आजदेखि सहिद सप्ताह सुरु, क्रान्तिकारी कम्युनिस्ट पार्टीले विभन्न कार्यक्रम गरी मनाउँदै

आजदेखि सहिद सप्ताह सुरु, क्रान्तिकारी कम्युनिस्ट पार्टीले विभन्न कार्यक्रम गरी मनाउँदै

काठमाडौँ : नेपालको इतिहासमा विविध कालखण्डमा भएका वर्गीय र न्यायपूर्ण युद्धका क्रममा उच्च सहादत प्राप्त गर्ने सहिदहरूको सम्झना र सम्मानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहित विभिन्न धारामा विभाजित माओवादीहरूले हरेक वर्षको फागुन १४ देखि २१ गतेसम्म बलिदान दिवस (सहिद सप्ताह) मनाउँदै आएका छन् । सहिद सप्ताह देशैभर भव्य रूपमा मनाउन क्रान्तिकारी कम्युनिस्ट पार्टीले सबै पार्टी कमिटीमा सर्कुलर जारी गरिसकेको छ ।

सहिद परिवारहरूसँग भेटघाट अन्तरक्रिया गर्ने र जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने महान् राजनीतिक अभियानमा सहिद परिवारहरूलाई जोड्ने उद्देश्य राखेर क्रान्तिकारी माओवादीले यो एक हप्ता सहिद परिवारहरूसँग भेटघाट अन्तरक्रिया गर्ने कार्यक्रम राखेको सम्बद्ध स्रोतले जनाएको छ ।

जनयुद्ध र झापा विद्रोहमा सहादत प्राप्त गर्ने सहिदहरूको सहादतको मितिलाई जोडेर फागुन १४ देखि २१ सम्म जनयुद्धकालदेखि नै माओवादीले विभिन्न कालखण्डमा भएका सङ्घर्षमा बलिदान गर्ने महान सहिदहरूको सम्मान र सम्झनामा सहिद सप्ताह मनाउन थालेको हो । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सहादत भएको मिति फागुन १४ गते र झापा विद्रोहका सहिदहरूको सहादत मिति फागुन २१ को सन्दर्भलाई जोडेर एक हप्ता बलिदान दिवस (सहिद सप्ताह) मनाउन थालिएको हो ।

जनयुद्ध सुरू भएको १३ औँ दिनमा नै एघार वर्षीय दिलबहादुर रम्तेललाई राज्यका फासिवादी जल्लादहरूले कायरतापूर्ण तरिकाले हत्या गरेका थिए । गोरखा–जराङस्थित ब्रह्मचारिणी निमाविमा कक्षा ४ मा अध्ययनरत कलिला विद्यार्थीहरूलाई तर्साएर–धम्क्याएर जनयुद्ध रोक्ने दुस्साहस गरियो । फागुन १४ गते घ्याम्पेसालबाट निस्केको एक प्रहरी जत्थाद्वारा सूर्यज्योति माविका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई पोखाराटारको सुकेटारस्थित एक गैरसरकारी संस्थामा आगजनी गरेको आरोपमा विद्यालयभित्रै पक्राउ गरियो । इमानदार र लोकप्रिय आफ्ना गुरुलाई स्कुलहाताभित्रैबाट अमानवीय र अन्यायपूर्ण गिरफ्तार गर्न खोजेपछि झन्डै ७ सय विद्यार्थीहरूले प्रहरीको कडा प्रतिवाद गरे । प्रधानाध्यापक गुरुङलाई नछोडेपछि विद्यार्थीहरू प्रहरीकै पछिपछि नजिकै रहेको ब्रह्मचारिणी निमाविमा आइपुगे । जनदबाब र प्रतिरोधपछि आतङ्कित प्रहरी जत्थाले जथाभावी गोली प्रहार गर्न थाल्यो । प्रहरीद्वारा भीडमा अन्धाधुन्दा गोली चलाउँदा ११ वर्षीय दिलबहादुर रम्तेल र स्थानीयवासी रामप्रसाद भट्ट गम्भीर घाइते हुनुभयो । घाइते दुवैजनालाई उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा तारलेडाँडामा दिलबहादुरको सहादत भएको थियो ।

त्यसैगरी झापाको सुखानीमा २०२९ साल फागुन २१ गते नेपाली कम्युनिस्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो । झापाका विद्रोहीहरूलाई २०२९ कात्तिकमा प्रहरीले पक्राउ गरेर झापा जेलमा राखेको थियो । विद्रोह झन् तीव्र बन्यो । त्यतिखेर झापाली कम्युनिस्टले जमिनदारलाई सफाइ गर्ने अभियान ‘एक्सन’ अघि बढाइरहेका थिए । झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जङ्गलमा पाँचैजनालाई गोली हानेर हत्या गरिएको थियो । पञ्चायती शासकहरूले झापामा किसान विद्रोहको नाममा आतङ्क फैलाएको कथित आरोपमा क्रान्तिका लागि वर्गसङ्घर्षको मैदानमा उत्रिएका पाँचजना योद्धाहरू नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालको नृशंस हत्या गरेका थिए ।

महान् सहिदहरूको त्याग र बलिदानलाई भयानक अवमूल्यन गर्ने प्रवृत्तिका विरुद्ध माओवादीले सचेत पहलकदमीका साथ बलिदान दिवस–सहिद सप्ताहलाई मनाउने निर्णय गरेको थियो । १० बर्से भीषण जनयुद्धका क्रममा जब क्रान्तिकारी योद्धाहरू ढल्दै जान थाले, त्यसले पार्टीभित्र वेदना, व्यथा, पीडा र निराशासमेत हुन सक्ने कुरालाई ध्यान दिँदै तिनमा क्रान्तिकारी उत्साह र आशावाद जोगाइराख्न बलिदान दिवस मनाउन सुरु गरिएको थियो । महान् सहिदहरूको सपनालाई सम्झिँदै पार्टी–पङ्क्तिभित्र क्रान्तिकारी ऊर्जा जोगाइराख्न बलिदान–सहिद दिवस मनाउन सुरु गरिएको हो ।क्रान्तिका मोर्चाहरू फरक भए पनि क्रान्तिकारीहरूको उद्देश्य एउटै हुने सच्चाइलाई आत्मसात् गर्दै माओवादीले सुखानीका महान् सहिदहरूको बलिदानलाई समेत ऐतिहासिक कडीका रूपमा जोड्दै सहिद सप्ताह मनाउन थालेको हो । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलदेखि सुखानीका सहिदहरूको बलिदानलाई जोडेर सहिद सप्ताहका रूपमा सुरुआत गरेको विषय माओवादीको आफ्नो दस्तावेजमा अत्यन्तै महत्वका साथ उल्लेख गरिएको छ ।

बलिदान दिवसका रूपमा मनाइने सहित यसलाई माओवादीले दोस्रो राष्ट्रिय सम्मेलन ९२०५७० ले दस्तावेजमै लिपिबद्ध गरेको भए पनि २०५४ सालबाटै बलिदान दिवस मनाउन थालिएको थियो । त्यसबेलादेखि नै सहिद सप्ताहलाई केन्द्र, जिल्ला र गाउँ तहसम्म आफ्नो सापेक्षतामा मनाउने गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल लगायत केही माओवादी पार्टीहरूले त्यो विरासतलाई निरन्तरता दिइरहेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनयुद्धका लक्ष्य र उद्देश्य पूरा भएको छैन भन्दै नेपाली विशिष्टतामा आधारित सशस्त्र विद्रोहको कार्यदिशामार्फत् नेपालमा जनयुद्धको कार्यभार पूरा गर्न सकिन्छ र नेपालमा दलाल संसदीय व्यवस्थाको अन्त्य गरी देशमा सङ्घीय जनगणतन्त्रमा आधारित नयाँ जनवादी व्यवस्थाको स्थापना गर्न सकिन्छ भनेर निरन्तर क्रान्तिको तयारीमा जुटिरहेको छ । र, छरिएर रहेका सबै क्रान्तिकारीहरूलाई एकताबद्ध तुल्याई नयाँ ढङ्गले क्रान्तिलाई सङ्गठित रूपमा अगाडि बढाउने प्रयत्न गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :