राष्ट्रका लागि युवा अभियान

राष्ट्रिय युवा जनस्वयम्सेवकले देशभर राष्ट्रका लागि युवा अभियान सञ्चालन गरिरहेको छ । कात्तिक २६ गते राष्ट्रिय भेला र प्रशिक्षण गरी अभियान सुरु गरेको हो । भेलालाई पार्टी महासचिव विप्लवले प्रशिक्षित गर्दै अभियानले हजारौं युवालाई गोलबन्द गर्दै राष्ट्रिय स्वाधीनता दलालका विरुद्धको लडाइँमा युवाको त्याग र समर्पणको भावना जागृत गराउन सफल हुने बताउनुभयो ।

yuba-abhiyan
अभियानअन्तर्गत राष्ट्रिय युवा जनस्वयम्सेवकले पार्टी स्थायी समिति सदस्य प्रकाण्डको उपस्थितिमा कात्तिक २७ गते वीर अस्पताल परिसरमा सरसफाइ गरेको छ । अभियान काठमाडौं उपत्यकासहित देशभरका मुख्य सहरमा तीन महिनासम्म सञ्चालन हुने जानकारी स्वयम्सेवका केन्द्रीय सचिव केशव शर्माले दिनुभयो । अभियानअन्तर्गत संगठन निर्माण, अन्तरक्रिया, छलफल, भित्तेलेखन, सरसफाइ, वैदेशिक रोजगारका ठगी, ट्राफिक व्यवस्थापन, भूकम्पमा ढलेका भौतिक संरचना निर्माणजस्ता कार्यमा सहयोग गर्दै अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।
अभियान काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरमा संचालन भइरहेको बताइएको छ । अभियानअन्तर्गत सरसफाइ, ट्राफिक जाम हटाउने, फुटपाथ व्यवस्थित गर्ने, जनसेवाको काम गर्ने, वैदेशिक रोजगार पीडित युवालाई न्याय दिलाउने कार्य भइरहेको छ । शनिबार अभियानका क्रममा धोबी खोला सरसफाइ कार्यक्रममा युवा संगठनका केन्द्रीय अध्यक्ष झकबहादुर मल्लको नेतृत्वमा रहेको युवा संगठनका कार्यकर्ता र प्रहरी संगठनका एआईजी विज्ञानराज शर्माको नेतृत्व रहको प्रहरी टोली एकसाथ भई सरसफाइ गरेका छन ।
यसअघि युवाहरूले वीर अस्पताल परिसरको सरसफाइ गरिसकेका छन् । सरसफाइ कार्यक्रममा नेकपा (माओवादी) का स्थायी समिति सदस्य प्रकाण्डको उपस्थिति थियो । त्यस्तै भक्तपुर र ललितपुरमा पनि सरसफाइ र जनसेवाका कार्यक्रम संचालन भइरहेका छन् । अभियानले बाहिरी कार्यक्रमसँगै संगठन निर्माण अन्तक्र्रिया, बहस, प्रचारप्रसारलाई पनि तीव्रता दिएको छ ।
त्यसैगरी भित्तेलेखनका क्रममा शुक्रबार उपत्यकाबाट ४ जना कार्यकर्ता पक्राउ गरेको उपत्यका संयोजक प्रखर लामाले बताएका छन् । अन्य समयका अभियान आन्तरीक पक्षलाई सुदृढ गर्ने गरिएता पनि यो पटकको अभियानमा सामाजिक संघसंस्था सरोकारवाला पक्ष स्थानीय बासिन्दा प्रहरी प्रशासनसँग सहकार्य गर्दै जनसम्बन्धलाई पनि सुदृढ गर्न खोजिएको छ ।
राष्ट्रका लागि युवा अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिकामा तीव्रता दिएका छन् । भोला गणेश चिम्नी उद्योगमा मजदुरको भेला गरी अमर डाँगीको नेतृत्वमा १७ सदस्यीय मूल एकाइ समिति गठन गरेका छन् । यसैगरी पुरानो नैकापस्थित विद्यामन्दिर माविमा सम्राट केसीको अध्यक्षतामा १० सदस्यीय अखिल (क्रान्तिकारी)को मूल एकाइ समिति गठन गरेका छन् । यसैगरी मंगल मावि नयाँ नैकापमा प्रियङ्का तामाङको अध्यक्षतामा १५ सदस्यीय मूल एकाइ समिति गठन गरेका छन् । कृष्ण मावि दहचोकमा रवीन खड्काको अध्यक्षतामा १७ सदस्यीय मूल एकाइ समिति गठन गरेका छन् । सावित्री अगरबत्ती उद्योग, सतुङ्गलमा सीतादेवी राईको अध्यक्षतामा २५ सदस्यीय मूल एकाइ समिति गठन गरेका छन् । आइतबार अभियानअन्तर्गत ज्ञानोदय मावि बाफलमा राष्ट्रियताको भावना जागृत गराउने उद्देश्यले ग्रेटर नेपाल वृत्तचित्र प्रदर्शन गरेको छ । वृत्तचित्र प्रदर्शन कार्यक्रममा पार्टी स्थायी समिति सदस्य ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, पोलिटब्युरो सदस्य अनिल शर्मा र पार्टी केन्द्रीय सदस्य दीपक चलाउनेको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :