शाहीसत्ताद्वारा बलात्कृत किशोरीहरूको कथा

२०५७ साल वैशाख १० गतेshanta-shrestha
त्यो दिन बिहानै मनुजी (श्रीमती मनु हुमागाईं) दुईवटी केटीका साथमा मेरो घरमा आइपुगिन् । तीनैजनाले जुत्ता फुकाली मलाई बडो शिष्टतापूर्वक नमस्कार गरे । सारै अप्ठ्यारो र असजिलो मानी मेरो कोठाभित्र बसे । ती केटीहरूलाई मनुले भनिन्, ‘यता बस ।’
दुवै केटीहरू सोफामा नबसी तल कार्पेटमाथि सारै नै खुम्चेर बसे । तिनीहरूको अनुहार एकदमै अँध्यारो थियो । पहिरन पनि अत्यन्त साधारण— पुरानो सलवार, कुर्ता र ओढ्नी ओढेका थिए । आधा अनुहार त ओढ्नीभित्रै थियो । मेरो मनमा कुरा खेलिहाल्यो । ती केटीहरूलाई काममा लगाइदिन भन्न आएकी होलिन् मनु । मैले के काममा लगाइदिन सकुँला ? मेरो मन कोठामा नअटाई बाहिर पुग्न थाल्यो— सम्भावित कामको खोजीमा । मैले चिनेजानेका आफन्तहरूको मन छाम्न पुगेँ ।
‘Ò दिदी ! मैले बारम्बार यी नानीहरूका बारेमा तपाईंलाई जानकारी दिएकी थिएँ । आज साक्षात्कार गर्न ल्याएँ । यी नानीहरू सामूहिक बलात्कारका सिकार हुन्Ò।’
म स्तब्ध भएँ । एकाएक मेरो कोठा अँध्यारो भयो । पूर्वमा उदाएको सूर्य पूर्वमै अस्ताएको देख्न थालेँ । मैले ती नानीहरूको अनुहार हेर्न सकिनँ । कठै ! किशोरी अवस्थामा उकालिँदै गरेका कर्कलोको पातमाथिको शीतको थोपाजत्तिकै चम्किलो, ओठ निचोरे दूध निस्किएलाजस्ता नानीहरू सामूहिक बलात्कारका सिकार ?! मनमा अनेकौँ कुरा खेलाउँदै बिस्तारै तिनीहरूको अनुहार हेरेँ । दुवैजनाको अनुहार खुट्टामाथि घोप्टिएका थिए । मानौँ अन्धकार भविष्यको फाँटमा टेक्दै मेरो कोठासम्म आइपुगेका खुट्टासित प्रश्न गरिरहेका थिए— अब यहाँबाट कहाँ पुग्नुपर्ने हो ? खुट्टाका औँलाहरूलाई मायाले सुम्सुम्याइरहेका थिए कलिला हातका औँलाहरूले । नाक रसाइरहेकाले बारम्बार रुमालले नाक पुछिरहेका थिए । विरह, व्यथा र अन्योलपूर्ण भविष्यले मलीन अनुहार, अत्यन्त सुस्त शरीर, आँसु चुहिरहेका दुई जोडी आँखा, खुट्टामाथि घोप्टिएको अन्योल अवस्थाले मेरो मुटु छामेको आभासले म चिसो छट्पटीमा थिएँ । कोठा चुपचाप र स्तब्ध थियो । मानौँ मानवशून्य झ्यालखाना । कोठाको मौनता भङ्ग गर्दै मैले भनेँ, ‘मनुजी ! पहिले हामी केही खाऊँ । अनि कुरा गरौँला हुन्न ?’
‘चिया त खाएरै आएका हौँ दिदी, दुःख नगर्नुस् ।’
‘मलाई केको दुःख ? यो त मेरो सौभाग्य हो यी नानीहरूसित बसी चिया खान पाउनु । तपाईंहरू यी पत्रिकाहरू हेर्दै गर्नुस्, म ५ मिनेटमै आउनेछु ।’
मनुजी दुःख नगर्नुस् भनी कराउँदै थिइन्, म माथि बुइँगलमा पुगिहालेँ । चिया, फुल र बिस्कुट लिई तल कोठामा आएँ । तीनैजनालाई चिया खान आग्रह र अनुरोध गरेँ । ती नानीहरूले मनुजीलाई पुलुक्क हेरे । उनले भनिन्, ‘खाऊ । अप्ठ्यारो मान्नु पर्दैन । दिदी ! तपाईं पनि खानुस् न ।’
‘म चिया मात्र खान्छु ।’
नानीहरूका अनुहार घोप्टेका घोप्टेकै थिए । हातका औँलाहरू बिस्कुटमा खेल्न थाले । नाक बढी रसाएकाले रुमालले पुछ्दापुछ्दा नाकको टुप्पा रातो भइसकेको थियो । मैले नरोऊ पनि भन्न सकिनँ ।
‘चिया सेलाउँछ । खाइहाल न’, मनुले भनिन् ।
कठै ! आमाबाबुको छत्रछायामा खेल्दै लेखपढ गरी भविष्य सपार्ने स्वर्णिम समयमा घृणित, अत्याचारी, राक्षस प्रहरीहरूबाट गरिएको सामूहिक बलात्कारले अर्धजीवित अवस्थामा कहिलै निको नहुने घाउ लिएर बाँच्न बाध्य छन् यी नानीहरू !
‘दिदी ! यी नानीहरूको विहङ्गम व्यथाका बारेमा मैले तपाईंलाई केही त जानकारी गराइसकेकी थिएँ । अब यिनीहरूकै मुखबाट सुन्नुस् जल्लाद प्रहरीहरूको सामूहिक बलात्कारको सिकार कसरी भएका थिए । यिनी सुश्री दिव्यज्योति थापा, वर्ष सत्रकी । यिनी कुमारी निर्मला पुन वर्ष तेह्रकी ।’
दिव्यज्योति थापा— नामअनुसारको रूप र रङ । गोरो अनुहारमा नाक, मुख, आँखा, शरीर सबै मिलेको थियो । त्यसमाथि उनको शिलस्वभाव आदिबाट उनी कुलीन, खातेपिते, घरानिया, शिष्ट परिवारकी छोरी भएकी उनकै आकृतिले औँल्याएको थियो ।
त्यस्तै निर्मला पुन— ताम्र वर्णकी थिइन् । उनको अनुहारमा पनि नाक, मुख, आँखा आदि मिलेकै थियो । यसो हेर्दा यिनको अवस्था दिव्यज्योतिको भन्दा केही कमजोरजस्तो देखिन्थ्यो । तर राम्रो संस्कारमा हुर्केकी हुन् भन्ने उनको बसाइ र आकृतिबाट स्पष्ट थाहा पाउन सकिन्थ्यो ।
‘दिव्यज्योति ! तिमीबाटै सुरु गरौँ । तिमीपछि निर्मलाको कुरा सुनौँ ।’
अचानक दिव्यज्योतिको अनुहार रातो भयो । त्यसमा गुलाबी काँढा तिखारिन थाले । आँखा रातो भई अग्नि बर्सिन मात्र बाँकी थियो । उनलाई मुख खोल्न अत्यन्त गाह्रो भैराखेको थियो । रुमालले नाक पुछिरहेकी थिइन् ।
कसरी भन्न सक्छे ? दिउँसै रात पारी आफ्नै आमाको अगाडि आफ्नै आमासँगै बारम्बार बलात्कार गरेका ? त्यति बेला त्यस अवर्णीय बलात्कारको कालो भूकम्प ममाथि नै खनिएको काल्पनिक दृश्यले मेरो मुटु निमोठ्न थालेको थियो । किशोरी जीवनमा योजतिको भयानक र अमानवीय अत्याचार अरू के हुन सक्छ ?
अभैm दिव्यज्योतिको मुखबाट शब्दहरू बाहिरिन सकेका थिएनन् । उनका ओठ कामिरहेका थिए । आँखाबाट बलिन्द्रधारा आँसु बगिरहेको थियो । उनले अनुहार घोप्ट्याएरै बिस्तारै भनिन्, ‘त्यो दिन २०५७ साल मङ्सिर २७ गते थियो । बिहानै प्रहरीहरूले अचानक हाम्रो घरमा हमला गर्न आउँदा म, मेरी आमा र ३ वर्षको भाइ मात्र थियौँ । आमा र मलाई लछारपछार पार्दै भुइँमा लडाए । हातखुट्टा बाँधेर चरम यातना दिए । त्यसपछि खुट्टाको डोरी मात्र फुकाली पशुलाई जस्तै घिसार्दै प्रहरी चौकीतिर लैजाँदै थिए । मेरो ३ वर्षको भाइ चिच्याइचिच्याइ रुँदै थियो । एक घन्टामा पुगिने चौकीमा ४ घन्टाको बाटोबाट घुमाउँदै पु¥याए । आमा र मलाई अलगअलग स्थानमा राखे । बेहोस नभएसम्म यातना दिए सइ रामसिं थापा र राजेन्द्र अधिकारीले । ती दुवै स्याङ्जा निवासी थिए । आमा र मेरो खुट्टामा एउटै साङ्लोले बाँधी बारम्बार ब…।’
त्यसपछि उनी बोल्न सकिनन् । खास्टोले मुख छोपी खुब रोइन् । मनु र म लाचार बन्दै शिर झुकाई किंकर्तव्यविमूढ हुन थाल्यौँ । गहिरोगहिरो उच्छ्वास छोड्नुबाहेक अरू केही भन्न वा गर्न सकेनौँ । हामी दुवैजना आँखामा भरिएको आँसु चूपचाप पिउँदै थियौँ । बिचरी निर्मला पुन डाँको छोडी रुन मात्र बाँकी थिइन् । उनको कलिलो अनुहार निलो हुँदै थियो । हिकहिक गर्दै दिव्यज्योति भन्न थालिन्, ‘एउटै साङ्लोले आमाको दायाँ खुट्टा र मेरो बायाँ खुट्टामा बाँधी बारम्बार बलात्कार गरे । मेरो योनीमा लट्ठी घोचे । म कुन बेला बेहोस भएँ ? चालै पाइनँ । बिहानदेखि पेटमा पानीसमेत परेको थिएन । मरणासन्न हुने गरी यातना, त्यसमाथि सामूहिक बलात्कार । योनीमा लट्ठीले घोचेर घुमाएको पीडा…। त्यति बेला हामी आमाछोरीले भोगेको शारीरिक यातना र अत्याचार मैले कसरी, कुन मुटु लिएर भनूँ ? त्यति बेला मर्न पाएको भए कति जाती हुन्थ्यो ! हामीलाई कालले पनि देखेन । मेरो ३ वर्षको भाइ रुँदै थियो । के भयो उसलाई ? मनमा ठूलो पिर थियो ।’
दिव्यज्योति फेरि रोइन् । यो संसारमा के रहेछ त ? गर्न हुने, गर्न नहुने, पाप र पुण्य ? ती जल्लादहरू जन्मेको पनि त आमाकै कोखबाट न हो । आज कोखको त्यत्रो अपमान ? त्यत्रो अत्याचार ?? त्यत्रो अमानवीय र घृणित कार्य ??? त्यति बेला आकाश किन खस्न सकेन ? पृथ्वी किन फाट्न सकेन ? यही हो मानवीय धर्म ? त्यस कुकृत्यको भत्र्सना कुन शब्दले गर्ने हो ? मेरो शब्दकोषमा शब्दहरू नै रित्तिएका थिए ।
दिव्यज्योति अरू बोल्न सकिनन् । निरन्तर दुवै आँखा बगिरहेका थिए । गहिरो सास फेर्दै मनुले मलाई हेरिन् । मैले मनुलाई हेरेँ । हाम्रो हेराइमा जेलभित्रको कैदीको अवस्थाको लाचारी र आक्रोश थियो । एकाएक मैले भने, ‘दिव्यज्योति, भैगो । मलाई अरू सुन्नु छैन । योभन्दा बढी सुन्नसक्ने मेरो क्षमता छैन ।’
अब आत्मकथा सुनाउने पालो थियो निर्मला पुनको । उनको प्रायः निलो हुँदै आएको कलिलो अनुहार पसिनाले पोतिन थाल्यो । अघिदेखि आँखा त रसाइरहेकै थिए । आफूले भोग्नुपरेको पाशविक घटना भन्न नपरेको भए कति जाती हुन्थ्यो भन्ने भाव उनको आँखाले बताइरहेको थियो ।
‘निर्मला, डराउनु पर्दैन । तिमीमाथि जे बितेको थियो, छोट्करीमा भन । त्यसरी भन्दा तिम्रो मन हलुका हुनेछ । भन बा…बिस्तारै भन…’, मनुले सम्झाउँदै भनिन् । निर्मला पुन टोलाउन थालिन् । उनका दायाँ हातका औँलाहरू भने खुट्टाका औँलाहरूमाथि नै थिए । उनले अचानक भनिन्, ‘म हाम्रो घरको अलि पर पुगेपछि ७÷८ जना प्रहरीले मलाई समाते । ‘माओवादीलाई भात ख्वाउने, पानी पिलाउने तँै होइनस् ?’ भन्दै मलाई कुट्दै र लात्तीले हान्दै लछारपछार पारे । मलाई उत्तानो पारी ३÷४ जनाले समाते अनि पालैपालो मलाई बलात्कार गरे ती पापी–अपराधीहरूले …।’
निर्मला पुन भक्कानो छोडेर रोइन् । हामी तीनैजनाका आँखाले आँसु थाम्न सकेनन् । एकाएक कोठा स्तब्ध भयो । मसानघाटमा परिणत भयो । कोठाभित्र चियाइरहेको सुनौलो घाम पनि ध्वाँसे रङमा परिणत भयो । चुपचापको छाती चिर्दै निर्मलाको हिक्कहिक्क थर्किरहेको थियो । हामीले उनलाई नरोऊ भनी भन्न सकेनौँ । हाम्रो घाँटी पनि आन्तरिक रुवाइले समातिराखेको थियो ।
म जुरुक्क उठी माथि बुइँगलमा गएँ र चिया बनाएर ल्याएँ । निर्मलाका आँखाबाट आँसु बगिरहेकै थियो । दिव्यज्योति आफ्नो पूरा अनुहार खास्टोभित्र लुकाई रुवाइ थाम्ने प्रयत्नमा थिइन् ।
‘निर्मला ! चिया खाऊ । यसरी रुनु हुँदैन । ती जल्लादहरूले तिम्रो मुटुमा अपूरणीय घाउ पारे । त्यसमा साहस र बदलाको धारको मलम लगाई ठीक पार्नुछ । यसबाट तिमीले अवर्णनीय शक्ति र बाँच्नुको अर्थ थाहा पाउनेछ्यौ । खाऊ चिया, नरोऊ । रोयो भने मान्छे कमजोर हुन्छ । कमजोर मान्छेले जीवनमा केही पनि गर्न सक्दैन । तिमीले यो देशमा धेरै काम गर्नुछ’, मैले भनेँ ।
गोरी दिव्यज्योतिको अनुहार रातो भई बाक्लो देखिएको थियो । त्यसमाथि आँसुले भिजेको थियो । ताम्रवर्णकी निर्मलाको अनुहार भने प्रायः निलो थियो । आँखामा आँसु ओभाएको थिएन । दुवैले बिस्तारै चिया खान थाले । एकैछिन सुस्ताएपछि निर्मला भन्न थालिन्, ‘त्यतिबेला अलि माथि खारामा अग्निकाण्ड भएको थियो । त्यहाँ भएका जति सबै घरहरूमा प्रहरीहरूले आगो लगाइदिएका थिए । एकातिर गाउँ ह्वारह्वारती बलिरहेकाले गाउँलेहरू आतङ्कित थिए भने अर्कोतिर मलाई बलात्कार गरिरहेको देखेर मेरी आमा रुँदैकराउँदै र चिच्याउँदै ‘मेरी छोरीलाई बचाऊ’ भनी गुहार मागिरहनुभएको थियो । तिनीहरूले आमालाई समाती कुट्दै र लछारपछार गर्दै थिए । त्यसपछि के भयो ? मलाई थाहा भएन । म बेहोस थिएँ ।
निर्मलाका आँखाबाट फेरि आँसु बग्न थाल्यो । बालसुलभ बोलीले अड्कीअड्की आपूmमाथि खनिएको अन्धकारको अत्याचार, प्रहरीहरूबाट भएको सामूहिक बलात्कारको अमानवीय, सुन्नै नसकिने व्यथा, विरह, चिच्याहट भन्न थालिन् उनी । तर मैले सुन्न सकिनँ र भनेँ, ‘भैगो बा । योभन्दा बढी मलाई सुन्नु छैन ।’
सुन्नै नसकिने, प्रहरीहरूको अश्लील बोली, गालीगलौज र तिनले गरेको सामूहिक बलात्कारले प्रहरीप्रति भयानक अनास्था मात्र होइन, चरम घृणा उब्जियो । यसको प्रमाण दुई पात्र दिव्यज्योति र निर्मला मेरो अगाडि रहेको मलाई सपनाजत्तिकै लागिरहेको थियो । त्यस्तो घोर निन्दनीय, निम्नकोटीको अमानवीय र अति नै घृणित र पशुवत् कार्यले छट्पटाइरहेका दुई किशोरीलाई कसरी र कुन तरिकाले न्याय दिलाउन सकिन्छ ? यो प्रश्नले मेरो मुटु नै समातेको थियो । समाधानको बाटो चारैतिर बन्द रहेको यथार्थले म आहत भएकी थिएँ । जता हे¥यो त्यता अन्धकार र अत्याचारबाहेक केही थिएन । दिनहुँ मुठभेडमा मारिएका भनी दर्जनौँ निःशस्त्र सर्वसाधारण जनताको लास टेलिभिजनमा देखाउँदै आइरहेको थियो सरकारले ।
त्यस्ता अवर्णनीय व्यथाले सयौँ बलात्कृत महिलाहरूले अवैध गर्भधारण गरेको सञ्चारमाध्यमहरूबाट बारम्बार सार्वजनिक गरिँदा पनि त्यस्ता राक्षसीपूर्ण कुकृत्यहरूमा कमी नआएका ज्वलन्त प्रमाणहरूमा यो एउटा हो । सशक्त र अचुक हतियारका रूपमा सरकारी पक्षबाट जनयुद्धमा बलिदानीपूर्ण सहयोग दिएका र दिन आएका अपार क्षमताका महिला जनमुक्ति सेनालाई सफाया गरिनुका साथै मुलुकमा महिलालाई डर र त्रासले हतोत्साहित बनाउनु थियो । बाटोघाटो, नदीखोल्सा, बनजङ्गल, खेतबारी, घरआँगन आदि जहाँ महिला, वृद्धा, युवती, किशोरी, बच्ची, सुत्केरी भेटियो त्यहीँ बलात्कार गरिन्थ्यो तर त्यस अमानवीय र अपराधमूलक हतियार बलात्कारको अभियानबाट महिलाहरू झन् बढी आक्रोशित भई सुत्केरी, दुई जिउकी, बिरामी, किशोरी र वृद्धासमेतको सहभागिता बढ्दै आएबाट ती जल्लादहरू अत्यन्त निराश र हतोत्साही भएपछि बलात्कार अभियानमा कमी आएको थियो । महिलाहरूलाई कुटेर सजाय दिनुप¥यो भने त्यसका लागि छुट्टै व्यवस्था थियो ‘सतार्नी’ को । महिलालाई महिला लगाएर कुटाइन्थ्यो । सडक आन्दोलन गरिँदा महिलाहरूलाई अग्रीम पङ्क्तिमा राखिन्थ्यो जसका कारण त्यसमा लाठी प्रहार गर्न नसकियोस् ।
निर्दलीय पञ्चायती प्रजातन्त्र नामको एकदलीय पञ्चायती शासन जनतामाथि ३० वर्षसम्म लादियो । अनेकौँ अमानवीय व्यवहार, सजाय, यातना, देशनिकाला, सर्वस्वहरण आदिइत्यादि गरियो तर ‘बलात्कार’ शब्द प्रायः प्रयोग भएको पाइएन । अहिले त थुनुवाभित्र रहेका महिलाहरूसमेत बलात्कारबाट बच्न सकेनन् । कहाँसम्म भने थुनुवामा रहेका आमा र छोरीको मुख टेपले टाँसी हातखुट्टा बाँधेर १९ दिनसम्म सामूहिक बलात्कार गरे । योजत्तिको निन्दनीय अपराध अरू के हुन सक्छ ?
निमेषमा यी सबै कुरा सम्झी म हैरान भएँ । ‘मानवता’ मात्र शब्दकोषमा सीमित रहेको यथार्थले मुटु चिराचिरा पर्न थाल्यो । आजको यो दिन देख्न र भोग्नुपर्ला भनेर सपनामा पनि सोचेकी थिइनँ ।
मनुले गहिरो सुस्केरा हालिन् । मेरो तन्द्रा टुटिहाल्यो । आँखा उठाई चारैतिर हेरेँ । तीनैजनाको शिर झुकेको थियो । मेरो मनमा अथाह भूकम्पको झट्का भने गइरहेकै थियो ।
२०४६ सालको जनआन्दोलन सानो थिएन । पञ्चायती शासनको अन्तिम बल, शक्ति, साधन, आक्रोश र अत्याचारको प्रयोगले हजारौँ निर्दोष सर्वसाधारण जनता मारिएका थिए । जेलमा सडाइएको, निर्मम यातना दिएर अपाङ्ग बनाइएको, भूmठा मुद्दामा फसाइएकाहरूको हिसाबै छैन । त्यस बखतका गृहमन्त्री निरञ्जन थापाले हेलिकप्टरमा बसी मेसिनगनबाट सडक आन्दोलनका आन्दोलनकारीहरूलाई लखेटीलखेटी मारेका थिए ।
जनआन्दोलनको चाप र ताप खप्न नसकी भाग्न ठीक परेका राजालाई बचाउन नेपाली काङ्ग्रेसका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, एमालेका सहाना प्रधान र राधाकृष्ण मैनाली रातको १२ बजे राजालाई संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र नामको शासन रहने प्रतिबद्धता गरी नेपाली जनतालाई अत्यन्त ठूलो र अक्षम्य धोका दिएका थिए । नेपाली काङ्ग्रेस र एमालेका नेताहरूले दिँदै आएको धोका, बेइमानी र गद्दारीले जनता पाक्नसम्म पाकिसकेका थिए । तिनीहरूको अनुहार देख्यो कि आक्रोशको काँढा तिखारिन थाल्थ्यो । मैले कुनै पनि नेतालाई विश्वास गरेकी छैन । त्यसैले आत्मसम्मान जोगाइरहेकी छु । त्यत्रो महाअपराध सामूहिक बलात्कारका सिकार बालाहरूलाई कसरी न्याय दिलाउने हो ? म रणभुल्लमा परेकी थिएँ । त्यतिबेला केही समय त हावा नै बग्न छाडेको जस्तो म निस्सासिन पुगेकी थिएँ । इमानदार राष्ट्रवादीहरू त बत्ती बालेर हेरे पनि भेटिन गाह्रो भइसकेको थियो ।
‘अब के गर्नु पर्ला दिज्यू ?’, मनुले अचानक प्रश्न गरिन् ।
मैले मनुलाई हेर्न पुगेँ । मेरो त्यस हेराइमा लाचारी पोतिएको मैले चाल पाएकी थिएँ । त्यसै त उनले थाहा पाएकै कुरा हो, म कुन अवस्थाले सङ्घर्ष गरी बाँचिरहेकी छु । म कुनै पनि राजनीतिक पार्टीको सदस्य थिइनँ । त्यसमाथि राजनीतिक पीडित सहायता समितिबाट वितरित ५० करोडमाथि मुद्दा गरेपछि सबै पार्टीहरू मेरा शत्रु भएका थिए । केही समय त म बोल्न सकिनँ । सामूहिक बलात्कारको समस्या र समाधान मेरा लागि एकदमै नौलो विषय थियो । यो अत्यन्त जटिल, संवेदनशील, मार्मिक र जल्दोबल्दो समस्या मेरो अगाडि यसरी आइपर्ने मैले कल्पनासम्म पनि गरेकी थिइनँ ।
मेरो उत्तरको प्रतीक्षामा रहेकी मनुलाई मैले फेरि हेरेँ । उनी पनि लाचार नै देखिइन् । दुई बाला दिव्यज्योति र निर्मला प्राणहीन पुतलीजत्तिकै मौन ! हलचल नै नगरी बसिरहेका थिए । मैले भनेँ, ‘मनुजी यो भयानक, अपराध अभियान तत्काल रोक्न दूरगामी विचारको आवश्यकता पर्छ । हाललाई यी छोरीहरूको समस्या समाधानमा नै केन्द्रित हुनुछ । यसमा तपाईं र मेरो विचारले मात्र काम गर्नु ठीक होलाजस्तो लाग्दैन । निष्पक्ष इमानदार, यो केसमा रुचि भएका केही महिला र पुरुषहरूको सल्लाह र सक्रिय सहयोगको नितान्त आवश्यक छ । तपाईंको मनले खाएका ३÷४ जना र मेरो मनले खाएका ३÷४ जनाको एउटा समूह बनाई त्यसबाट यो समस्याको उपचार खोज्नु गर्नु उपयुक्त होला । अनि यही समूहलाई ठूलो आकारमा परिणत गरी राजनीतिक पार्टीहरूका नेता, मानवअधिकारवादी, नागरिक समाज र महिला आयोगलाई सक्रिय रूपमा संलग्न गर्नु उचित होला । यो मुद्दा सानो होइन । त्यसैले स्वतन्त्र नागरिक समाजलाई संलग्न गर्नु अत्यावश्यक छ ।’
‘दिज्यूले भन्नुभएको एकदम ठीक हो । शक्तिमा रहेका ठूलाबडासित हाम्रो पहुँच छैन । के गर्नु ? त्यस्ता मान्छेहरू विश्वासी नभएर पनि विश्वास गर्नु हाम्रो बाध्यता हो । त्यसो भए दिज्यू, म आजै मेरो मनले खाएकाहरूसित सम्पर्क राख्छु । भोलि जसरी भए पनि समूह निर्माण गर्नतिर लागौँ ।’
‘३÷४ जना महिला साथीहरूसित पनि आजै सम्पर्क राख्छु । तपाईंले मलाई भोलि दिउँसो २÷३ बजेतिर सम्पर्क गर्नुहोला ।’
ती दुवै नानीलाई उपचार गर्न अत्यन्त गोप्य तरिकाले काठमाडौँ ल्याइएको थियो । दिव्यज्योतिको पाठेघरमा ठूलै चोट लागेकाले त्यसको असर आँखामा समेत परेको थियो । पूरा आँखा खोल्न नसक्ने, आँखा झिमझिम गरिरहने, आँसु चुहिएलाजस्तो गुलाबी रङको देखिने, राम्ररी हिँड्न नसक्ने, निर्मम यातनाले शरीरका विभिन्न ठाउँमा लागेको चोट निको भएको थिएन । त्यस्तै अवस्थामा रहेकी निर्मलालाई पनि उपचारकै लागि अत्यन्त ठूलो जोखिम उठाई काठमाडौँ ल्याइपु¥याएका थिए नेकपा (माओवादी) का कार्यकर्ताहरूले ।
ओढ्नेले टाउको र आधा अनुहार छोपेका केटीहरूलाई लिई मनु फर्किएकी थिइन् । बाटोमा केही होला भन्ने कत्रो डर ? दुवै केटीहरूको खोजी भइरहेकै थियो तर ज्यानकै माया मारेपछि समातिने, यातना पाउने, लासै बेपत्ता पारिएला कि भन्ने केको डर ?
मलाई भने ठूलै पिर परेको थियो ३÷४ जना इमानदार, निष्पक्ष र न्यायप्रेमी महिला वा पुरुषको खोजी कसरी गर्न सकिएला भनेर । जनयुद्ध चर्किंदै थियो । दिनको तीसौँजना सर्वसाधारण, महिला र पुरुषहरू ‘मुठभेट’ मा मारिएको भनी दृश्यमूलक समाचार प्रसारण गरिँदा जनतामा आतङ्क पैmलिएको थियो । गुप्तचरहरूको अनुमान र रिपोर्टमा माओवादीको आशङ्का गरिएकाहरू, माओवादी र जनमुक्ति सेनालाई पानी मात्र पिउन दिनेहरूको समेत ज्यानै लिने गरिएको थियो । यस्तो आतङ्कपूर्ण अवस्थामा हत्केलामा ज्यान राखी कसले यस्तो मुद्दामा सेना र सशस्त्र प्रहरीका विरुद्ध लड्न साथ देला ? चिनेजानेका, इष्टमित्र, साथीभाइ, नातागोता र परिवारका सदस्यहरूको वीचमा मैले आपूmलाई एक्ली, मात्र एक्ली पाएँ । जसरी र जे गरेर हुन्छ दुईजनाको मात्र भए पनि मैले साथ लिनु थियो । महिला अधिकारवादीहरूमा धेरैजसो त अवसरवादी, आफ्नो हक र हितसम्म बेच्दै आएकाहरू थिए । टाठाबाठा, पढेलेखेका देशविदेश देखेका महिलाहरूमा पनि अधिकांश एनजीओ–आईएनजीओहरूमा आबद्ध, अन्धवेगले पैसा कमाउने बाटोमा दगुरिरहेकाहरू थिए । तिनलाई देश, देशबासी र यस्ता समस्याहरूको मतलब थिएन । बरु घरगृहस्थीमा केही जागरुक महिलाहरूसित सम्पर्क राख्न जाने अभियान भोलि बिहानदेखि सुरु गर्ने निर्णय गर्दै चिसो सास फेरेँ मैले । मलाई केही गर्न मन लागेन । मेरो निधारमा दिव्यज्योति र निर्मला बत्तीजतिकै बलिरहेका थिए ।
मनुहरू फर्केकै दिन त्यस्तै ३ बजेतिर मनुको फोन आयो । उनले भनिन्, ‘दिदी, तपाईं पुल्चोकस्थित ‘लाक’ नामको डा. शन्ता थपलियाको कार्यालयमा साँझको ठीक पाँच बजे आइपुग्नुस् । त्यहाँ मानवअधिकारवादी र अन्य सङ्घसंस्थामा आबद्ध महिलाहरूको साथमा छलफल गर्ने कार्यक्रम छ । हाम्रातर्पmबाट तपाईं, म र रेखाजी मात्र हुनेछौँ । बाँकी कुरा त्यहीँ गरौँला ।’ यति भनी उनले बैठकमा आउने केही महिलाको नाम सुनाइन् ।
तर मेरो मनले भने पटक्कै खाएन । मनुले नाम लिएका महिलाहरू सबैलाई राम्ररी चिनेको मैले मनुलाई सुनाएँ । मैले भनेँ, ‘ती महिला हदै अवसरवादी छन् । तिनीहरूबाट काम हुँदैन । बरु हुन लागेको काम पनि बरबाद हुनेछ । यसमा म सरिक हुन चाहन्नँ ।’ मैले स्पष्ट इन्कार पनि गरेँ तर मनु मानिनन् । उनले आफ्नो बाध्यता सुनाउँदै भनिन्, ‘हाम्रो मनले मात्र कहाँ खाएको हो र ? ती महिलाहरूका बारेमा हामीलाई पनि थाहा नभएको त होइन तर हेरौँ न । तिनीहरूले कस्तो सल्लाह दिँदा रहेछन् । अहिले ५ बजे हुने बैठकको अगुवाइ अधिवक्ता सपना मल्ल प्रधानले गरेकी हुन् । अघि दिदीकहाँबाट फर्केपछि मेरो एकजाना साथीले सपनाकहाँ लगिदिए । बलात्कृत बहिनीहरूलाई देख्नेबित्तिकै उनले आफ्नो संवेदनशीलता देखाइन् । अनि आजै अगुवा महिलाहरूको बैठक बोलाई समस्या अगाडि बढाउने निर्णय गरिन् । दिज्यूको नाम हामीले ‘प्रपोज’ गरेकाले तपाईं आउनु अत्यन्त जरुरी छ । जसरी भए पनि तपाईं आइदिनुस् ।’
मैले इन्कार गर्न सकिनँ र पाँच बजे ‘लाक’ को अफिसमा पुग्ने बचन दिएँ । तर जाने मन पटक्कै थिएन । हलेदो भनेपछि पहेँलो छ कि छैन भनी कोट्ट्याएर हेर्नु आवश्यक नै थिएन । बलात्कृत किशोरीहरूको दयनीय अवस्थाले मलाई बाध्य पारेको थियो । घडी हेरेँ, ३ः३० बजिसकेको थियो । ४ः३० बजे म पुल्चोकमा पुगेँ । चारैतिर आँखा घुमाएँ । लाकको साइनबोर्ड कतै देखिनँ । म त रनभुल्लमा परेँ । ३÷४ वटा पसलमा सोधेँ । त्यहाँका लोकल मानिसहरूसित पनि सोधेँ । कसैले थाहा छ भनेन । बल्ल एउटी केटीले भनी, ‘ऊः त्यो गल्लीभित्र जानुस् । त्यहाँ सोध्दा पत्ता लाग्छ ।’
लाकको अफिस पत्ता लगाउन मलाई २० मिनेट लाग्यो । डा. शान्ता थपलियाको घरमा थियो लाकको अफिस । म एक तलामाथि उक्लेँ । चिनेको मान्छे कोही पनि भेटिएन । एउटी महिलासित सोधेँ, ‘डा. शान्ता थपलिया कहाँ हुनुहुन्छ ?’
‘माथि हुनुहुन्छ । १० मिनेटमा तल आउनुहुन्छ ।’
‘खबर पठाइदिनुस् न शान्ता श्रेष्ठ आएकी छे भनेर ।’
डा. शान्ता थपलियाको त्यस घरमा दुईवटा एनजीओका अफिस थिए । त्यसको सञ्चालक र प्रमुख उनी नै थिइन् । त्यहाँ त म एक्ली भएँ । मनु र अन्य कोही पनि आएका थिएनन् । समयको महत्व राख्ने व्यक्ति त विरलै मात्र पाइन्छ यो देशमा । जो समयको महत्व राखी निर्दिष्ट समयमा पुग्छ, त्यसले यसरी कुर्नुपर्ने सजाय पाउँछ ।
५ः३० बजेसम्म पनि म एक्लै थिएँ । मलाई शङ्का लाग्न थाल्यो के मनुले गलत खबर त दिइनन् ? बल्ल डा. थपलिया तल झरिन् ।
‘शान्ताजी आउनुभएको रहेछ । माथि एउटा काममा अल्झेकी थिएँ । त्यसैले अलि अबेर भयो । आउनुस्, यताको कोठामा बसौँ । अरू महिलाहरू पनि आउँदै होलान् ।
‘प्रबुद्ध महिलाहरूले त समयको महत्व बुझ्नुपर्ने हो । यो राष्ट्रकै समस्या हो । राष्ट्रकै रोग हो ।’
पौने ६ बजिसकेपछि बल्ल महिलाहरू आउन थाले । तिनीहरूमा नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष रेखा शर्मा, मनु हुमागाईं, दुर्गा घिमिरे, भारती सिलवाल, सञ्चालिका समूहबाट वन्दना राणा, सपना मल्ल प्रधान, बलात्कृत बालाहरू दिव्यज्योति, निर्मला, डा. शान्ता थपलिया, इन्सकेका सुशील प्याकुरेल र लाकमा काम गर्ने ४÷५ जना महिला थिए ।
छलफल सुरु गरिन् डा. शान्ता थपलियाले । म, रेखा शर्मा र मनु हुमागाईंबाहेक अरू महिलाहरूले उनलाई अभिभावकजत्तिकै मानेका थिए । तिनीहरू सबैको मत मिलेको थियो । तिनीहरू एनजीओका सञ्चालकहरू थिए । कोठा शान्त वातावरणमा नै थियो । बलात्कृत बालाहरूदेखि तिनीहरू प्रभावित भएको उनीहरूकै अनुहारमा देखिएको थियो । १४÷१५ जना महिलाहरूका बीचमा एकजना मात्र पुरुष थिए सुशील प्याकुरेल । ती सबैका मनमा अनेकौँ प्रश्न र जिज्ञासा थिए बलात्कारको घटनाबारे । जस्तो कि कुन अवस्थामा सामूहिक बलात्कार गरे ? थुनुवामा रहँदा कस्तो अवस्था थियो ? त्यहाँको हालको अवस्था कस्तो छ ? थुनुवाबाट कसरी छुटे ? हाल ती बालाहरूको मानसिक, शारीरिक, आर्थिक, सामाजिक अवस्था कस्तो छ ? आदि अनेकौँ प्रश्नको उत्तर रुँदै तिनीहरूले बताएका थिए । बलात्कारको अवस्थाको सङ्क्षिप्त दृश्य बताउँदा सुन्नसक्ने अवस्था नै थिएन । सबैले भैगोभैगो, अब अरू बढी केही बताउनु पर्दैन… भनेका थिए । उक्त पाशविक घटनामाथि उनीहरूको भनाइ त्यति धेरै मार्मिक, घृणित र दर्दले भरिएको थियो ।
(प्रकाशोन्मुख मान्छेभित्रको मान्छे संस्मरण सङ्ग्रहबाट)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :