गिरफ्तार गरिएकाहरूलाई रिहा गर : नेकपा

काठमाडौं : असोज १० गते चितवनको भरतपुर बजारमा बाटोमा हिँडिरहेको बेला नेकपाका विदेश विभाग सदस्य नारायण न्यौपाने ‘पावेल’ र १२ गते नेकपाका जिल्ला सदस्य सुशील कोइरालालाई गिरफ्तार गरिएको छ । गिरफ्तार गरिएका दुवैजनालाई टाँडी प्रहरी कार्यालय चितवनमा राखिएको छ । उनीहरू दुवैजनालाई असोज १ गते रत्ननगर नगरपालिकाको भ्रष्ट इन्जिनियर प्रकाश ढुङ्गानालाई कालोमोसो दलेको विषयलाई लिएर पक्राउ गरिएको हो । आफ्ना कार्यकर्ता बिनाकारण पक्राउ गरी दुःख दिएको भन्दै नेकपा चितवनका जिल्ला इन्चार्ज लालबहादुर बीसीले एक विज्ञप्ति जारी गर्दै झूट्टा मुद्दा खारेजी गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

उता प्रहरीद्वारा गिरफ्तार गरिएका सुनसरी बराह नगरपालिका भरौल घर भएका नेकपाका जिल्ला सदस्यहरू सिंहबहादुर तामाङ र दुहबी नगरपालिका ३ घर भएका रमेश न्यौपानेलाई जेल चलान गरिएकोमा मंगलबार रिहा गरिएको छ । असोज ८ गते घरमै बसिरहेको बेला उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको हो । कोसी बाँध बाढी नियन्त्रणको भारतीय गाडी तोडफोड गरेको आरोपमा उनीहरूलाई गिरफ्तार गरिएको हो । यसैबीच नेकपाका सुनसरी जिल्ला इन्चार्ज प्रज्वल श्रेष्ठले नेपाली भूमिमा दर्जनौँ भारतीय गाडीहरू निर्बाध रूपमा प्रवेश गरी गिट्टीबालुवाको तस्करी गर्ने र जनतालाई दुःख दिने गरेको परिवेशमा भारतीय गाडीमाथि कारबाही भएको बताएका छन् । उक्त कारबाहीको आरोपमा बिनाकारण आफ्ना निर्दोष कार्यकर्तालाई गिरफ्तार गरी प्रशासनले ठूलो धरौटी माग गरेको पनि सुनसरी इन्चार्ज प्रज्वलले बताएका छन् ।

यसैबीच नेकपा प्युठानले विभिन्न शक्तिकेन्द्र, गुन्डागर्दी र राजनीतिक आडमा जिल्लामा अनियमितता र भ्रष्टाचार मौलाउँदै गएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला इन्चार्ज चिन्तामणि घिमिरे र सेक्रेटरी दधिराम सुवेदीद्वारा जारी संयुक्त प्रेसविज्ञप्तिमा स्थानीय जनताहरूबाट भ्रष्टाचार र अनियमिततासम्बन्धी थुप्रै गुनासा र उजुरीहरू प्राप्त भएको पनि बताइएको छ । साथै विज्ञप्तिमा जनसरोकारका यस्ता विषयमा सजक रहन पनि सम्बन्धित पक्षलाई आग्रहसमेत गरिएको छ । यसैगरी नेकपाका रौतहट जिल्ला सदस्य कञ्चन लामालाई आज अपरान्ह घरबाटै गिरफ्तार गरिएको खबर प्राप्त भएको छ ।

२०७४ असोज २७ गते साँझ ६ :१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :