कोरियालाई आत्मरक्षाको अधिकार छ – धर्मेन्द्र बास्तोला

काठमाडौं : उत्तरकोरिया र अमेरिकाको बीचमा तनाव बढिरहेको र विश्व धु्रवीकृत भैरहेको बेला नेकपा उत्तरकोरियाको पक्षमा उभिएको छ । नेकपा, विदेश विभागद्वारा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सो पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले उत्तरकोरियालाई आत्मरक्षाको अधिकार भएको बताएका छन् । अमेरिकाले उत्तर–दक्षिण कोरियाको सिमा क्षेत्रमा थाड नामक प्रतिरक्षा प्रणाली जडान गरेको छ । त्यसले शत्रु पक्षको आक्रमणको पूर्व सुचना प्रदान गर्दछ र शत्रुको हतियारलाई निसानामा पुग्नु अगावै खसाल्छ ।

सन् १९६८ मा रुस र अमेरिकाको बीचमा आणविक अप्रचार सन्धि भयो । विनासकारी हतियार नस्ट गर्ने सहमति भयो । तर दुवै देशले थोत्रा केही नस्ट गरे अथवा तेस्रो देशलाई विक्री गरे । यथार्थमा होडबाजी जारी नै छ । त्यसपछि अरु देशलाई पनि विनासकारी हतियार बनाउन नपाउने प्रस्ताव संयुक्त राष्ट्र संघद्वारा पारित गरियो । त्यसले आणविक हतियारमा केही देशको एकाधिकार भयो । त्यसैले आणविक हतियार अप्रचार सन्धि अमेरिकाले नै नमानेको कारण उत्तरकोरियालाई पनि आत्मरक्षाको लागि सो हतियार निर्माण गर्ने अधिकार छ । नेता कञ्चनले ‘अमेरिका शान्ति र समृद्धि होइन, युद्ध र गरीबी उत्पादन गरिरहेको’ आरोप पनि लगाए । प्रम देउवाले संयुक्त राष्ट्रसंघको महासभामा उत्तर कोरियाको सम्बन्धमा राखेको धाराणा नेपाली जनमतको विपक्षमा भएको भन्दै त्यसलाई आफ्नो पार्टीले अविस्कार गर्ने बताए । सोही कार्यक्रमका अर्का वक्ता सुरेन्द्र केसीले विश्व युद्धतर्फ धकेलिंदै गएको र कोरियालाई आत्मरक्षाको अधिकार भएको’ बताएका थिए । सोही कार्यक्रममा वक्ता फणिन्द्र नेपालले ‘भारत र अमेरिकाले चीनलाई टुक्रा गर्न हात धोएर लागि परेको’ आरोपसमेत लगाएका थिए । अर्का वक्ता वरिष्ठ अधिवक्ता एकराज भण्डारीले ‘कोरियामाथिको अमेरिकी हस्तक्षेप प्राकृतिक न्यायको सिद्धान्तको विरुद्ध भएको’ जिकिर गरेका थिए । अमेरिकाद्वारा उत्तरकोरियामाथि भएको हस्तक्षेपले विश्व युद्धको खतरा पैदा भएको र त्यसो भएमा त्यसको सम्पूर्ण जिम्मा अमेरिका र राष्ट्रपति ट्रम्पले लिनुपर्ने माके नेता सुरेश आलेमगरले लगाएका थिए । कार्यक्रममा सिपी मैनाली, हस्तबहादुर केसीलगायत नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

२०७४ असोज १० गते  अपरान्ह ४ : ४९ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :