मेची–महाकाली एकीकृत भूमिहीन सुकुमबासी जागरण अभियान : अध्यक्ष ओम प्रकाश पुन

photo
ओम प्रकाश पुन : अध्यक्ष अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घ

 हाम्रो गौरवशाली सङ्गठन अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घले स्थापनाकालदेखि नै नेपालमा क्रान्तिकारी भूमिसुधारको नारासहित सम्पूर्ण भूमिहीन सुकुमबासी, अव्यवस्थित बस्ती र श्रमिक किसानहरूलाई जमिनको वास्तविक मालिक बनाउने सवालमा निरन्तर जागरण अभियान र सङ्घर्ष गर्दै आएको छ र यो देशमा २००७ साल वरपरबाट उठ्दै आएको क्रान्तिकारी भूमिसुधारको नारालाई यसले निरन्तर जोड दिँदै आएको छ । अहिले पनि नेपालमा भूमिहीन, सुकुमबासी, घरबारविहीन र अव्यवस्थित बसोबासीको परिवार सङ्ख्या करिब ६० लाखको हाराहारीमा रहेको देखिन्छ । यो डेढ करोड जनसङ्ख्या हो । विभिन्न सुकुमबासी सङ्गठनहरूको तथ्याङ्कमा नेपालमा ४७ लाख सुकुमबासी रहेको उल्लेख गरिए पनि भूकम्पपीडित, बाढीपहिरोपीडित, आरक्षपीडित, मुक्त कमैया, मुत्तल हलिया, द्वन्द्वपीडित, चियाबगानका मजदुर, हरूवा चरुवा र घुमन्ते जातजातिको अवस्थालाई जोडेर हेर्दा हाल त्यो सङ्ख्या निकै बढेर गएको छ । सरकारी तथ्याङ्कअनुसार पनि नेपालमा २७.३ प्रतिशत अर्थात् ७७ लाख ८० हजार ५०० जनता गरिबीको रेखामुनि छन् भने ८० प्रतिशत जनताका घरहरू बसोबासयोग्य छैनन् । वार्षिक १९ हजार २ सय ६१ रूपैयाँभन्दा कम आयस्रोत भएकालाई गरिबीको रेखामुनि राखिएको छ । दैनिक १८ सय नेपाली कामको खोजीमा पासपोर्ट लिएर बिदेसिन्छन् भने दैनिक ४ जनाको लास नेपाल भित्रिन्छ । हाल ७५ लाख युवा शक्ति विदेश पलायन भएको छ । बर्सेनि ३२ देखि ३५ हजारको सङ्ख्यामा विद्यार्थी विदेश  राज्यको ऋण १० प्रतिशतले बढेर यस वर्ष २२ हजार पुगेको छ र विदेशी ऋण ६ खर्ब ६ अर्ब ७० करोड छ । भूतथ्याङ्कअनुसार नेपालमा ४१ लाख हेक्टर जमिन खेतीयोग्य छ । त्यसमा २५ लाख हेक्टर जमिनमा मात्र खेती हुन्छ र बाँकी १६ लाख हेक्टर जमिन बाँझो छ जो अहिले नै खेती गर्न लायक छ । दलालहरूले प्लटिङ् गरेर बाँझो बनाएको जमिन १ लाख हेक्टरभन्दा बढी छ तर दलाल सरकारले वार्षिक २० देखि २५ अर्बको चामल विदेशबाट आयात गर्छ । गत वर्षको कृषि तथ्याङ्कमा २ सय अर्बको खाद्यवस्तु आयात गरेकोमा ७२ अर्बको अनाज र ४८ अर्बको दलन पर्छ । हाम्रो देशमा ७३ प्रतिशत जनता कृषिमा निर्भर छन् । ५३ प्रतिशत साना किसानको हातमा १८ प्रतिशत र ४ प्रतिशत ठूला किसानको हातमा २२ प्रतिशत जमिन छ भने बाँकी ६० प्रतिशत जमिन दलाल र सामन्तको हातमा छ । २३ लाख ३२ हजार श्रमिक किसान छन् । ३२ प्रतिशत मोही किसानले हक पाएका छैनन् । ६० प्रतिशत किसानको वर्ष दिन खाना पुग्दैन तर दलाल र सामन्तहरूको हातमा बाँझो जमिन छ । मानव बसोबासयोग्य जमिनमा जङ्गल छ र लाखौँलाख जनता भूमिहीन छन् ।

सर्लाहीलगायत देशभरिका सुकुमबासी बस्तीमा दलाल सरकारले डोजर लगाएर उजाड पार्दैछ तर दलालहरूले कमिसनको बलमा तमाम सरकारी जमिन दर्ता गरी बेचबिखन गरिरहेका छन् र सुकुमबासी बस्ती उठीबास पार्नुमा यी दलालहरूको पनि ठूलो हात छ । कथित कम्युनिस्ट नामको प्रचण्ड सरकारले मजदुरका विरुद्ध ‘हायर एन्ड फायर’, ‘नो वर्क नो पे’ र ‘बन्द हडताल गर्न नपाउने नीति’ र सुकुमबासीविरुद्ध सरकारी जमिन खाली गर्ने, सहरबजार र जङ्गलछेउमा बस्न नपाउने, सामन्त दलालका हदबन्दीभन्दा बढी जमिनमा बसेका बस्ती उठाउने, सुकुमबासीले जोड्न वद्यत् मिटर निशुल्क दस हजार लगाउनेजस्ता ऐन बनाएको छ । एकातिर सुकुमबासी जनतालाई दलाल सरकारले यसरी उठीबास गर्दैछ भने अर्कोतर्फ उपभोग्य वस्तु र सेवासुविधामा मूल्यवृद्धि गरेर जनताको ढाड सेकेको छ । नेपाल आयल निगमले इन्डियन आयल निगमसँग पेट्रोल प्रतिलिटर ४२ रूपैयाँ ६ पैसा, डिजेल ४१ रूपैयाँ ६४ पैसा र ग्याँस प्रतिसिलिन्डर ८ सय ३० रूपैयाँ ९७ पैसामा खरिद गर्छ तर जनतालाई डबल मूल्य लगाई पेट्रोल प्रतिलिटर ९७ रूपैयाँ, डिजेल ७३ रूपैयाँ र ग्याँस १३ सय २५ रूपैयामा बिक्री गरिरहेको छ जो सही मूल्यमा बिक्री गर्ने हो भने पेट्रोल प्रतिलिटर ४८ रूपैयाँ ५३m  पैसा, डिजेल ४८ रूपैयाँ २ पैसा, मट्टीतेल ४६ रूपैयाँ ५२ पैसा र ग्याँस ९ सय ४७ रूपैयाँ २ पैसामा प्राप्त गर्न सकिन्छ । सरकारी मूल्यअनुसार किसानले बेचेको धानको चामलको मूल्य प्रतिकिलो २४ रूपैयाँ २८ पैसा पर्छ जो काठमाडौँमा ५५ रूपैयाँ मूल्य तोकिएको छ । यसलाई सही मूल्यमा बेच्दा त्यो चामल प्रतिकिलो ३१ रूपैयाँ ८६ पैसामाप्राप्त गर्न सकिन्छ । दाल, तेल, मैदालगायत अन्य खाद्यपदार्थको मूल्य सोही प्रकारले वृद्धि गरिएको छ तर उत्पादन गर्ने किसानले भने त्यो मूल्य पाएको छैन ।

उता दलाल सरकारले सांसदहरूको मासिक तलबभत्ता एक लाखभन्दा माथि बढाएको छ भने चया मजदुरको मासिक तलब ७ हजार ७५ रूपैयाँ र औद्योगिक मजदुरको ९ हजार ७ सय छ जसले साँझबिहानको खाना पुग्दैन । यसरी हेर्दा नेपालको मूल्यबृद्धि दर दक्षिणएसियाकै महँगो छ । जस्तो दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिदर चीनमा २ प्रतिशत, भारतमा ५ प्रतिशत र नेपालमा ११.६ प्रतिशत छ । यसरी खाद्यान्न, पेट्रोलियम पदार्थ, शिक्षा र स्वास्थ्यमा भएको महँगीले भूमिहीन सुकुमबासीलाई मात्र नभएर मजदुर, किसान, विद्यार्थी, न्यूनवेतनी कर्मचारी, व्यापारी र भूकम्पपीडितहरूको जीवन निकै कष्टकर बन्दै गएको छ । तसर्थ नेकपा (माओवादी) ले सञ्चालन गरेको खाद्य सम्प्रभुताको आन्दोलनमा हाम्रो सङ्गठनको पनि सक्रिय सहभागिता रहेको छ भने पार्टीले सर्लाहीको सुकुमबासी बस्तीमाथि तत्कालीन केपी ओलीको सरकारले गरेको ज्यादती र बालीनाली नष्टको घटनालाई लिएर नेपाल बन्दसम्मको सङ्घर्षको घोषणा गरी सहयोग गरेकोमा आभार व्यक्त गरेको छ । कथित भाषाशास्त्रीहरूले तयार पारेको बृहत् नेपाली शब्दकोषमा खानलाउन नपाएका, गरिब, सम्पत्तिविहीन, असभ्य वा जङ्गलीजस्ता शब्दले परिभाषित हामी सुकुमबासीहरूको विषयमा राज्य एकदमै गैरजिम्मेवार देखिएको छ र नेपालमा सुकुमबासी नै छैनन् भन्नेसम्मको तर्क गरिएको छ । नेपालका केही विद्वान् भनिनेहरूको तर्कमा पनि भुटानी शरणार्थीजस्तै गरी कुनैबेला सिक्किमबाट आएकाहरू नेपालमा अरूको खेतबारीमा किसानी गरी बसेका तर आफ्नो जमिन नभएकालाई सिक्किमबासी हुँदै सुकुमबासी भनियो र हालको सुकुमबासी शब्द त्यसकै उपज हो भन्ने छ । जेजसरी परिभाषित गरे पनि नेपालको सन्दर्भमा सुकुमबासी भनेका आफ्नो नाममा दर्ता (पुर्जा) वाल जमिन नभएका र ऐलानी पर्ती वा सार्वजनिक (सरकारी) जमिनमा आफैँ  मेहनत गरी बसोबास गर्ने श्रमिक समुदाय भनेर चिनिन्छन् । यी मूलतः तीन प्रकारका छन् ः पहिलो, परम्परागत सुकुमबासी वा पुस्तौनी ऐतिहासिक सुकुमबासी । दोस्रो, समाज विकासका क्रममा भएका सुकुमबासी । तेस्रो, प्राकृतिक र कृत्रिम विपत्तिबाट भएका सुकुमबासी । यिनको जीवनशैली पनि तीन प्रकारको नै देखिन्छ ।

जस्तो कि यसमा पहिलोथरी सुकुमबासी लामो समयदेखि रैथानेका रूपमा जग्गाजमिन कमाएर बसेका छन् तर उनको नाममा लालपुर्जा छैन, लालपुर्जा अर्कैको नाममा छ । दोस्रोथरी सुकुमबासी घुमन्ते खालका छन् । ठाउँठाउँबाट सरकारले हटाउदै लखेट्छ, झुप्राहरू जलाउँछ र विस्थापित हुँदाहुँदै घुमन्ते भएका छन् । तिनको जीवन बिजोगको छ । तेस्रोखाले सुकुमबासी दलाल प्रकृतिका छन् । एक ठाउँमा जमिन बनाउँछन् र मौका पाउनेबित्तिकै बेचेर अर्को ठाउँ जान्छन् । यो पनि एक प्रकारले घुमन्तेजस्तै छ । यो सीमित तप्का छ र यसले अन्य सुकुमबासीलाई बदनाम पनि गरेको छ । यसमा एक प्रकारको जग्गा दलाली गर्ने गिरोह नै परिचालित छ र यसले जङ्गल विनास गराई काठ तस्करी गर्नेसम्मको पहँुच राख्छ । त्यस्तै सुकुमबासीको साथमा केही हुकुमबासीले पनि फाइदा लिइरहेका छन् । टन्न सम्पत्ति र जग्गाजमिन भएका तर सुकुमबासीको पछि लागेर मौकाको फाइदा उठाउने र अन्ततः सुकुमबासीहरूको आन्दोलनलाई नै कमजोर पार्नेखालको अवसरवादी तप्का पनि छ । यी दुवै प्रवृत्ति र तप्काबाट सुकुमबासीहरू सचेत हुनुपर्छ र अलग हुनुपर्छ किनकि यसले सिङ्गो सुकुमबासी आन्दोलनलाई बदनाम र कमजोर बनाएको छ ।  यसरी नेपालको समग्र सुकुमबासी र भूमिहीनहरूको अवस्थालाई तीन वर्गमा राखेर हेर्दा पहिलोखाले सुकुमबासी जग्गा छ । खेतीपाती गरेर खान्छन् तर जमिन नाममा छैन । दोस्रोखाले सुकुमबासी जग्गा छ, बर्सौं कमाएर खाएका छन् तर जमिन अर्काको नाममा छ । तेस्रोखाले सुकुमबासीको सम्पत्ति छ । घर पनि ठूलठूला छन् । जमिन थोरै भए पनि सहरबजार र सडकको छेउमा छ तर नाममा छैन वा ऐलानी छ । यस्ता अव्यवस्थित बस्ती पूर्वपश्चिम राजमार्गको विभिन्न ठाउँमा सहरकै रूपमा विकास भएका छन् । यसमा पनि सुकुमबासी र अव्यवस्थित बस्तीहरू खास गरेर खोलानालाको छेउ, बनजङ्गलको छेउ, शहर बजार र सडक छेउ, पहाड र चुरेको घाँच अनि मानव बस्तीको आसपासमा रहेका छन् । यसरी बसेका सुकुमबासीहरूको साझा समस्या भनेको सरकारले कतिबेला उठीबास गर्ने हो, बाढी र पहिरोले कतिबेला बगाउने हो, रैथाने बस्तीका मानिसको र जङ्गली जनावरको आक्रमणमा कतिबेला परिने हो र जग्गा दलालहरूको फन्दामाm कतिबेला परिने हो भन्ने त्रासमा बाँच्नु रहेको छ । यसरी भूमिहीनहरूको जिन्दगी भनेको अनिश्चय र त्रासमा रुमल्लिएको छ ।

 नेपालको सन्दर्भमा भूमिहीन किसान भनेका प्रमुख उत्पादक शक्ति हुन् र प्रमुख उत्पादनको साधन भनेको जमिन हो । जबसम्म उत्पादक शक्ति र उत्पादन सम्बन्धको मेल हुँदैन तबसम्म त्यो देशको विकास र उन्नति पनि हुँदैन । तसर्थ नेपाली समाजको परिवर्तनको पहिलो सर्त नै सुकुमबासी र भूमिहीन किसानको हातमा जमिन प्रदान गर्नु हो । नेपालमा श्रमचोर वर्गभन्दा श्रमशील वर्ग धेरै छ तर राज्यको सम्पूर्ण साधनस्रोत त्यही श्रमचोर वर्गसँग भएकाले नेपाली क्रान्तिको पहिलो कर्तव्य भनेको श्रमचोर वर्गसँग रहेको उत्पादनको साधनलाई खोसेर श्रमशील वर्गको हातमा दिनु हो । यसकै उद्देश्य अनुरूप हाम्रो सङ्गठनले नेपालमा कृषिक्रान्ति र क्रान्तिकारी भूमिसुधारको बहसलाई अगाडि बढाएको छ । यसकै निरन्तरतास्वरूप हामीले यही मङ्सिर १३ देखि माघ २५ गतेसम्म पूर्वको झापाबाट नेपालको भूमि व्यवस्था र भूमिहीन सुकुमबासी समस्या समाधानका विषयमा मेची–महाकाली एकीकृत भूमिहीन सुकुमबासी जागरण अभियान चलाइरहेका छौँ । यसमा यहाँहरू सबैका तर्फबाट आर्थिक, भौतिक र नैतिक सहयोगका लागि हार्दिक अपिल गर्छौं ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :