एक हुल मान्छे

कविता

एक हुल मान्छे
पोहोर पनि बाकस लिएर आए
बाकस भरेर पनि गए
फेरी यसपाली पनि आए
अघिपछि बन्दुक र लाठी बोकेका
मान्छे लिएर आए

 

बुझ्ने भएदेखि यो दृष्य देखिरहेकै
छु
सपनाका गुलिया मन्द विष पिलाएर
बाकस भर्न लाएपछि
उनीहरूको यो खेल सकिन्छ ।
खेल सकिएसँगै
अस्मिता लुटिएको एउटा परी झैं
हाम्रा मनहरू लुटिन्छन्
खुशीका उल्लासमा रम्ने आभाहरू
खोसिन्छन्
बर्सौंदेखि खोसिए खोसिँदैछन्
खोसेर रमाउने हुलका विरुद्ध
आवाज निकाल्नेहरूलाई
तिनै लाठी बन्दुकहरूले कैद गरे
कैद गरेर भरेका बाकसहरू
खोलिन्छन्, गनिन्छन् जीत हारका
फरमान जारी हुन्छन्

बर्सौंदेखि भोका, नाङ्गा
आत्माहरूलाई
विषालु सर्पले डसेझैं
डस्दै उनीहरूको अस्थिपञ्जर
बनाइन्छ
अस्थिपञ्जरको अत्तोपहारलाई
सोकेसमा सजाएर
विश्व बजारमा पठाइन्छ
दातृ निकायका डलर साटिन्छ
साटिएका डलरसँगै
जितको फर्मान सुनिनेहरूको
उल्लासमय रङ्गीन भोजहरूले शहर
गुञ्जिन्छ

मन खोक्रो बन्छ तन रित्तिन्छ
तिनीहरूले बनाएको जाली तमसुकले
आफू लुटिएको थाहा पाएपछि
विद्रोहका स्वरहरू गुञ्जिन्छन्
उज्यालाका निमित्त मसालहरू
बल्छन्
उज्यालोको खोजिमा जुनकिरी झैं
त्यो अत्तेपहार निस्कन्छ लमकन्छ
जलाउँछ उनीहरूको स्वर्गे
भत्काउँछ उनीहरूको महल
बर्सौंदेखि जाली तमसुकमा सही
छाप गर्न लगाएर
इन्क्लाब गर्छ ।

२०७४ असोज २३ गते मध्यान्न १ :१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :