अक्टोबर क्रान्तिको शतवार्षिकी भव्य रूपमा मनाइँदै

नेकपाका महासचिव विप्लवले खुलामञ्चमा सम्बोधन गर्ने

 

रातो खबर संवाददाता/काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीले अक्टोबर क्रान्तिको शतवार्षिकी भव्य रुपमा मनाउने भएको छ । नेकपाको गत साता पोखरामा सम्पन्न केन्द्रीय समितिको बैठकले काठमाडौँको खुलामञ्चमा कात्तिक आठ गते (अक्टोबर २५ तारिख) दसौँ हजार जनसमुदायको बीचमा अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह आयोजना गर्ने निर्णय गरेको थियो । शतवार्षिकी समारोहलाई प्रमुख वक्ताका रुपमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सम्बोधन गर्नुहुने नेकपाले जनाएको छ ।

रुसमा भी. आई. लेनिनले सन् १९१७ को अक्टोबर २५ (नयाँ पात्रोअनुसार नोभेम्बर ७) मा मजदुरको नेतृत्वमा सशस्त्र सहरी विद्रोह गरी जारको शासन कब्जा गरेर समाजवादी क्रान्ति सम्पन्न गर्नुका साथै सोभियत सत्ता स्थापना गर्नुभएको थियो । रुसी समाजवादी क्रान्ति सम्पन्न भएको एक सय वर्ष पूरा भएको सन्दर्भमा यो वर्षभरि संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरुले उत्सवका रुपमा अक्टोबर क्रान्ति शतवार्षिकी कार्यक्रम मनाइरहेका छन् । अक्टोबर क्रान्ति सम्पन्न भएको रुसमा आगामी नोभेम्बर ४ देखि ९ तारिखसम्म संसारभरका समाजवाद पक्षधरहरुको सहभागितामा शतवार्षिकी मनाउने तय भएको जानकारी आयोजक पार्टीका एक नेता दिमत्रीले दिएका छन् ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीले अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको पूर्वसन्ध्यामा एक अपिल प्रकाशित गर्दै समारोह भव्य रुपमा मनाउन आह्वान गरेको छ । पार्टी केन्द्रीय समितिले ‘अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी भव्य रूपमा मनाऔँ ! वैज्ञानिक समाजवादको बाटोमा दृढतापूर्वक अघि बढौँ !!’ मूल नारा दिएर जारी गरेको अपिलको पूर्ण पाठ यसप्रकार छ: ‘प्रत्येक क्रान्तिको अर्थ हुन्छ, विशाल सङ्ख्यामा जनताको जीवनमा आकस्मिक घुम्ती । यस्तो घुम्तीका लागि समय परिपक्व भएको छैन भने कुनै पनि वास्तविक क्रान्ति हुन सक्तैन । जसरी कुनै व्यक्तिको जीवनमा कुनै पनि घुम्तीले उसलाई धेरै नै सिकाउँछ, उसलाई धेरै नै अनुभव तथा अनुभूति झेल्न बाध्य बनाउँछ, त्यसरी नै क्रान्तिले सम्पूर्ण जनतालाई धेरै कम समयमा अत्यन्त मर्मस्पर्शी र मूल्यवान् शिक्षा दिन्छ ।’
–लेनिन, क्रान्तिको शिक्षा, १९१७ ।

आदरणीय जनसमुदाय !
लेनिनको यो संश्लेषण सन् १९१७ को पुँजीवादी फेब्रुअरी क्रान्ति र वैज्ञानिक समाजवादी अक्टोबर क्रान्तिको बीचका तुफानी दिनहरूको महत्वपूर्ण संश्लेषण हो । क्रान्ति साँच्नै नै जनताको जीवनमा आकस्मिक घुम्ती हो । आकस्मिक घुम्तीको अर्थ हुन्छ हिँडिरहेको सीधा सडकबाट पूर्वानुमान नगरिएको कुइनेटोमा खतरा झेल्दै अर्को बाटोतिर अघि बढ्नु । घुम्तीमा चालकले आफ्नो विपरीतबाट आइरहेको तथा प्रत्यक्ष नदेखिएको सवारीसाधन र आफ्नो गाडी भीरमा जाकिन सक्ने चुनौतीको सामना गर्नुपर्दछ । सन् १९०५ को असफल क्रान्ति र सन् १९१७ को फेब्रुअरी क्रान्तिबाट रुसी जनताले गम्भीर शिक्षा लिएर अक्टोबर क्रान्ति सफल पारेका थिए । हामीले नेपालमा यतिबेला विभिन्न ऐतिहासिक जनआन्दोलन र दस वर्षको ऐतिहासिक जनयुद्धको असफलताबाट मर्मस्पर्शी र मूल्यवान् शिक्षा लिँदै एकीकृत जनक्रान्ति सफल पार्ने अठोट गर्नुपर्दछ । वैज्ञानिक समाजवादी अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा हामीले लिने पहिलो शिक्षा यही नै हो । त्यो घुम्ती पार गर्ने आँट र विवेक पनि हामीसँग हुनैपर्छ किनभने यो कम्युनिस्ट क्रान्तिकारीहरूको ऐतिहासिक कार्यभार हो ।

दोस्रो, लेनिनले संविधानसभाको चुनावको नारा अघि सार्दै त्यसका लागि अस्थायी क्रान्तिकारी सरकारमा भाग लिँदा आफ्ना प्रतिनिधिप्रति कठोर नियन्त्रण र वैज्ञानिक समाजवादी क्रान्तिको लक्ष्यप्रति एक क्षणका लागि पनि आँखा नचिम्लने सर्त राख्नुभएको थियो । अर्को कुरा, अस्थायी क्रान्तिकारी सरकारविरुद्ध विद्रोह गरी अक्टोबर वैज्ञानिक समाजवादी क्रान्ति गरेपछि पूर्वसर्तअनुरूप लेनिनले संविधानसभाको चुनाव गराउनुभयो । क्रान्तिबाट स्थापित राज्यसत्ताअन्तर्गत भएको उक्त चुनावमा समेत बोल्सेबिकलाई हराउन पुरानो सत्ताका अवशेषहरू सफल भएपछि लेनिनले ‘सम्पूर्ण सत्ता सोभियतलाई’ भन्ने नारा दिनुभयो । उक्त सोभियतले संविधानसभालाई विघटन गरी क्रान्तिकारी संविधान जनताका क्रान्तिकारी प्रतिनिधिले बनाएका थिए । त्यसकारण अक्टोबर क्रान्ति त्यस्तो क्रान्ति हो जुन संविधानसभाको चुनावबाट पुँजीवादमै टाँस्सिएन, बरु समाजवादमा अघि बढ्यो । पुरानो राज्यसत्ताअन्तर्गत संविधानसभाको चुनाव गराएर त्यसैबाट नै समाजवादमा पुग्न सकिन्छ भन्दै कल्पनाको खीर खुवाउने धोकेबाज पुष्पकमल दाहाल र बाबुराम भट्टराईको करतूतलाई यतिबेला गहिरो गरी स्मरण गर्दै महान् वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने प्रतिबद्धताका साथ हामीले अक्टोबर क्रान्तिको शतवार्षिकी भव्यतापूर्वक मनाउनुपर्दछ । पुष्पकमल दाहाल र बाबुराम भट्टराईले पुरानो राज्यसत्ता यथावत् राखेर संविधानसभाको चुनावमा भाग लिए र जनताले अरू सबै संसदीय पार्टीभन्दा माओवादी पार्टीलाई बढी स्थानमा विजयी गराए । तर नेपालमा न जनसंविधान बन्यो, न त पुरानो सत्ता ढलेर नयाँ सत्ता प्राप्त भयो । लेनिनले फेब्रुअरी पुँजीवादी क्रान्तिबाट बनेको सत्तालाई समेत ढालेर अक्टोबर क्रान्तिबाट बनेको वैज्ञानिक समाजवादी व्यवस्थाअन्तर्गत संविधानसभाको चुनाव गराउनुभयो । त्यस संविधानसभाबाट पुँजीवादीहरू बहुमतमा आएपछि त्यसलाई विघटन गरेर उहाँले समाजवादी राज्यवस्थाका जनप्रतिनिधिद्वारा समाजवादी संविधान बनाउनुभयो । अतएवः अक्टोबर क्रान्तिले के पुष्टि गरेको छ भने पुरानो राज्यसत्ता यथावत् राखेर जतिसुकै लोकप्रिय पार्टी भए पनि संसदीय चुनावबाट वैज्ञानिक समाजवादी क्रान्ति गर्न सकिँदैन । पुरानो राज्यसत्ता नढालीकन वैज्ञानिक समाजवादी क्रान्ति खोज्नेहरू कि माक्र्सवादको कखरा नबुझेका मूर्खहरू हुन्, होइन भने ती लालझन्डामुनि घुसेका साइलकहरू हुन् । नेपालमा यो सन्दर्भ मर्मस्पशी बनेको छ ।

तेस्रो, पेरिस कम्युनबाट सुरु भएको साम्यवादी क्रान्तिको लहरलाई रुसमा अक्टोबर १९१७ मा सम्पन्न वैज्ञानिक समाजवादी क्रान्तिले गुणात्मक र व्यापक बनाइदियो । रसियाली समाजवादी गणतन्त्र सङ्घ १९२२ मा १५ वटा गणराज्य मिलेर सोभियत समाजवादी गणतन्त्र सङ्घ बन्यो । त्यसपछि क्रमशः १९२४ मा मङ्गोलिया, १९४३ मा युगोस्लाभिया, १९४४ मा अल्बानिया, १९४५ मा पोल्यान्ड र भियतनाम (भियतनाम अन्ततः १९७५ मा अमेरिकासँगको लडाइँमा विजयी भयो), १९४६ मा बुल्गेरिया, १९४७ मा रुमानिया, १९४८ मा चेकोस्लोभाकिया, १९४९ मा चीन, पूर्वीजर्मनी र हङ्गेरी, १९५३ मा कोरिया, १९६६ मा क्युबा र १९७५ मा लाओस र कम्बोडिया समाजवादी गणतन्त्रमा रूपान्तरण भएका थिए । पृथ्वीको आधाभन्दा बढी जनसङ्ख्या र आधाभन्दा बढी भूगोलमा साम्यवादी व्यवस्थाको सङ्क्रमणकालका रूपमा वैज्ञानिक समाजवाद लागू भएको थियो । आज हामीले समाजवादी व्यवस्थामा भएको प्रतिक्रान्ति र क्रान्तिको सन्निकट पुगेका देशहरूको असफलताबाट शिक्षा लिएर मालेमावादी दर्शनको विकाससहित वैज्ञानिक समाजवादी क्रान्तिबाट साम्यवादमा पुग्ने सैद्धान्तिक तथा व्यावहारिक प्रतिबद्धता गर्नु नै अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउनुको सार्थकता रहनेछ । यसका साथै पुँजीवादीहरूले उत्तरसाम्राज्यवादको चरम अवस्थामा पुगेर साम्यवादलाई रोक्ने अनेक दुष्प्रयत्न गरिरहेका छन् । तर उनीहरूकै अति केन्द्रीकरण, निजीकरण, उदारीकरणको आर्थिक आधारमा प्रकट हुने सामाजिक उत्पादन र निजी स्वामित्वको अन्तरविरोधको तीव्रताले साम्यवादको आगमन पनि तीव्र बनेको छ ।

चौथो, अक्टोबर क्रान्तिले ठोस वस्तुको ठोस विश्लेषण गर्न सिकाएको छ र माक्र्सवादलाई लेनिनवादमा विकास गरेको छ । लेनिनले ठोस वस्तुको ठोस विश्लेषण गर्नुभयो र १९०० पछि पुँजीवाद साम्राज्यवादमा पुगेको संश्लेषण गर्नुभयो । दोस्रो अन्तर्राष्ट्रियका ‘महारथीहरू’ बर्नस्टिन, काउत्स्की र प्लेखानोभले पुँजीवादको अवस्था बुझेनन् । लेनिन समाजवादी क्रान्ति गर्न सफल हुनुभयो भने महारथीहरू यथास्थितिमै टाँस्सिए । आज नेपालमा दक्षिणपन्थी अवसरवादीहरूको संसदीय व्यवस्थाबाटै समाजवाद ल्याउने धोकाधडीका विरुद्ध वैज्ञानिक समाजवाद ल्याउने एकीकृत जनक्रान्तिको कार्यदिशा ठोस वस्तुको ठोस विश्लेषण हो । आज साम्राज्यवाद उत्तरसाम्राज्यवादमा पुगेको छ । यसको विशेषता भनेको निगम पुँजीलाई राजनीतिको निर्देशक बनाउनु, पुँजी केही व्यक्तिको हातमा केन्द्रित गरेर वा दुईचारवटा ट्रस्ट, सिन्डिकेट र कार्टेलको मातहतमा विश्वबजार कब्जा गर्नु र प्राकृतिक स्रोत हडप्नु, विज्ञान र प्रविधिलाई आफ्नो नियन्त्रणमा लिने कोसिस गर्नु हो । यसको अर्थ हुन्छ– युद्ध । साम्राज्यवादीहरूका बीच युद्धको अर्थ हुन्छ, गृहयुद्ध र वैज्ञानिक समाजवादी क्रान्तिद्वारा विश्वयुद्धको अन्त्य गर्नु । आज मजदुर र किसानको साथमा मध्यमवर्ग आउन बाध्य छ । थोरै पुँजीपतिले एउटै छानोमुनिबाट व्यापक बजार र राजनीतिक व्यवस्था कब्जा गरेपछि मध्यमवर्ग बाँच्ने स्थान सीमित भएर जान्छ । उसको माथितिर उक्लने अवसर बन्द हुँदै गएको छ । त्यसकारण नेपाल र विश्वमा दलाल पुँजीवाद तथा साम्राज्यवादका विरुद्ध किसान, मजदुर र सिपाहीहरू मात्र होइन, बरु मध्यमवर्ग पनि थपिएको छ । यसले गर्दा पनि एकीकृत जनक्रान्तिको कार्यदिशा सही साबित हुँदैछ । विज्ञान र प्रविधिमा भएको क्रान्ति पनि एकीकृत रूपमा आएको छ । यसले हाम्रो कार्यदिशाकै पुष्टि गर्दछ ।

पाँचौँ, हामी अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा यो घोषणा गर्न चाहन्छौँ, हाम्रो मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिवाद–माओवाद हो । हामी यसको आधारमा उभिएर यसको विकास गर्न चाहन्छौँ । यसको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । यसको काम हो, संसारलाई बुझ्ने र बदल्ने । तर समाजवादी क्रान्तिमा भएको प्रतिक्रान्ति र विजयको सन्निकट क्रान्तिमा भएको असफलताले बुझ्ने र बदल्ने कुराले मात्र पुग्दैन, बरु बदलिएको कुरालाई एवम् अग्रगामी रूपान्तरणलाई रक्षा र विकास गर्नुपर्दछ । हामीले भनेका छौँ, विपरीतहरूको एकता र सङ्घर्ष सबै वस्तुहरूमा यान्त्रिक ढङ्गले लागू हुँदैन । पार्टीमा अन्तरसङ्घर्ष दुई लाइन सङ्घर्षमा पुगेपछि अग्रगामी रूपान्तरण नहुने स्थितिमा विजातीय तत्वसँग अन्तिम छिनोफानो गर्नुपर्दछ । विपरीतहरू एक–अर्कोमा रूपान्तरण हुन्छन् । विगतमा जस्तै पार्टीभित्रका प्रचण्ड स्थायी रूपमा पक्ष र बाबुराम स्थायी रूपमा विपक्ष भइरहन दिनु गतिको नियम नबुझ्नु हो । त्यही कारणले गर्दा बाबुरामले प्रचण्डलाई निले र आज त्यो पार्टी विघटन भएर प्रतिक्रियावादमा जाकिन पुग्यो । त्यसका प्रमुख नेताहरू साम्राज्यवादका चाकर बनेका छन् ।

हामीले एकीकृत जनक्रान्तिद्वारा वैज्ञानिक समाजवादमा पुग्ने रणनीति बनाएका छौैँ । प्रश्न उठेको छ, नयाँ जनवादी रणनीति छोडियो कि ? उत्पादन प्रणालीमा विज्ञान र प्रविधिको व्यापक उपस्थितिले माओको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक देशमा गरिने नयाँ जनवादी क्रान्ति अथवा पुँजीवादी क्रान्तिमा तीव्रता ल्याएको छ । नेपालमा सामन्तवादको नेतृत्व ढलेको छ । सामन्तवादी अवशेष, नोकरशाही पुँजीवाद र दलाल पुँजीवादको नेतृत्व दलाल पुँजीवादले नै गरेको छ । नेपाली शोषित–उत्पीडित जनता त्यसका विरुद्ध उभिएका छन् । दलाल पुँजीवादका विरुद्धको एकीकृत जनक्रान्तिको प्रक्रियामा नै पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेर हामीले वैज्ञानिक समाजवादी गणतन्त्र नेपाल घोषणा गरी अघि बढ्नु आवश्यक छ । नेपालमा राजनीतिक रूपले जुन संसदीय व्यवस्था छ त्यसको विकल्प पुँजीवादी जनवादी क्रान्ति हुन सक्तैन । यसका साथै चीनमा जस्तै १९४९ मा नयाँ जनवादी क्रान्ति र १९५७ मा गएर समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने यान्त्रिक भ्रममा कोही पनि पर्न हुँदैन । माओले समाजवाद लागू गर्न खोजेको १९४९ देखि नै हो । यसमा विलम्ब हुँदै जाँदा ल्यु साओची र देङ स्याओपिङले अझै पँुजीवादको विकास गर्न आवश्यक छ, पिछडिएको अर्थतन्त्र र उन्नत समाज व्यवस्था अन्तरविरोधी हुन्छ भनेर प्रतिक्रान्ति गर्न खोजेका थिए । त्यसकारण आजको परिस्थितिको सम्बोधन गर्नुपर्ने, संसदीय व्यवस्थाको विकल्प दिनुपर्ने र प्रतिक्रान्तिबाट बचाउन वैज्ञानिक समाजवादको रणनीति नै सही हुन्छ ।

आदरणीय जनसमुदाय !
यतिबेला साम्राज्यवादीहरू अत्याधुनिक हतियारको होडबाजीमा छन् । यसको उद्देश्य हो, प्राकृतिक स्रोत र बजार कब्जा गर्नु । उनीहरूले निगमद्वारा राजनीतिको कमान्ड गर्दैछन् । यसको परिणाम विश्वयुद्ध हुन्छ । नेपालमा साम्राज्यवादका दलाल र कथित वामहरूले नवप्रतिक्रियावादी गठबन्धन गरेर क्रान्तिका उपलब्धिहरू नष्ट गर्दै क्रान्तिको विजय रोक्ने साधनहरूको भूमिका खेल्दैछन् । अर्कोतिर पुराना सत्ताधारी पार्टीहरू अर्को गठबन्धनमा जोडिएका छन् । उनीहरूलाई दुई पार्टी व्यवस्थामा पु¥याएर क्रान्तिको गला रेट्ने र पालैपालो सरकारमा लिएर नेपालका प्राकृतिक साधनको दोहन र बजार कब्जा गर्ने साम्राज्यवादी उद्देश्य रहेको छ ।

त्यसकारण हामी अक्टोबर समाजवादी क्रान्तिको यो शतवार्षिकीका अवसरमा किसान, मजदुर, सिपाही, राष्ट्रिय पुँजीपति र देशभक्तहरूलाई वैज्ञानिक समाजवादको स्वागत गर्ने तयारी र पूर्वाभ्यास (रिहर्सल) मा अघि बढ्न जोडदार आह्वान गर्दै न्यानो अभिनन्दन टक्र्याउँछौँ । विश्वका श्रमजीवी र उत्पीडित जनताहरूलाई यो दिवसमा सहभागी हुँदै समाजवादको रणनीतितिर अघि बढ्न आह्वान गर्दछौँ ।

अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा नेपाली शोषित–उत्पीडित जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँको खुलामञ्चमा अक्टोबर २५ (कात्तिक ८) मा भव्य जनसभाको आयोजना गरिएको छ । उक्त जनसभालाई महासचिव कमरेड विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हामी विभिन्न तह र तप्काका जनसमुदायलाई उक्त सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।

२०७४ कार्तिक १ गते अपरान्ह २ः०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :