नयाँ विकल्पको अनिवार्यता

padam rai 2पदम रार्इ

देशको अवस्था अत्यन्तै सन्नाटापूर्ण अवस्थाबाट अघि बढिरहेको छ । महँगी, भ्रष्टाचार, कालोबजारी, तस्करी, बेरोजगार, अनियमितता, दण्डहीनता, बेथितिजस्ता खराबीहरूले आन्तरिक रूपमा देशलाई सेकेन्डसेकेन्डमा सिध्याइरहेको छ । आन्तरिक मात्रै होइन, बाह्य कारणले समेत देशलाई तहसनहस बनाउँदै लगिरहेको छ । भित्र र बाहिरका दुवै समस्याहरूका कारण झन्पछि झन् दयनीय र खतरापूर्ण अवस्थाबाट अनिश्चयको बाटो भएर दौडिरहेको छ देश । यस्तै भयावह र खतरापूर्ण अवस्थाका कारण आम नेपाली जनमानसमा राजनीतिक दल र यो व्यवस्थाप्रति अविश्वास पैदा भएको छ । राजनीतिक तथा सामाजिक धरातलीय यथार्थले एउटा नयाँ विकल्पको आवश्यकता अनिवार्य बन्न गएको छ । सामान्य सुधार र मर्मत मात्रैले देशको सम्बोधन हुने अवस्था छैन । सम्पूर्ण रूपले व्यवस्था नै परिवर्तन गर्नुपर्ने जरुरी टड्कारो प्रश्न बनेर आएको छ ।
एउटा नयाँ विकल्प अनिवार्य हो तर कस्तो विकल्प ? जनमानसमा आशङ्का, अविश्वास र अन्योलको स्थितिले पनि सताइरहेको छ । कसरी समाधान हुन्छन् त देशका समस्याहरू ? कसले गर्छ यसको पहल ? कुन शक्ति छ त त्यस्तो विश्वास गर्न लायक ? को छ धोका नदिने नेतृत्व ? नेपाली जनमानसमा यही र यस्तै प्रकारका जिज्ञासा र यक्ष प्रश्नहरूको खातले घर गरेको छ । विगतमा विभिन्न राजनीतिक दलहरूले विभिन्न कालखण्डमा नेपाली जनतालाई दिएको धोकाघडीका कारण यसो हुन पुगेको छ । यस्तो स्थितिमा जनमानसलाई भ्रमबाट मुक्त गरी आफ्नो विश्वासमा ल्याउनुपर्छ । यसको जिम्मा क्रान्तिकारी शक्तिले नै विशेष लिनुपर्छ । जनसमुदायहरूले पनि आफूप्रति समीक्षा गर्नुपर्ने अधिक विषयहरू छन् । कुराचाहिँ बुझ्ने तर केही पनि पहल नगर्ने बरु नेताहरूलाई धारेहात लगाउँदै गाली गरेर मात्रै बस्नु हुँदैन । भन्नु उसो होइन, परिवर्तनको भोकले अत्तालिएका हामी जनसमुदायमा पनि एउटा जबर्जस्त संस्कार वा आदतको विकास भएको छ । जसले गर्दा आफ्नै कामको परिणामले आफैँलाई आघात पु¥याइरहेको छ । माओको भाषामा जनता भनेका इतिहासका निर्माता हुन् । जनताले चाहे भने रातारात संसारलाई बदल्न सक्छ । तर लामो समयदेखि राजनीतिक पार्टीहरूबाट पाएको विश्वासघात र धोकाधडीका कारण जनसमुदायहरूमा पनि जबर्जस्ती रूपमा एक प्रकारको अनौठो संस्कार वा आदतको विकास भएको देखिन्छ ।
पछिल्लो समयमा नेपालमा यो निकै जबर्जस्ती रूपमा देखिन थालेको छ । विश्वको राजनीतिक इतिहासमा पनि यस्ता अप्रिय घटनाहरू भएका उदाहरणहरू छन् । बेलायतमा राजतन्त्रको अन्त्य गरेका जनताले पुनः राजतन्त्र फर्काउने कार्यमा उद्यत रहनु, नर्बेमा राजतन्त्रबाट मुक्त भएर आफ्नो छुट्टै देश निर्माण गरिसक्दा पनि स्विडेनबाट राजा ल्याएर आफैँमाथि शासन गर्न लगाउनु, अमेरिकामा दासताबाट मुक्त गरिएका जनताहरूले आफ्नो जीवनयापनका लागि पुनः दासत्वको माग गर्नु, पूर्वजर्मनी ः समाजवादी सत्ता छाडेर पुनः पुँजीवादी सत्तामा समाहित हुनु, आधा शताब्दीदेखि धर्मनिरपेक्षताको अभ्यास गरिरहेको भारतमा हाल आएर हिन्दु धर्मको माग हुन थाल्नु आदिजस्ता नकारात्मक घटनाहरू यसका उदाहरणहरू हुन् ।
नेपालमा पनि यस्ता अकल्पनीय राजनीतिक घटनाहरू उल्लेख्य मात्रामा भएका छन् । ऐतिहासिक महान् जनयुद्धको माध्यमबाट नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादको नजिक पुगेर पनि पुनः दलाल पुँजवादी संसदीय व्यवस्थामा फर्कनु, पहिलो संविधानसभाको चुनावमार्फत जनताले संविधानसभाका ६०१ सभासद् चुन्नु, आफैँले चुनेर पठाएको ६०१ को विरोधमा साङ्केतिक रूपमा पशु बनाएर घाँस खुवाउनु, मरेको लास बनाएर शङ्ख बजाउनु, केशमुण्डन गरी सेतो धोती पहिरिएर किरियापुत्री बस्नुजस्ता नेपाली उदाहरणहरू हुन् । पछि संविधानसभा विघटन भएपछि पुनः तिनै दलहरूबाट तिनै नेताहरू चुनिएर उही ६०१ सभासद् आउने, दोस्रो संविधानसभाको चुनावमा हर्षोल्लासका साथ भोट दिएर पुनः उही ६०१ चुन्नु, फेरि त्यसलाई पनि भत्ता पचाउने भन्दै गाली गर्नु । यी विषयहरूमा दल र नेताहरूले होइन, जनताहरूले नै समीक्षा र मनन गर्नुपर्ने हुन्छ ।
अझै दोस्रो संविधानसभाका ठेकेदारहरूमध्ये राज्यको पुनर्संरचनाका लागि कसैले १४ प्रदेशको खाका, कसैले ११ प्रदेशको, कसैले ८ र कसैले ७ प्रदेशको जस्ता मनपरी प्रस्ताव पेस गरे पनि मानिरहने । जातीय र क्षेत्रीय पहिचान र सामथ्र्यको आधारमा राज्यको पुनर्संरचना गर्ने लोभ देखाएर अन्ततः खोला र खोल्साहरूलाई सिमाना बनाएर नम्बरको आधारमा ७ वटा प्रदेश मात्र संविधानमा व्यवस्था भए पनि त्यसको विरोध होइन, बरु सहरका चोकचोकमा दीपावली मनाउनु । शुभकामना आदानप्रदान गर्नुजस्ता समीक्षा गर्नलायक राजनीतिक घटनाहरू हामी जनताबाटै भएका हुन् ।
फेरि चुनाव नामको अर्को षड्यन्त्र घोषणा भएको छ । मक्किएर ढल्नै लागेको दलाल संसदीय व्यवस्थालाई गाउँगाउँसम्म जरा गाडेर ठड्याउने, क्रान्तिकारी शक्तिहरूलाई दमन गरी दलालहरूको एकलौटी शासन चलाइदिएर उसका मालिक खुसी पार्ने तथा नेपाली मास्ने र विदेशी पाल्नेपोस्ने उद्देश्यबाहेक अरू कुनै उद्देश्य छैन यो चुनाव घोषणाको । दलालहरू र उसका मालिकले नेपाल र नेपाली जनताका विरुद्ध हर्कत गर्नु उसको धर्म हो । उसले हाम्राविरुद्ध षड्यन्त्र गरिरहन्छ । सचेत हामीले हुने हो । माछा मार्नेले बल्छीमा चारो त हाल्छ नै । माछा चनाखो हुनुपर्छ । यो चुनाव नेपाली फसाउने बल्छीको चारो नै हो । हामी चारो देखेर बल्छीमा झुन्डिन दौडनु हुन्न । चुनाव भन्नेबित्तिकै जसलाई भए पनि भोटचाहिँ हाल्नैपर्छ भन्ने संस्कृतिको विकास र यही संस्कृतिलाई आदतका रूपमा स्वीकार्ने परम्पराले अन्ततः नेपाली जनता र राष्ट्रलाई ठूलो क्षति पुग्ने गरेको छ । जसका कारण आफ्नै भोटले आफैँलाई चोट दिएको थाहा नपाउने बरु आफ्नै भाग्यलाई दोष दिएर चित्त बुझाएर निरीह भइबस्ने जस्ता अर्को जबर्जस्त आदत पनि छ हाम्रो नेपाली समाजमा । जिन्दगीले बाउन्न ठक्कर त्रिपन्न घुस्सा खाएर आफू र सन्तानको भविष्य धुजाधुजा भइसक्दा पनि त्यसको कारण खोजेर प्रतिरोध गर्नुको सट्टा कि त पूर्वजन्मलाई कि भाग्यलाई दोषारोपण गरेर पछि हट्ने अर्को अचम्मको आदत पनि छ नेपाली समाजमा ।
२०७३ फागुन २६ गते भारतीय सुरक्षा बल एसएसबीको टोली कञ्चनपुर जिल्लाको पुनर्वास ८ मा पसेर नेपाली जनताले निर्माण गरेको कल्भर्ट जबर्जस्त भत्काउन थालेपछि त्यहाँका जनताहरूले त्यसको प्रतिकार गर्दा झडपको स्थिति पैदा भयो । त्यही निहुँ बनाएर नेपालप्रतिको हेपाहा प्रवृत्तिले मात्तिएका भारतीय साम्राज्यवादका कथित सुरक्षा बल एसएसबीले ताकीताकी गोली हानेर गोविन्द गौतमको हत्या ग¥यो । झडपका क्रममा नेपाल प्रहरीका निरीक्षक र सशस्त्र प्रहरी बलका थुप्रै जवानसहित स्थानीय जनता घाइते भए । यो नेपाली राष्ट्रियतामाथिको भारतीय साम्राज्यवादको ठाडो हस्तक्षेप हो । यो नेपाली सार्वभौमसत्तामाथिको भारतीय साम्राज्यवादी तत्वको शत्रुतापूर्ण हर्कत हो । नेपाली स्वाभिमानी जनताहरूमाथिको बर्बर दमनको पराकाष्टा पनि हो । उक्त घटनाको घोर विरोध र भत्र्सना गर्दै नेपाल कम्युनिस्ट पार्टीले सबैभन्दा पहिले विज्ञप्तिमार्फत भारतीय साम्राज्यवादको उक्त ना¨ो हर्कतको विरोधमा उत्रन आम जनसमुदायलाई हार्दिक अपिल पनि ग¥यो । त्यसका साथै काठमाडौँमा पत्रकारसम्मेलन र देशव्यापी रूपमा जनप्रदर्शन, मशालजुलुसका साथै नेपाल बन्दसम्मको कार्यक्रमसमेत घोषणा र कार्यान्वयन पनि ग¥यो । परन्तु यति पेचिलो विषयमा पनि हामीले अपेक्षाकृत जनसहभागिता जनाउन सकेनौँ । यो पनि गुनासो मात्रै गर्ने तर राम्रो र नराम्रो खुट्ट्याउन छोडेर सबैलाई उस्तै देख्ने र निष्क्रिय बस्ने हाम्रै आदतको कारण हो ।
नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएदेखि नेपालमा कैलालीकाण्ड, भारतको नाकाबन्दी, सिराहा–सप्तरी आन्दोलन र राज्यवाटै जनहत्या, सप्तरी जिल्लाको राजविराजमा भएको जनहत्याजस्ता घटनाहरू भए । त्यसलाई पनि हामीले सजिलै पचायौँ । मानौँ, हामी जे पनि पचाउने राजनीतिक हाजमोला हौँ । नेपाली भूमिमाथि नेपालको कुनै सूचना र सहभागिताबिना भारत र चीनबीच दार्चुला जिल्लाको लिपुलेकमा द्विपक्षीय व्यापारिक सम्झौता भयो । त्यसको विरोध गर्दै ऊ बेलाको नेकपा (माओवादी), हाल नेपाल कम्युनिस्ट पार्टीले नेपाली माटोमाथि भएको वैदेशिक हस्तक्षेपको विरोध गर्दै निकालेको शान्तिपूर्ण विरोध¥यालीमा माथिको आदेश भन्दै पुलिसले हस्तक्षेप गरी दर्जनौँ नेता–कार्यकर्ता गिरफ्तार ग¥यो । राज्यलाई करिब ४३ अर्ब करछली गरेर अनधिकृत रूपमा सञ्चालन गरेको एनसेललार्ई राज्यलाई कर तिर्न चेतावनीस्वरूप कारबाही गरेपछि माथिकै ठाडो आदेशबमोजिम देशैभरिबाट दर्जनौँ नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर राज्यको कर्तव्य पूरा गरेको मजा लियो । सायद यो पनि नेपालका सुरक्षा निकायको आदत नै हो । त्यस्तै महँगी, खानामा मिसावट तथा कालोबजारीका विरुद्ध भएको नेपाल बन्द, नेपाल–भारत सिमाना सिलबन्दी गर्ने र दुवै देशका नागरिकहरूलाई आवतजावत गर्दा पासको व्यवस्था गर्नुपर्ने मागसहित भएको राष्ट्रियतासम्बन्धी बन्द कार्यक्रम, भ्रष्टाचारी लोकमानलाई गरेको कारबाहीजस्ता आन्दोलनका कार्यक्रमहरूलाई पनि हस्तक्षेप गरी दर्जनौँ कार्यकर्ताहरूलाई झूट्टामुद्दामा फसाएर दलाल संसदीय व्यवस्थाको अम्मली आदत देखायो । यस्तैयस्तै राजनीतिक घटनाहरू र स्थितिहरूको समीक्षा गर्दा हामी आदतका दास भैसकेका हौँ कि त ? भन्ने प्रश्न उठ्नसक्ने प्रसस्त ठाउँहरू छन् । किन हुन्छ र भइरहेछ यस्तो अस्वाभाविक क्रियाकलाप ? के हो कारण ? खोज्नु जरुरी छ ।
नेपाली जनमानसमा जबर्जस्ती रूपमा विकास भएका आदतका कारणहरू भनेको नेपाला १०४ बर्से राणाशासनविरुद्धको आन्दोलनदेखि २००७ को क्रान्ति, २०२८ को झापा आन्दोलन, १० बर्से नेपाली जनयुद्धजस्ता चर्चित र महत्वपूर्ण राजनीतिक घटनाहरू सेलाएर जानु, ती आन्दोलन र क्रान्तिका नेतृत्वकर्ता दलहरू अक्षम र निकम्मा बन्दै जानु, नयाँ काम केही गर्न नसक्नु केवल आन्दोलनको ब्याज खाएर मात्र बस्नु । नयाँ व्यवस्थाको उदय हुन नसक्नु तर दलाल संसद्वादले परिवर्तनको स्थान लिनु, त्यस व्यवस्थाले खराब संस्कार र संस्कृतिजन्य चेतनाको विकास हुनु, जनताले चाहेको कुरा पूरा नहुनु बरु अकल्पनीय धोका र विश्वासघातको थुप्रो मात्र हात लाग्नुजस्ता कारणहरूले नेपाली समाजमा जबरजस्ती यस्तो आदतको विकास हुन पुगेको देखिन्छ ।
उल्लिखित आदतजन्य घटनाहरू समीक्षा गर्न लायक छन् । तर नेपालीहरू आदतका दास हुन् भन्ने पुष्टि हुँदैन । बरु राज्य, राजनीतिक दल र नेताहरूले दिएको धोका र विश्वासघातका कारण पैदा भएको प्रतिकारात्मक शैली हो । माथि उल्लेख गरेका कारणहरू यसका साक्षी उदाहरणहरू हुन् । अझ पछिल्लो समयका राजनीतिक घटनाक्रमहरूको शृङ्खलालाई हेरौँ । विशेषतः नेपाल कम्युनिस्ट पार्टी (माओवादी) हाल ‘नेपाल कम्युनिस्ट पार्टी’ को गठनदेखि हालसम्म भएगरेका सम्पूर्ण कामकारबाहीहरू, यसमा जनताको सहभागिता एवम् प्राप्त उपलब्धि र यसले देखाएका भाबी सम्भावनाहरूलाई हेर्दा खराबी स्विकार्ने आदतभन्दा परिवर्तन चाहने अभिलाशाको पक्ष नै उत्कर्षमा देखिन्छ । बरु एउटा विचार, दर्शन, राजनीति तथा क्रान्तिकारी संस्कार, संस्कृति, शैली, आचरणसहितको प्रतिबद्ध पार्टीको खाँचो नेपालीको चाहना देखिन्छ । यसर्थ नेपाल कम्युनिस्ट पार्टी जनताका लागि जनतासँगै भन्ने नारासहित अगाडि बढ्नु अनिवार्य छ । हामी जनताले केही समीक्षा गर्नुपर्ने विषय त छ तर नेपाली जनता आदतका दासी होइनन् । क्रान्ति र परिवर्तनकै शक्ति हुन् । नेपाल कम्युनिस्ट पार्टी पनि खराब आदतको जन्मदाता होइन । बरु यो नेपाली र विश्व राजनीतिक समीक्षाको निष्कर्ष हो । यथास्थितिमा नयाँ क्रमभङ्ग गर्ने नयाँ आधार शक्ति हो । आसन्न स्थानीय निकायको चुनाव पुरानोकै निरन्तरता हो । यसमा भोट दिएर होइन, जनताको आफ्नै सत्ता गाउँ तथा नगर जनपरिषद् गठनप्रक्रियामा सक्रिय सहभागी भई हामी नेपाली आदतका दास होइनौँ भनी थप पुष्टि गरौँ । अर्काका लागि होइन, हामीद्वारा हाम्रै लागि काम गरौँ । हामीसँगै हाम्रो युगको भविष्य बदलौँ । मानव कर्तव्य पूरा गरौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :