डिप्रोक्स लघुबित्तका शाखा प्रबन्धक कट्टेललाई क्रान्तिकारी युवा सङ्गठनले कालोमोसो दले

डिप्रोक्स लघुबित्तका शाखा प्रबन्धक कट्टेललाई क्रान्तिकारी युवा सङ्गठनले कालोमोसो दले

सुर्खेत : डिप्रोक्स लघुबित्त बित्तीय संस्था गुर्वाकोट–६ मेहेलकुनाका शाखा प्रबन्धक दिपेन्द्र कट्टेललाई क्रान्तिकारी युवा सङ्गठनका कार्यकर्ताले कालोमोसो दलेका छन् । संस्थामा ऋणी सदस्यहरूलाई सामाजिक तथा मानसिक यातना हुने गरेर दबाब दिएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठनले शाखामै पुगेर कालोमोसो दलेका हुन् ।

देशैभर भष्ट्रचार तथा सुदखोर बिरुद्ध उत्रिएको मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको युवा सङ्गठनले कर्णाली प्रदेशमा पनि कालोमोसो अभियान शुरू गरेको सङ्गठनले जनाएको छ । सदस्य महिलाहरू माथि ज्यादती गरेकोलगायतका चारबुँदे चार्जसिट सार्वजनिक गर्दै क्रान्तिकारी युवा सङ्गठनले मोसो दलेको हो ।

लघुबित्तको हाकिम दिपेन्द्र कट्टेललाई कारवाही किन ? भन्ने शिर्षकमा सङ्गठनले अभियोग पत्र सार्वजनिक गरेको छ । जसमा कट्टेलले संस्थाले असुल गरिसकेको रकम सदस्यहरूसँग पुनः पटकपटक माग्ने तथा यातना दिने गरेको, रकम असुलीको नाममा जनतालाई त्रसित गरि घरबार छोड्न बाध्य पारेको, संस्थाको रकम दिन नसक्ने ऋणी महिला माथि हातपात र चरित्र गर्ने खालको गतिविधि गरेकोलगायत अभियोग पत्र सार्वजनिक गरिएको छ ।

डिप्रोक्स लघुबित्त बित्तीय संस्थाका शाखा प्रबन्धक दिपेन्द्र कट्टेललाई कालोमोसो दलेको दावी गर्दै इलाका प्रहरी कार्यालय अन्तरगत मेहेलकुना प्रहरी चौकीले सङ्गठनका दुई जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुर्खेतले जनाएको छ ।

क्रान्तिकारी युवा सङ्गठनका केन्द्रीय सदस्य हरिबहादुर बुढा र जिल्ला सदस्य सन्दीप विकलाई गिरफ्तार गरिएकोमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुर्खेतले खेद प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :