राजधानी काठमाडौं नै असुरक्षित

अम्बिका चन्द / काठमाडौं : एक हप्ता यता राजधानी र आसपासका क्षेत्रमा बम विस्फोटनका घटना बढिरहेकोले यसक्षेत्रमा सुरक्षा चुनौति निकै थपिएको महशुस गरिएको छ । सोमबार दिउँसै काठमाडौंको चपलीमा भएको बम विस्फोटनबाट कांग्रेस नेता गगन थापासहित एघार जना घाइते भए । घाइते भएका मध्ये चार जनाको अवस्था गम्भीर भएको बताइएको छ । थापालाई भने कान र मेरुदण्डमा चोट लागेको छ । थापा चुनाव प्रचारका क्रममा भङ्गल चपलीमा घरदैलो कार्यक्रम गरिरहेको बेला शक्तिशाली बम विस्फोट भएको थियो । विस्फोटको आवाज निकै टाढा सम्म सुनिएको स्थानीयले बताएका छन् । यसअघि शनिबार पनि गगन थापाको चुनावी सभा लक्षित बम विस्फोट भएको थियो । काठमाडौंकै चावहिलमा थापा सहभागी चुनावमा भएको बम विस्फोटपछि भागदौड मच्चिएको थियो ।

राजधानी भित्रै रहेको नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा बम विस्फोट भएको छ । काठमाडौंको बुढानीलकण्ठमा कडा सुरक्षा घेराभित्र रहेको देउवाको घरमा बम विस्फोट भएको हो । शुक्रबार राती भएको विस्फोटमा कुनै मानवीय क्षति भने भएन । शुक्रबार नै ललितपुरको युएन पार्क, गुर्जुधारा, सितापाईला, ललितपुरको कुपण्डोलमा बम विस्फोट भएको छ । यस्तै ललितपुरको लगनखेलमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा बम विस्फोट हुँदा त्रास र भागदौड मच्चिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेतृ पम्फा भुसाल उक्त कार्यक्रममा सहभागी थिए । आइतबार बिहानै काठमाडौं ठमेलमा रहेको कांग्रेस नेता बालकृष्ण खाँडको घरमा बम विस्फोट भएको छ । रक्षामन्त्रीसमेत रहेका खाँडको घरमा भएको विस्फोटबाट मानवीय क्षती नभएपनि मानिसहरू त्रसित भएको र भागदौड मच्चिएको थियो । स्रोत : रातो खबर साप्ताहिक
मंसिर २०

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :