प्रत्रकार प्रकाश डुम्रे गिरफ्तार

काठमाडौं : क्रान्तिकारी पत्रकार संगठन, लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक तथा पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य प्रकाश डुम्रेलाई प्रहरीले गिरफ्तार गरेको छ । आज (मंगलबार) रुपन्देही एमाले र माओवादी केन्द्रले  बुटवलमा आयोजना गरेको संयुक्त पत्रकार सम्मलेनको रिपोर्टिङका लागि पुगेका पत्रकार डुम्रेलाई प्रहरीले  सम्मेलन स्थलबाटै गिरफ्तार गरेको हो । 

गर्जन पोष्ट साप्ताहिकका प्रधान सम्पादक डुम्रे नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिति सदस्यसमेत हुन् । प्रेस स्वतन्त्रताको धज्जी उडाउँदै पत्रकारमाथि धरपकड गरेर गिरफ्तार गरेको भन्दै नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाले आपत्ति जनाएको छ ।

महासंघले डुम्रेको तत्काल रिहाइको मागसमेत गरेको छ । यता क्रान्तिकारी पत्रकार संगठन नेपालले आफ्ना लुम्बिनी ब्युरो संयोजक पत्रकार डुम्रेलाई गिरफ्तार गरेको भन्दै घोर भत्सर्ना गरेको छ । संगठनका अध्यक्ष प्रभात चलाउनेले इमान्दार मिडियासँग कुरा गर्दै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भएको बताएका छन् ।

प्रहरीले पत्रकारहरुलाई गिरफ्तार गर्ने, घरमा खानतलासी गर्ने, परिवारका सदस्यलाई फोन गरेर मनोवैज्ञानिक यातना दिने कार्य तीव्र पारेको भन्दै उनले राज्यको त्यस प्रकारको ज्यादतीको विरोध गरेका छन् ।

‘संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार अहननीय अधिकार हुन् । त्यसको संरक्षण गर्नुपर्ने सरकारले उल्टै कुल्चदै हिड्नु निन्दनीय छ ।’ अध्यक्ष चलाउनेले भने, ‘नाम नै संकलन गरेर माथिको आदेश भन्दै पत्रकारहरूलाई कार्यकक्ष र कार्यक्षेत्रबाटै गिरफ्तार गर्नु भनेको आम प्रेस जगतमाथिको हमला हो ।’ नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सचिवसमेत रहेका अध्यक्ष चलाउनेले डुम्रेसहित गिरफ्तार गरिएका सबै पत्रकारहरुको स–सम्मान रिहाइको माग गरेका छन् । 

२०७४ कात्तिक ५ गते दिउँसो १ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :