ताम्सालिङ स्वायत्त प्रदेश र जनसरकारको प्रश्न

यतिबेला देश इतिहासमा नै सर्वाधिक सङ्कटको घुम्तीमा छ । १० बर्से जनयुद्ध र १९ दिने जनआन्दोलनले पहिलो संविधानसभामार्फत तत्कालीन नेकपा (माओवादी) लाई सबभन्दा ठूलो राजनीतिक दलका रूपमा स्थापित ग¥यो । विधिवत् रूपमा संविधानसभामार्फत २४० वर्षको निरङ्कुश राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो । यो नेपालको इतिहासमा नै युगान्तकारी घटना थियो । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनताको त्याग, तपस्या र बलिदानको परिणामस्वरूप नै नेपालमा निरन्तर नयाँ इतिहासको सुरुवात भएको हो तर विडम्बना सामन्तवादका जरा र पुराना सत्ताका संरचना भने यथावत् रहे । तत्कालीन ने.क.पा.–माओवादीले नवसंशोधनवाद, दक्षिणपन्थी आत्मसमर्पणवादसँग सम्बन्धविच्छेद गरी जनवादी क्रान्ति सम्पन्न गर्न जनविद्रोहको कार्यदिशामार्फत अगाडि बढ्ने अग्रगामी सोचाइ र योजनाका साथ अगाडि बढ्नुको सट्टा अकर्मण्यता र यथास्थितिमा घुमिरहने वैचारिक, राजनीतिक विचलन देखाप¥यो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका दक्षिणपन्थी अवसरवाद, पलायनवाद, विसर्जनवाद, आत्मसमर्पणवादका विरुद्ध क्रान्तिकारी विचारको रक्षा गर्न ऐतिहासिक राष्ट्रिय सम्मेलन गरी ने.क.पा. (माओवादी) ले नेपालको विशेषतामा आधारित ठोस वस्तुस्थितिको ठोस विश्लेषण गरेर नवीनतम कार्यदिशा पहिचान गरी नेपालमा ने.क.पा. को नेतृत्वमा ‘एकीकृत जनक्रान्ति’ को माध्यमबाट शान्ति, समानता, स्वाधीनता र समृद्धिका लागि ‘नयाँ जनवाद र वैज्ञानिक समाजवादी व्यवस्था’ स्थापना गर्न सम्पूर्ण ताम्सालिङबासी जनतालाई हामी आह्वान गर्दछौँ ।
राष्ट्रिय परिस्थिति
नेपाल पूरै औपनिवेशिक अवस्थामा गइरहेको छ । मुलुकको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामा गम्भीर खतरा उत्पन्न भएको छ । नेपालको ७२ स्थानमा भारतीय साम्राज्यवादद्वारा ६१ हजार हेक्टर भन्दा बढी जमिन मिचिएको छ । भारतले नेपालको जलस्रोत र प्राकृतिक क्षेत्रमा आधिपत्य जमाइसकेको छ । बिप्पालगायत अनेकौँ सम्झौता गरी नेपालको जलस्रोत भारतीय कम्पनीलाई एकपक्षीय ढङ्गले सुम्पने हर्कत गरेका छन् । नेपालको सीमा क्षेत्रमा अनेकौँ बाँधहरू बनाई नेपाललाई डुबानमा पार्ने काम गरेको छ । नेपालको सीमाभित्र अनधिकृत रूपमा प्रवेश गर्ने, सीमास्तम्भ फाल्ने र नेपाली सीमानजिक गाउँमा आई आक्रमण गर्ने, कुटपिट गर्ने, हत्या गर्नेजस्ता क्रियाकलाप गर्दै आएको
छ । भारत र चीनले बेइजिङमा लिपुलेक व्यापारिक नाका खोल्ने सम्झौताको नाममा नेपाललाई थाहा नै नदिई नेपालको जमिन लिपुलेक भन्ज्याङ हस्तक्षेप गरेका छन् । लिपुलेक नेपालको हो, कालापानी नेपालको हो र नेपालको जमिनमाथि हस्तक्षेप हुँदा एक शब्द पनि नबोल्ने सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन । एकाधिकार, विदेशी दलाल नोकरशाही पँुजीवादले नेपाली जनतामाथि निर्मम शोषण र दमन चलाइरहेको छ । जनजीविकाको समस्या अझ जटिल बन्दै गएको छ । हजारौँ चेलीहरू भारतको बम्बई र दिल्लीका वेश्यालयहरूमा नारकीय जीवन बिताउन बाध्य छन् । नेपाली चेलीहरू खाडी मुलुकमा समेत शिर छेदन हुन पुगेका छन् र दिनको सरदर चारपाँचवटा लासका बाकसहरू हवाईअड्डामा आइरहेका छन् तर कथित संविधानसभाका ६०१ जना सभासद् भने नेपाली जनताको रगतपसिनाले जम्मा भएको राजस्वमाथि ब्रह्मलुट गरिरहेका छन् । इतिहासमा ५४ जना जम्बो मन्त्रिमण्डल गठन भएको छ । विश्वको दोस्रो जलस्रोतको धनी देश नेपाल जलस्रोतको समुचित व्यवस्था गर्न सकिरहेको छैन । पानीको हाहाकार छ । जताततै भ्रष्टाचार, अन्याय, अत्याचार ढिलासुस्ती व्याप्त छ । नेपालको इतिहासमा नै विनासकारी एवम् विध्वंसकारी भूकम्पको दुःखद् घटनाका ३ वर्ष बितिसक्दा पनि जनता चिसो टहरामा बिताउन बाध्य छन् । नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता भएको मुलुक हो । २४० वर्षसम्म निरङ्कुश शासन चलाएको राजतन्त्र (एकात्मक राज्यव्यवस्था) ले उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनतालाई निर्मम शोषण, दमन र उत्पीडनमा पार्दै आयो र फलस्वरूप सयौँ वर्षसम्म दर्दनाक जीवन भोग्न बाध्य पारियो । ने.क.पा. (माओवादी) को नेतृत्वमा २०५२ सालमा सुरु भएको जनयुद्धमा ताम्सालिङका जनताले महत्वपूर्णसहभागिताका साथै उच्च बलिदान गरे । यसै सन्दर्भमा २०५५ साल मङ्सिर ५ गते तामाङ राष्ट्रिय मुक्तिमोर्चा, नेपाल गठन भयो । ऐतिहासिक ‘ताम्सालिङ स्वायत्त प्रदेश’ को घोषणा पनि नुवाकोटको ककनीमा भएको थियो ।

राज्यसत्ता वर्गीय हुन्छ । एक वर्गले अर्को वर्गलाई दबाउने हतियारका रूपमा प्रयोग हुन्छ । ताम्सालिङ स्वायत्त प्रदेश सम्पूर्ण शोषित, पीडित, उत्पीडित जनताको सत्ता हो । यसले माक्र्सवादको बल प्रयोगको सिद्धान्त स्वीकार गर्दछ र एकीकृत जनक्रान्तिका माध्यमबाट वर्गीय मुक्ति र जातीय मुक्ति एकअर्काका परिपूरकका रूपमा अगाडि बढाउँदै हिमाली देश नेपालमा स्वायत्तता र आत्मनिर्णयको अधिकारसहितको जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादका लागि निरन्तर सङ्घर्ष गर्दछ ।

तामाङ जातिको सङ्घर्षको ऐतिहासिक पक्ष 

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतासहितको सुन्दर मुलुक हो । नेपालमा सदियौँदेखि खस हिन्दुवादी एकात्मक केन्द्रीकृत राज्यसत्ताले आदिवासी जनजातिको भाषा, संस्कृति र धर्मलाई विस्थापित गर्दै आयो जसका कारण मानवसभ्यताको विकासमा आदिवासी जनजातिहरू पछाडि परे । तिनै उत्पीडित जातिहरूमध्ये तामाङ जाति पनि एक हो जुन अहिलेसम्म आफ्नो जातिको हकहित र मुिक्तका लागि सङ्घर्षरत छ । सर्वहारा वर्गीय मुक्ति आन्दोलनको लडाइँसँग जातीय मुक्ति आन्दोलन समायोजन गराई एकअर्काबीच समन्वय गर्दै लड्दै आएका छौँ ।
१० बर्से महान् जनयुद्धमा हजारौँ तामाङहरूले त्याग र बलिदान गरेका छन् । जनयुद्धमा तामाङ समुदायकी प्रथम सहिद दिलमाया बम्जन, क. बाबुराम लामा ‘पुष्प’, रुद्र पाख्रिन र हजारौँ तामाङहरूले बेथान, दोरम्बा र अन्य ठाउँमा बलिदान गरेका छन् । हजारौँ तामाङहरू घाइते तथा बेपत्ताभएका छन् । राजधानीको मुटु काठमाडाँै उपत्यकावरिपरि डाँडापखेराहरूमा बसोबास गर्दै आएका तामाङहरूलाई सङ्गठित र गोलबन्द नगरी सामरिक महत्वको काठमाडौँ केन्द्रीय राज्यसत्ता कब्जा गर्न असम्भव छ । सामन्ती हिन्दु शासकले तामाङहरूलाई सुरक्षा निकायमा भर्तीमा रोक लगाई भातपकाउने, भारी बोक्ने, मालीलगायतको तल्लो स्तरको काममा मात्र जागिर दिने गरियो र तामाङ चेलीलाई दरबारमा सुसारे राख्ने नाममा विलासिताको साधनका रूपमा प्रयोग गर्दै आए । देशभित्र रहेका तामाङहरू रिक्सा चालक, टेम्पो चालक, ट्याक्सी चालकका रूपमा गुजारा चलाइरहेका छन् र राज्यसत्ताको माथिल्लो निकायमा पुग्न सकिरहेका छैनन् । विशेषगरी तामाङहरूको बसोबास बागमती, जनकपुर, नारायणी अञ्चलका विभिन्न क्षेत्रहरूमा रहेको छ । शाहकालको २४० वर्ष, जहानियाँ राणा शासनको १०४ वर्ष, ३० बर्से पञ्चायती निरङ्कुश शासन, बहुदलीय र गणतन्त्रका समयमा पनि तामाङहरूको जीवनस्तर परिवर्तन हुन सकेन । एकाध तामाङ नेताहरू राज्यसत्ताको माथिल्लो निकायमा पुगे, मन्त्री पनि बने तर आफ्नो स्वाभिमान बेचेर मुट्ठीभरका शोषक, सामन्त र दलालहरूको सेवा गर्न पुगे । अहिले २१ औँ शताब्दीमा दुनियाँ भूमण्डलीकरण भइसकेको र विज्ञानप्रविधिको विकासले संसार ज्यादै साँघुरो भएको परिपे्रक्ष्यमा पनि तामाङलगायत अन्य जनजातिको जीवनस्तर उठ्न सकिरहेको छैन । तामाङ जातिको मुक्ति उसको आफ्नो स्वशासन र आत्मनिर्णयबाट मात्र हुन्छ । नेपाली माटोमा मालेमावादको सिर्जनशीलताको प्रयोग गरी ‘एकीकृत जनक्रान्ति’ बाट मात्र उत्पीडित जाति, क्षेत्र, लिङ्गका जनताको मुक्ति सम्भव छ ।
(ताम्सालिङ जनसरकारको नीति तथा कार्यक्रमको मूल अंश । शीर्षक हामीले दिएका हौं ।)

२०७४ भदौ ३१ गते बेलुका ९  :३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :