वाम ध्रुवीकरणको अन्तरकथा

काठमाडौं : मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका बीचमा चुनावी तालमेल गर्ने र सो चुनावी गठबन्धनलाई पार्टी एकतासम्म पुर्‍याउने भन्दै सार्वजनिक घोषणा गरेपछि दसैंको रौनक र चर्चालाई एकाएक राजनीतिक कुतूहलताले ढाकेको छ । आखिरी यो किन ? देशभित्र र बाहिरका शक्ति केन्द्रहरूको त्यसमा के कस्तो भूमिका छ ? जस्ता प्रश्नहरू उठेका छन् ।

यो घटनामा छिमेकी चीनको भूमिकालाई मुख्य कारकका रूपमा हेरिएको छ । एमाले–माके गठबन्धन भारतको इसारामा भत्केको चर्चा उतिबेला नै भएको थियो । त्यसबेलादेखि नै चीनले अझ ठूलोे स्तरको वाम मोर्चा बनाउन प्रयास गरिरहेको अनुमान थियो । एमाले अध्यक्ष वलीको मानसरोवर भ्रमण पर्यटन वा तीर्थाटन नभएर राजनीतिक यात्रा नै भएको र ल्हासाको एक होेटलमा गोप्य रूपमा चिनियाँ उपराष्ट्रपतिसँग भेटघाट भएपछि नै वर्तमान गठबन्धनको बीजारोपण भएकोे एमाले स्रोतको दाबी छ । स्रोत भन्छ – चिनियाँ पक्षले वलीलाई प्रचण्डलाई वाम गठबन्धनमा फर्काउने हाम्रो जिम्मा भयो, अरू काममा एमालेले भूमिका खेल्नुपर्‍यो’ भनेका थिए । त्यसपछि नै एमाले र माकेभित्रका गठबन्धन पक्षधरहरू सक्रिय भएका थिए ।

वाम गठबन्धनको दोस्रो ‘फ्याक्टर’ दिल्ली ठानिएको छ । दिल्लीले १२ बुँदे सहमतिमार्फत जनसत्ता, जनसेना, क्रान्तिकारी पार्टी, भारत विरोध र भारतसँग अन्तरविरोध राख्दै आएका दरबारलाई समेत विघटन गराएको छ । जनयुद्धको नेता ‘प्रचण्ड र माओावादी’ शब्दसमेत विसर्जन गर्न चाहन्छ । ‘वाम ध्रुवीकरण त्यसको लागि सहज विकल्प ठानिएको हुन सक्छ’ एकजना वाम विश्लेषक भन्छन् । वाम गठबन्धनको सम्भावित दिल्लीस्वार्थमा हुन सक्ने प्रतिकूलतालाई ‘लोकतान्त्रिक गठबन्धन’ द्वारा नियन्त्रण गर्न सक्ने दिल्लीको आँकलन छ । त्यसका लागि कांगे्रस, फोरम र राजपाबीचमा पहलकदमी भइसकेको ती विश्लेषकको बुझाइ छ । ‘प्रचण्ड र माओवादी’ पदावलीको विसर्जन भइसकेपछि आफ्नो स्वार्थ प्रतिकूल भएमा माधव नेपाल, विष्णु पौडेल, बाबुराम भट्टराई, पार्थ क्षेत्री, वामदेव क्षेत्री, प्रभु शाहलगायतका नेताहरूलाई प्रयोग गरेर फेरि पार्टी विभाजन गराउने वा चुनावमा भारतपरस्तलाई छानीछानी जिताउन ठूलो लगानी गर्ने विकल्पमा समेत दिल्ली पुगेको ठानिन्छ ।

वाम गठबन्धनको तेस्रो कारक प्रचण्ड आफैं हुन् । उनलाई जसरी पनि एकपटक राष्ट्रपति हुनुछ । त्यसका लागि सबैभन्दा ठूलो दल वा त्यसको समर्थन चाहिन्छ । केपी वलीलाई प्रधानमन्त्री र प्रचण्डलाई राष्ट्रपति बनाउने सहमतिमा सम्पर्क सूत्रहरू पुगेका र त्यसमा सबैको समर्थन भएको ठानिन्छ ।

चौथो कारक, माधव नेपाल हुन् । उनलाई वलीको विकल्प शक्ति तयार गर्नु छ । बाहिरकालाई एमाले नजिक ल्याउन उनको विशेष भूमिका रहेको ठानिन्छ । तराईको स्थानीय तहको चुनावमा नेपालको निर्वाचन क्षेत्रमा भएको एमालेको दुर्बलताले माधव नेपाललाई वाम ध्रुवीकरण गर्ने हुटहुटी पैदा गरिदिएको छ ।

वाम ध्रुवीकरणको पाँचौँ कारक वली र भट्टराई हुन् । तराईको स्थानीय तहको चुनावमा पार्टी चौथो तहमा पुगेकोले उनी आन्तरिक दबाबमा छन् भने माधव नेपाल पक्षको वाम ध्रुवीकरणमा मुख्य पहल भएको कारण मात्र होइन, जनयुद्धकालदेखि नै नेपाल–प्रचण्ड निकटता रहेका कारण आन्तरिक सन्तुलनका लागि वलीलाई बाबुराम भट्टराई ल्याउन बाध्यात्मक अवस्था सृजना भएको ठानिन्छ । हाल बाबुराम निराश भएको अवस्था छ । गोर्खाको एउटा सर्वदलीय प्रतिनिधि मण्डललाई केही दिनअघि भेट्दै भट्टराईले ‘‘फरक–फरक दृष्टिकोण भए पनि किरण र मेरो स्वाभाव मिल्छ । हामी विचार, राजनीति र अलि टाढाको दृश्य हेर्छाैं; प्रचण्ड तत्कालको नाफाघाटा, सन्तुलन खेल खेल्न माहिर छन् । राजनीतिमा कार्यनीति मिलाउन नसक्दा क्षति हुने रहेछ’’ भनेका थिए । यस्ता थुप्रै ‘फ्याक्टर’ वाम ध्रुवीकरणमा कारक बनेर आएका छन् । वाम ध्रुवीकरणले सरकार ढल्यो भने चुनाव आगामी वैशाख–जेठका लागि सर्ने चर्चा पनि वाम ध्रुवीकरणको चर्चासँगै उठेको छ । वैचारिक राजनीतिक रूपले संसदीय राजनीतिलाई स्वीकार गरेका दलहरू चुनावमा एउटै झन्डामुनि उभिनु अनिवार्य थियो । तराईको चुनावले उनीहरूलाई संकटको घन्टी बनाइसकेको थियो । तसर्थ, मंगलबार घोषणा भएको वामपन्थी चुनावी तालमेल र पार्टी एकताको घोषणालाई चुनावीस्वार्थको स्वाभाविक प्रक्रिया भएको र त्यसले राष्ट्रियता तथा जनतन्त्रमा कुनै सकरात्मक प्रभाव नपर्ने’ नेकपाका महासचिव विप्लवको धारणा छ । कतिपय विश्लेषकहरूले पछिल्लो समयमा एमालेले लिएको दिल्ली अडानमा समेत स्खलन आउन सक्ने आँकलन गरेका छन् ।

वाम ध्रुवीकरणको पछिल्लो प्रयास एमालेको पहलमा भए पनि प्रचण्डले शान्ति प्रक्रियामा आएलगत्तै २०६३ मा भएको होलिल्यान्ड भेलामा ‘नाम पछाडिको पुच्छर हटाएर भए पनि एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्नुपर्छ’ भनेका थिए तर एमालेले पहिलो संविधानसभाको निर्वाचनमा लचकतासमेत अपनाउन सकेनन् । दोस्रो संविधानसभाको पूर्वसन्ध्यामा प्रचण्ड बालकोटस्थित वली निवासमा पुगेर पार्टी एकताको प्रस्ताव नै राखे तर पनि एमालेले गम्भीरतापूर्वक लिएन । प्रचण्डलाई पचाउन सकिन्छ भन्ने आँट नै एमालेमा नभएको र विघटन गराएर कार्यकर्ता तान्ने एमाले राजनीतिका कारण प्रचण्ड बिच्किएर कांग्रेससँग गठबन्धन गर्ने प्रतिक्रियात्मक निर्णयमा पुगेको माधव नेपाल पक्षको बुझाइ छ । आसन्न चुनावको दबाब, तराईमा वामपन्थी दलहरूको कमजोर उपस्थिति र चिनियाँ पक्षको दबाब यो त्रिकोणात्मक दबाबपछि मंगलबारको तालमेल तथा एकताको घोषणा सहमति भएको सर्वत्र विश्वास गरिएको छ ।

२०७४ असोज १९ गते अपरान्ह २ :२० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :