सरकारी निशानामा सञ्चारकर्मी

काठमाडौं : सरकारले सञ्चारकर्मीमाथि व्यापक दमन गरेर आफ्नो कमजोरी लुकाउने र आलोचनाको स्वरलाई निषेध गर्ने मनसायले काम गर्न थालेको आभास भएको छ । निर्वाचन आयोग, अदालत तथा संवैधानिक अङ्गहरू नै राजनीतिक नियुक्ति र भागबन्डामा चलिरहेको समयमा पत्रकारहरू कुनै दल वा विचारप्रति आस्थावान् हुनु नयाँ विषय होइन । आस्थाकै कारण पत्रकारहरूमाथि सरकारले थुनछेक गरेर प्रचलित कानुन हातमा लिएको छ र संविधानको भावना र मर्ममाथि प्रहार गरेको छ । 

कालीकोट प्रहरीले कात्तिक २९ गते मान्माबाट प्रकाशित हुँदै आएको जनप्रभात साप्ताहिकका सम्पादक तथा प्रकाशक कालीबहादुर महतारालाई मान्मास्थित पत्रिकाको कार्यालयबाटै पक्राउ गरेको छ । त्यसैगरी मंसिर ४ गते सोही अखबारका सहसम्पादक जगदीशनाथ योगीलाई कार्यकक्षबाटै गिरफ्तार गरेको छ । त्यसैगरी काठमाडौँ प्रहरीले मङ्सिर १ गते प्रलेसको केन्द्रीय कार्यालयबाट सो सङ्गठनका उपाध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव तथा हाम्रो जलजला मासिकका सम्पादक खेमराज थपलियालाई पक्रेको छ । त्यसैगरी प्युठान प्रहरीले पत्रकार पदमप्रसाद पोखरेललाई बिजुवार बजारबाट पक्राउ गरेको छ । पोखरेललाई जहानलाई उपचारका लागि अस्पताल लगिरहेको समयमा अस्पतालबाटै गिरफ्तार गरिएको हो । पोखरेल प्युठान भिजन मासिकका कार्यकारी सम्पादक हुन् । प्युठान प्रहरीले उक्त पत्रिकाका सम्पादक जागेश्वर आचार्यलाई पनि गिरफ्तार गरेको छ ।

यता काठमाडौँ प्रहरीले नेपालभाषामा प्रकाशित हुँदै आएको निः हुगु ज्व जोलोप्पाका सम्पादक/प्रकाशक जितेन्द्र महर्जनलाई उनकै निवास कीर्तिपुरबाट गिरफ्तार गरेको छ । त्यसैगरी मध्याह्न दैनिक अखबारका संवाददाता दीपेश शाहीलाई काठमाडौँ प्रहरीले प्रचण्डपुत्र प्रकाशको स्वास्थ्यस्थितिको समाचार सङ्कलन गर्न गएको समयमा अस्पताल परिसरबाटै गिरफ्तार गरेको छ । त्यसैगरी मङ्सिर ५ गते एमाले–माके संयुक्त पत्रकार सम्मेलनको समाचार सङ्कलन गर्दै गर्दा बुटवलको सोही कार्यक्रमस्थलबाट गर्जन साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ, रूपन्देही शाखाका सदस्य प्रकाश डुम्रेलाई गिरफ्तार गरेको छ । त्यसैगरी सोमबार चितवनबाट रातो खबर संवाददाता सुशन पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ । त्यसैगरी मंगलबार अपरान्ह २ बजे जनसंचार डटकमका सम्पादक प्रकाशक तथा जनता टेलिभिजनका कास्की संवाददाता ओम हमाल र रातो खबर साप्ताहिकका कास्की संवाददाता रमाकान्त बास्तोलालाई कास्की प्रहरीले गिरफ्तार गरेको छ । उहाँहरुलाई महेन्द्रपुलस्थित जनसंचार विद्युतीय पत्रिकाको कार्यालयबाट गिरफ्तार गरिएको हो । यसैबीच बुधबार साँझ नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले प्रम शेरबहादुर देउवालाई भेटेर पक्राउ गरिएका ८ जना सञ्चारकर्मीलाई रिहा गर्न माग गरेको थियो ।

२०७४ मंसिर १३ गते ११ : १०मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :