हत्या आरोपी गच्छदार काङ्ग्रेसमा

रातोखबर संवाददाता/वीरगञ्ज: २०३८ साल मङ्सिरमा विराटनगरको अखिलको जुलुसमा विजयकुमार गच्छदारले गोली प्रहार गरेर विद्यार्थी नेता फणिन्द्र तिमल्सिनाको हत्या गरेको आरोप उनीमाथि लाग्दै आएको छ । त्यसपछि आक्रोशित विद्यार्थीले उनलाई पिटी आँखा फुटाइदिएर फालेका थिए । उनको एउटा आँखा अझै ‘ड्यामेज’ छ । गच्छदार त्यसबेला नेविसङ्घका नेता थिए । २०६४ सालमा गिरिजाप्रसाद कोइरालासँग पदको भागबन्डा नमिलेका कारण उपेन्द्र नेतृत्वको फोरममा प्रवेश गरेका थिए । उपेन्द्रसँग पनि पद बाँडफाँटमा कुरा नमिलेपछि गच्छदारले फेरि फोरमबाट फुटेर फोरम लोकतान्त्रिक गठन गरेका थिए । १० वर्षपछि सोमबार गच्छदार पुनः नेपाली काङ्ग्रेसमै फर्किए । उसबेला नेपाली काङ्ग्रेसले मधेसको भावना नसमेटेको आरोप लगाएका गच्छदारले अहिले काङ्ग्रेसले मधेसलाई कसरी सम्बोधन ग¥यो त ? त्यसको चित्तबुझ्दो जबाफ दिन सकेका छैनन् । फोरमसँग भागबन्डा नमिलेको र गत स्थानीय चुनावमा गच्छदारको दलले अपेक्षित परिणाम ल्याउन नसकेपछि अस्तित्वरक्षाका लागि उनी पुरानै पार्टीमा फर्केको विश्वास गरिएको छ । काङ्ग्रेसले गच्छदारलाई ६ जना प्रत्यक्ष र ६ जना समानुपातिकमा उम्मेदवार बनाउने भएपछि उनी काङ्ग्रेसमा प्रवेश गरेका हुन् । उनले वाम गठबन्धनका विरुद्ध प्रजातन्त्रको रक्षार्थ काङ्ग्रेसमा प्रवेश गरेको बताएका छन् । २०४६ सालयता सधैँ मन्त्री रहिआएका गच्छदार घोर अवसरवादी नेताका रूपमा चिनिन्छन् ।

२०७४ कार्तिक १ गते ११ः५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :