चितवनमा कम्युनिस्ट आन्दोलन

 

केन्द्रविहीन समूह

ने.क.पा.को तेस्रो महाधिवेशनपछि नेपालको कम्युनिस्ट पार्टीमा देखापरेको विभाजन र विग्रहको रोगबाट चितवनका कम्युनिस्ट पार्टीहरू पनि मुक्त हुन सकेनन् । चितवनमा पनि टी.एन. र पी.एल. समर्थक समानान्तर समितिहरू गठन भए । चितवनको कम्युनिस्ट सङ्गठनमा देखापरेको यस किसिमको ध्रुवीकरणबाट कम्युनिस्ट आन्दोलनमा ठूलो धक्का लाग्यो । कतिपय कम्युनिस्ट कार्यकर्ताहरू आरोप–प्रत्यारोपमा उत्रिए । नेता–कार्यकर्ताहरू पक्ष र विपक्षमा विभाजित भए । गुटबन्दी तथा पक्ष–विपक्षमा नरहेका जिम्मेवार नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूमा नैराश्य उत्पन्न भयो । यस स्थितिमा कुनै पनि केन्द्रमा संलग्न नरहने गरी वि.सं. २०२४ मा एउटा अर्को कम्युनिस्ट समूह गठन भयो । यस समूहको गठनमा वीरेन्द्र कलेजका प्राचार्य आनन्ददेव भट्टको अहम् भूमिका रहेको देखिन्छ ।

टी.ए. र पी.एल. समूहमा विभाजित चितवनको कम्युनिस्ट आन्दोलनबाट निराश बनेका कर्यकर्ताहरूलाई समेट्न पनि यो केन्द्रविहीन नयाँ समूहको गठन बढी उपयोगी हुने महसुस गरी गठनसम्बन्धी प्रक्रिया प्रारम्भ गरियो । यसक्रममा भट्टले पुराना कम्युनिस्ट नेता र कार्यकर्ताहरूसँग भेटघाट गर्ने, छलफल गर्ने कार्यलाई तीव्रता दिए । सुरुमा पूर्ववर्ती सङ्गठनमा कार्यरत कार्यकर्ताहरू जगतबहादुर श्रेष्ठ, गुणबहादुर घले तथा भरतपुर अस्पतालका सुपरिटेन्डेन्ट डा. मथुराप्रसाद श्रेष्ठसँग सम्पर्क कायम भयो । वि.सं. २०२४ को अन्त्यतिर कम्युनिस्ट सङ्गठनको विकास र विस्तारमा अघि बढ्ने कुरामा सैद्धान्तिक सहमति भयो । प्रारम्भमा कम्युनिस्ट सङ्गठनको विकास र विस्तारमा लागि पर्ने भन्ने विषयमा सैद्धान्तिक सहमति भए पनि अन्य सबै कुराहरू एकैचोटि प्रस्ट गरिएको थिएन । जब बैठकहरूमा सैद्धान्तिक, कार्यनीतिक विषयहरूमा छलफल हुन सुरु भयो तब ४ जनाबीचमा नै सैद्धान्तिक विमति देखाप¥यो । भट्ट र जगतबहादुर नयाँ सङ्गठनलाई कुनै पनि केन्द्रसँग सम्बन्धित नगराई केन्द्रविहीन गराएर लैजान चाहन्थे । अर्कापट्टि आपूm पुष्पलालको समर्थक रहेको र पुष्पलालसमूह छाड्न नसक्ने बताउँदै गुणबहादुर घले उक्त समूहबाट अलग्गिए । यसरी गुणबहादुर बाहिरिएपछि केही समय भट्ट, जगतबहादुर श्रेष्ठ र डा. मथुरा ३ जना मात्र भएर भेटघाट गर्ने, छलफल चलाउने गर्दै रहे । केही समयपछि तीनैजनाले एकएकजना सम्पर्कमा लिने निर्णय भयो जसअनुसार जगतबहादुरको सिफारिसमा यमुना न्यौपाने, डा. मथुराको सिफारिसमा भरतपुर अस्पतालमा कार्यरत एकजना नर्सका भाइ पुष्पगोपाल श्रेष्ठलाई सम्पर्कमा लिइयो । केही समय ती ५ जनाबीच भेटघाट तथा जमघट हुने ग¥यो । पञ्चायती व्यवस्था निर्विकल्प घोषित भएको र आफ्नो सञ्जाल पूर्ण रूपमा विस्तार गरिरहेको समयमा हरेकले हरेकलाई शङ्का–उपशङ्का गर्नुपर्ने तत्कालीन समयमा यही ५ जनाबीच पनि आत्मा खुलेर छलफल भएन । पुष्पगोपालप्रति शङ्का गर्न थालियो । भेटघाट र जमघट पातलिँदै गयो तर केही समयपछि नै आचरणगत आरोपका कारण डा. मथुरा भरतपुर अस्पतालबाट काठमाडौँ सरुवा भए । दिदीको सरुवा भएपछि पुष्पगोपाल पनि दिदीका साथमा काठमाडौँ गए । यता भट्टले पुनः साङ्गठनिक सक्रियतामा चासो बढाए । भेटघाट र छलफल तीव्र पारे । अन्त्यमा वि.सं. २०२४ को अन्त्यतिर नारायणगढस्थित आफ्नै घरमा भेला गराएर विष्णुबहादुर श्रेष्ठको सचिवत्वमा औपचारिक समिति गठन गराए ।

यो समूहले आपूmलाई नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) नै भन्ने गरेको भए पनि ने.क.पा. को कुनै केन्द्रसँग आबद्धता नरहेका कारण यस समूहलाई केन्द्रविहीन समूहको नामले सम्बोधन गर्ने गरियो । यस समूहका सदस्यहरूले पनि समूहको पहिचान गराउँदा केन्द्रविहीन समूहको नाममा नै पहिचान गराउने गरेका थिए । तसर्थ यो समूहको नाम केन्द्रविहीन समूह रहन गएको देखिन्छ ।

चितवनमा क्रियाशील राणा समिति पञ्चायतपरस्त र पुष्पलाल समर्थक समिति नेपाली काङ्गे्रेससँग सहकार्यका साथ अघि बढ्ने रणनीति अवलम्बन गरिरहेको अवसरमा गठित केन्द्रविहीन समितिले बौद्धिक वर्गमा आफ्नो सङ्गठन विस्तार गर्दैै गयो । विभाजनपूर्वका प्रारम्भिक समितिहरूलाई आआफ्नो प्रभावमा लिन पुष्पलाल समर्थक समिति र केन्द्रविहीन समितिबीच होडबाजी चल्न थाल्यो । यसक्रममा यस समितिको सक्रियतामा केशरबाघ, चम्पानगर, शिवनगरमा प्रारम्भिक समितिहरू गठन भए । त्यसमध्ये केशरबाघको समिति निकै सक्रिय रहेको थियो । उक्त समितिमा नरबहादुर खाँड, वामदेव पौडेल, इन्द्रविलास पौडेल, बालकृष्ण मिश्र र ओमप्रकाश पाण्डे रहेका थिए ।

यस समितिका सचिव विष्णुबहादुर श्रेष्ठ बसाइँसराइका क्रममा पूर्वी नेपाल जाने बेलामा समितिभित्रका एक सदस्य खम्बसिंह कुँवरसँगको सल्लाहमा केशरबाघ इलाका समितिका सचिव नरबहादुर खाँडलाई सचिवको जिम्मेवारी हस्तान्तरण गरिएको थियो । यस समितिमा पदीय जिम्मेवारीका दृष्टिले नरबहादुर खाँड सचिव रहेका भए पनि यो सङ्गठन मूलतः आनन्ददेव भट्टको वरिपरि नै घुमिरह्यो । भट्टको व्यक्तित्व तथा क्रियाशीलताले यो सङ्गठन चितवनका कम्युनिस्ट बुद्धिजीवीवर्गमा निकै विस्तारित भयो ।

केन्द्रविहीन समूहको जिल्ला सम्मेलन

नरबहादुर खाँड सचिव रहेको जिल्ला तदर्थ समितिले वि.सं.२०२५ मा खम्बसिंह कुँवरको घरमा जिल्ला सम्मेलन आयोजना ग¥यो ।सम्मेलनबाट जिल्ला कार्यसमिति गठन भयो । तत्कालीन लिखित दस्ताबेजको अभावमा उक्त सम्मेलनमा गठित जिल्ला समितिका सदस्यहरूको नामावली पनि विवादमुक्त हुन सकेको देखिँदैन । तर पनि विभिन्न स्रोत तथा नरबहादुर खाँडको सचिवत्वमा गठित कार्यसमितिमा रहेका भनिएका विभिन्न सदस्यहरूसँगको साक्षात्कारबाट समितिका अन्य सदस्यहरूमा फणिन्द्र न्यौपाने, यमुना न्यौपाने, आनन्ददेव भट्ट, टेकबहादुर थापा, जगतबहादुर श्रेष्ठ र खम्बसिंह कुँवर रहेको देखिन्छ ।

यस समितिले वि.सं. २०२५ मा जिल्ला अधिवेशन गरी जिल्ला कार्यसिमिति गठन भई विभिन्न समयमा आश्यकताअनुसार सदस्यहरू थप गर्दै जानुका साथै सङ्गठनात्मक गतिविधि पनि सुरु ग¥यो । विशेषगरी आनन्ददेव भट्टको निर्देशनमा परिचालित भइरहेको यस समितिको साङ्गठनिक गतिविधिको केन्द्र वीरेन्द्र कलेज भएको थियो । तत्कालीन समयमा नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशन नामक विद्यार्थी संगठन ने.क.पा. रायमाझी समूहको विद्यार्थी सङ्गठन मानिन्थ्यो । अन्य कम्युनिस्ट समूहले विद्यार्थी वर्गमा साङ्गठनिक विस्तारका लागि ध्यान नदिएको अवसरमा यो समूहले विद्यार्थी वर्गमा ध्यान दियो । वि.सं. २०२६ मा यस समूहको सक्रियतामा टेकबहादुर थापाको नेतृत्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला समिति गठन भयो । यसै गरी शिक्षकहरूमा सङ्गठन विस्तार गर्न शिक्षण पेसामा सम्लग्न विष्णु घिमिरेलाई वि.सं. २०२६ मा पनि समितिमा थप गरियो । युवा वर्गबाट कृष्णबहादुर मरहट्ठालाई समितिमा समावेश गरियो । यसरी नै वि.सं. २०२६ मा दिव्यनगर इलाका समितिका अमिक शेरचनलाई पनि यस समितिमा समावेश गरिएको थिया ।

यस समितिले वि.सं. २०२९ मा दोस्रो सम्मेलन गरी कार्यसमितिमा सामान्य फेरबदल ग¥यो जसमा गेहेन्द्रबहादुर थापा, सोमनाथ घिमिरे र अनेरास्ववियु जिल्ला अध्यक्ष पुष्पराज जमरकट्टेलसमेत जिल्ला कार्यसमितिमा समावेश भए ।

२०७४ कात्तिक १८ गते विहान ७ः३० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :