुनावसँग हाम्रो कुनै सरोकार छैन किनकि हरेक संसदीय निर्वाचनले जनतामा महँगी, भ्रष्टाचार, गरिबी, बेरोजगार, उत्पीडन, आतङ्क, मुद्रास्फीति, मूल्यवृद्धि लिएर आउने गर्छ । त्यसका विरुद्ध हामी जनताको सत्ता जनसत्ता निर्माणको प्रक्रियालाई तीव्र पारेर लाँदैछौँ । जनसंविधानको मर्मअनुसार जनसत्ता निर्माणको प्रक्रियालाई तीव्र बनाउने योजना छ । प्रतिक्रियावादी स्थानीय निकायलाई ध्वस्त गरिनेछ । निषेध गरिनेछ । त्यसकारण प्रचण्ड– देउवा सरकारद्वारा घोषित निर्वाचनलाई हामीले बहिष्कार होइन ध्वस्त पार्ने भनेका छौँ । क्रान्तिका विरुद्ध, जनताका विरुद्ध घोषित चुनावलाई हामी सहजै स्थापित हुन दिने पक्षमा छैनौँ । जनसत्ता निर्माणको प्रक्रिया चुनावमार्फत नै पूरा हुनेछ । त्यसले प्रतिक्रियावादी चुनावलाई ध्वस्त पारेर जनवादी चुनावमार्फत जनसत्ता निर्माण गरेर सरकारी चुनाबको जबाफ दिइनेछ । त्यसकारण घोषित चुनावप्रति हाम्रो सरोकार छैन भनेका हौँ । हामीले निष्क्रिय बस्ने, जनतालाई दिशाविहीन बनाउने भनेको होइन ।
 मधेसवादी दलहरू सरकारबाट हट्ने, समर्थन फिर्ता लिने धम्कीसँगै राप्रपा सरकारमा गएको छ । त्यसले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्ला ?
संसद्वादी दलहरूको अन्तरविरोध कुर्सीस्वार्थको झगडाबाहेक अरू केही होइन । यिनीहरू जुठो हाडका लागि झगडा गरिरहेका हुन्छन् । भागबन्डा मिल्नासाथ यिनीहरू मिल्छन् र भागबन्डा नमिल्नेबित्तिकै झगडा गर्न थाल्छन् । मधेसवादी भन्ने दलहरूले ओली सरकारका विरुद्ध भारतले इसारा गार्नासाथ प्रचण्ड–देउवा सरकारको समर्थन गरेका थिए । अहिले बिनाकारण फिर्ता लिएका छन् । त्यसैगरी देशभक्तिको हल्ला गर्दै आएको पूर्वपञ्चहरूको राजावादी पार्टी राप्रपा राजाविरोधी सरकारमा प्रवेश गरेको छ । यी कुर्सीका भोका सैतानहरू हुन् । यिनीहरूको कुनै नैतिकता, अडान, सिद्धान्त केही छैन । यी सिद्धान्तहीन स्वार्थी झुण्डहरू हुन् । त्यसप्रकारका घटनाले नेपाली राजनीतिमा खासै गुणात्मक प्रभाव हुनेछैन । मात्रात्मक प्रभाव त हुने नै भयो । यी सबै फोहोरी खेलहरू कुर्सी स्वार्थका लागि भएका हुन् । प्रतिक्रियावादी र दलाल सत्ता रहँदासम्म यस्ता नाटक भइरहनेछन् । हरेक दलालले अर्को दलाललाई गाली गर्नु, हरेकपटक झन्झन् खराब दलाल कुर्सीमा पुग्नु र जनता लुटुनु संसदीय राजनीतिको चरित्र नै हो । तसर्थ सरकारमा जाने आउने संसदीय खेलको कुने अर्थ छैन ।
 रातो खबर साप्ताहिकमार्फत थप केही भन्न चाहनुहुन्छ कि ?
हाम्रो पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशाले नेपाली क्रान्तिको ढोका खोल्छ भन्ने हाम्रो विश्वास छ । त्यसकारण नेपालका सबै शोषित– पीडित जनसमुदायले नेकपालाई समर्थन र सहयोग गर्नुपर्छ । त्यसो भयो भने हामीले नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न सक्छौँ । यो क्रान्तिले मजदुर, किसान, मध्यमवर्ग, दलित, मधेसी, थारूलगायत सबै उत्पीडित समुदायका हित र अधिकारको रक्षा गर्नेछ । साथै लोकप्रिय र जनपक्षीय अखबार रातो खबर जनताको वाणी बनेर यसरी नै प्रखर रूपमा अगाडि बढोस् । मेरा विचारहरू जनतासमक्ष पु¥याउने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :