यस वर्षको बितु–बिन्दासरा सिंह पुरस्कार नमुना र प्रशान्तलाई

यस वर्षको बितु–बिन्दासरा सिंह पुरस्कार नमुना र प्रशान्तलाई

टालेगाउँ (जाजरकोट) : यस वर्षको बितु सिंह–बिन्दासरा सिंह पुरस्कार नमुना सिंह र प्रशान्त सिंहलाई प्रदान गरिएको छ । जनयुद्धका सहिद गोपालबहादुर सिंह ‘तुफान’ को स्मृति दिवसका दिन दुई मेधावी छात्रछात्रालाई पाँच–पाँच हजारको छात्रवृत्ति प्रदान गरिएको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य पूर्णबहादुर सिंह ‘समरजङ्ग’ ले बुबा बितु सिंह र आमा बिन्दासरा सिंहको स्मृति र सम्मानमा २०७८ सालमा स्थापना गरेको ‘बितु सिंह–बिन्दासरा सिंह स्मृति छात्रवृत्ति’ श्री जनकल्याण आधारभूत विद्यालय, गुमथले, कुशे–२ का दुई छात्रछात्रालाई प्रदान गरिएको हो । २०५८ सालमा जनमुक्ति सेना नेपालले अछामको मङ्गलसेन कारबाहीका क्रममा तुफानलगायत कयौँ योद्धाहरूको बलिदान भएको थियो । फागुन २ गते बितु सिंहको स्मृति दिवस हो ।

यस वर्ष उक्त छात्रवृत्ति बितु सिंह–बिन्दासरा सिंहका जेठा छोरा गोरखबहादुर सिंह, विद्यालयका प्रधानाध्यापक तिलकबहादुर सिंह, शिक्षक भक्तबहादुर सिंह, सीताकुमारी सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर सिंह, सहिद तुफानकी आमा तुलसा सिंहलगायतले उक्त विद्यालयमा अध्ययनरत कक्षा ८ की उत्कृष्ट छात्रा नमुना सिंह र कक्षा ५ का जेहेन्दार छात्र प्रशान्त सिंहलाई पुरस्कारस्वरूप पाँच–पाँच हजार प्रदान गरे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य समरजङ्ग र जनमुक्ति सेनाका कमान्डर सहिद तुफानले उक्त विद्यालयमा स्थापना वर्षमा नै औपचारिक शिक्षाको प्रारम्भ गरेका थिए । जनकल्याण विद्यालयको स्थापना र विकासमा बितु सिंहलगायतको महत्वपूर्ण योगदान थियो । सिंहले २०७८ सालमा एक भव्य कार्यक्रममार्फत छात्रवृत्ति घोषणा गरेका थिए ।

यसअघि २०७९ सालको बितु सिंह–बिन्दासरा सिंह छात्रवृत्ति सोही विद्यालयका विद्यार्थी करिष्मा र युवराजले प्राप्त गरेका थिए भने छात्रवृत्ति स्थापना वर्ष २०७८ सालमा समरजङ्ग आफैँले जनकल्याण आधारभूत विद्यालय कुशे २, गुमथलेमा अध्ययनरत छात्रछात्रामध्ये कक्षा ३ मा अध्ययनरत जेहेन्दार छात्रा अम्बिका सिंह र कक्षा ७ मा अध्ययनरत विद्यालय प्रथम करिष्मा सिंहलाई प्रदान गरेका थिए ।

जनकल्याण आधारभूत विद्यालय नेता सिंहका बुबा बितु सिंह र स्थानीय मानबहादुर सिंहको पहलमा २०४५ सालमा स्थापना भएको थियो ।
बिन्दासरा र बितु सिंहले छोरा पूर्णबहादुर सिंह र छोरी जल्दरा सिंहलाई खुसीसाथ टीका लाएर महान् जनयुद्धमा लामबद्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :