पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सङ्घर्षका कार्यक्रम

आज उपत्यका बन्द

नेकपा (माओवादी) ले हालै सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको सशक्त विरोध गरेको छ । नेकपा (माओवादी) का महासचिव विप्लवले मूल्यवृद्धिको विरोध गर्दै तत्काल मूल्य घटाउन माग गर्नुभएको छ । पुस ४ गते महासचिव विप्लवले विज्ञप्ति प्रकाशित गरी देशको अवस्था निकै नाजुक बनिरहेको र विगतमा जनताले गरेका सङ्घर्ष र आन्दोलनबाट प्राप्त सीमित अधिकारहरू गुम्दै गएको सन्दर्भमा जनजीविकामा आघात पार्ने गरी मूल्यवृद्धि गरिएकाले तत्काल मूल्य फिर्ता नलिइए सशक्त आन्दोलनमा जानकाु विकल्प नरहेको बताउनुभएको छ ।
महासचिव विप्लवद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ ः
‘गए राति १२ बजे नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मध्यरातमा जनताको ढाड भाँच्ने गरी गरिएको यो मूल्यवृद्धि तुरुन्त घटाउन जोडदार माग गर्छ । हाम्रो पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर निरन्तर सङ्घर्ष गर्दै आएको छ । देशको अहिलेको अवस्था निकै नाजुक बनिरहेको छ । अहिले विगतमा जनताले गरेका सङ्घर्ष र आन्दोलनबाट प्राप्त सीमित अधिकारहरू गुम्दै गएका छन् । नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीवीकामा विदेशी शक्ति, त्यसमा पनि भारतीय विस्तारवादको प्रत्यक्ष हस्तक्षेप बढेर गएको छ । यहाँका दलालहरू यी विदेशी शक्तिको इशारामा नाचिरहेका छन् । वर्तमान संसदीय राज्यव्यवस्थाले नेपाल र नेपाली जनताको भलो गर्न सक्दैन भन्ने कुरा पुनर्पुष्टि भएको छ । यो व्यवस्था र यसका सञ्चालकहरू राष्ट्रघाती र जनघाती हुँदै गएको छ । पछिल्लो क्रममा पेट्रोलियम पदार्थको मूल्य बढ्नु यसको उदाहरण हो । यो मूल्य वृद्धि हुनुको कारण अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको निर्यात गर्ने सङ्गठनले मूल्यवृद्धि भनिएको छ । ओपेकले पेट्रोलियम कच्चा पदार्थको मूल्य त बढाएको छ तर यति भारी मात्रामा वृद्धि गर्नुपर्ने कुनै कारण छैन । विगतमा तोकिएको मूल्य नै अझ पनि बढिरहेको छ । ओपेकका अनुसार आजभन्दा २ महिनाअगाडि प्रतिब्यारेल ४८.१५ डलर थियो । अहिले केवल ५१.८३ डलर मात्र रहेको छ । हिजो अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको ५० प्रतिशत मूल्य घट्दा केवल ५० पैसा, रु. १ का दरले मात्र घटाउने गरेको थियो । तर अहिले प्रतिब्यारेल केवल २ डलर मात्र बढ्दा प्रतिलिटर रु. ४ बढाइएको छ । यसरी अत्यधिक मूल्यवृद्धि गर्नु आयल निगमले गर्दै आएको घोटाला, राज्य सञ्चालकहरूले गर्दै आएको भ्रष्टाचार र कालोबजारीलाई टेवा पु¥याउनुबाहेक अरू कुनै कारण छैन ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिले यातायात, खाद्यान्न, ढुवानी, जनताले प्राप्त गर्ने सेवासुविधालाई प्रत्यक्ष प्रभाव पर्छ । राष्ट्र बैङ्कले जति नै मूल्यवृद्धि घटेको भनिए पनि उपभोग्य बस्तु र सेवासुविधाको मूल्य घटेको छैन । यो मूल्यवृद्धिले जनताको दैनिक जीवनलाई झनै कष्टकर बनाउँछ । तसर्थ यो मूल्य वृद्धिलाई लिएर हाम्रो पार्टी र जनवर्गीय सङ्गठनहरू आन्दोलनमा जान बाध्य भएको छ । उक्त आन्दोलनमा विगतमा झैँ सबै पक्षको सहभागिता, ऐक्यबद्धता, समर्थन र सहयोग अपेक्षा राख्छौँ ।’
यसैबीच नेकपा (माओवादी) निकट जनवर्गीय सङ्गठनहरुले मूल्यवृद्धि र महङ्गीका विरुद्ध पुस ६ गते विहान ९ बजेदेखि १० बजेसम्म १ घन्टे चक्काजाम र ७ गते उपत्यका बन्दको कार्यक्रम घोषणा गरेका छन् । मंगलबार अबेर राष्ट्रिय युवा जनस्वयम्सेवकका अध्यक्ष झकबहादुर मल्ल, अखिल क्रान्तिकारीका पूर्णबहादुर सिंह, मजदुर नेता अनुप शर्मालगायतले एक वक्तव्य जारी गर्दै सो कार्यक्रमको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :