साम्राज्यवादी अतिक्रमण विरुद्ध जनपक्षीय सञ्चार माध्यम चनाखो बन्नुपर्छ : श्रेष्ठ / राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेसविषयक विचारगोष्ठी जारी / अवधारणापत्रमाथि टिप्पणी हुँदै

काठमाडौंः रातोखबर प्रकाशन गृहको आयोजनमा काठमाडौंमा राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेसविषयक विचारगोष्ठी जारी छ ।

कार्यक्रममा रातोखबरका निर्देशक अनिल शर्माले प्रस्तुत गर्नु भएको अवधारणापत्रमाथि परराष्ट्रमामिला विज्ञ हिरण्यलाल श्रेष्ठ टिप्पणी गर्दै हुनुहुन्छ । उहाँले राष्ट्रियता, जनतन्त्र र रक्षाको लागि सञ्चार माध्यमले निरन्तर संघर्ष गरिरहँनु पर्ने बताउनु भयो । साम्राज्यवाद र विस्तारवादी अतिक्रमणको विरुद्ध जनपक्षीय सञ्चार माध्यम सधैं चनाखो रहनु पर्ने उहाँले बताउनु भयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले  ‘बिग मिडियाहरु व्यापारीहरुले सञ्चालन गरेका कारण सर्वसाधारण जनताको आवाजको प्रतिनिधित्व हुन नसकेको’ बताउनुभयो ।

यसअघि प्रेस काउन्सिलका निवर्तमान अध्यक्ष बोर्णबहादुर कार्कीले टिप्पणी गर्नुभएको थियो । ‘राष्ट्रियता, जनतन्त्र र नेपाली प्रेस’ विषयक अवधारणापत्रमाथि क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रभात चलाउनेले टिप्पणी गरिसक्नुभएको छ । अवधारणापत्रमाथि टिप्पणी गर्न वरिष्ठ पत्रकार युवराज घिमिरे पनि कार्यक्रममा उपस्थित हुनुहुन्छ ।

नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नेकपाका सल्लाकार समितिका अध्यक्ष असारे काका, सचिव चित्रबहादुर आले, सदस्य लव प्रधान, नेकपाका केन्द्रीय सदस्य खुमा सुवेदी, कृष्ण अधिकारी र चिरन पुन उपस्थित हुनुहुन्छ ।

रातो खबर साप्ताहिकका प्रबन्ध निर्देशक भीम चापागाईंको अध्यक्षतामा जारी गोष्ठीमा सहभागी अतिथिहरुलाई रातोखबर सम्पादक अशोक सुवेदीले स्वागत गर्नुभयोे । रातोखबर प्रकाशन गृहका सदस्य अम्विका चन्दले कार्यक्रम सञ्चालन गर्नु भएको छ ।

 

२०७४ कात्तिक १० गते दिउँसो १ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :