आर्थिक लालच, विचलन र परिणाम

लेखक : खगेन्द्र छन्त्याल

निश्चय नै आर्थिक अत्यन्तै महत्वपूर्ण चीज हो । व्यक्तिगत सम्पत्तिमा आधारित पुँजीवादी समाजमा त यसको महत्व निक्कै चमत्कारपूर्ण नै मानिन्छ । पुँजीवादी समाजमा श्रम, साधन र सम्पत्ति सबै व्यक्तिगत हुने भएको तथा जोसँग सबभन्दा बढी सम्पत्ति छ त्यही व्यक्ति समाजको सर्वश्रेष्ठ व्यक्ति कहलिने भएका कारण व्यक्ति अरूभन्दा आफूलाई श्रेष्ठ साबित गर्नका निम्ति हरतरहले आफ्नो व्यक्तिगत सम्पत्ति वृद्धि गर्न सधैँ लालायित हुने गर्दछ । यही क्रममा नै मान्छेले आफूलाई बढीभन्दा बढी शोषण, दमन, अन्याय, अत्याचार र भ्रष्टाचारको बाटोतिर धकेल्ने गर्दछ । तर समाजवादी समाजमा त्यस्तो हुँदैन । समाजवादी समाजमा श्रम, साधन र सम्पत्तिको उच्च सम्मान गरिन्छ तर त्यो कुनै व्यक्तिको हँुदैन । ती सबै समाजको हुने गर्दछन् । समाजवादी समाजमा सम्पत्ति एकाध व्यक्तिको होइन, समाजको हुने भएकै कारण त्यहाँ सम्पत्तिमाथि व्यक्तिको व्यक्तिगत लोभ, लालच हुँदैन । जब सम्पत्तिमाथि व्यक्तिको व्यक्तिगत लोभ, लालच हुँदैन तब सम्पत्तिका निम्ति त्यहाँ कुनै डाहा, जलन, प्रतिस्पर्धा, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार र भ्रष्टाचार पनि हुँदैन । त्यसैले नै समाजवादी समाजलाई शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार र भ्रष्टाचाररहित समाज पनि भन्ने गरिन्छ ।

समाजवादको नारा गैरकम्युनिस्टहरूले पनि दिएको देखिन्छ तर ती सबै बेकारका कुरा हुन् । उत्पादनका साधनहरूमाथि कुनै एकाध व्यक्तिको व्यक्तिगत अधिकार नभई त्यसमा सिङ्गो समाजकै अधिकार हुने समाज व्यवस्थालाई समाजवादी व्यवस्था भनिन्छ । के गैरकम्युनिस्टहरू उत्पादनका साधनहरू व्यक्तिको अधीनमा हुनु हुँदैन, समाजको अधीनमा हुनुपर्दछ, सबै व्यक्तिगत सम्पत्ति सामाजिकीकरण गरिनुपर्दछ भन्ने कुरामा सहमत हुनसक्छन् ? मलाई लाग्छ, यो कुरामा उनीहरू कदापि सहमत हुन सक्दैनन् । कम्युनिस्टहरूको त लक्ष्य नै व्यक्तिगत सम्पत्तिको अन्त्य हो, समाजवाद र साम्यवाद हो । त्यसकारण संसारका असली समाजवादी भनेको कम्युनिस्टहरू नै हुन्, यो निर्विवाद सत्य हो । तसर्थ कम्युनिस्टहरू व्यक्तिगत लोभ, लालचदेखि धेरै माथि उठ्नुपर्दछ । पैसो देखे ¥याल काढ्ने, आर्थिक लालचकै कारण नीति, नियम, सहमति, निर्णय, विधि, विधान, प्रक्रिया, पद्धति सबै कुल्चने तथा पैसोमा पद, प्रतिष्ठा लिलाम गर्ने व्यक्ति कम्युनिस्ट हुनै सक्दैन ।

कम्युनिस्टहरूले भोलि समाज, देश र संसारमा लागू गर्ने समाजवाद र साम्यवादको अभ्यास आज आफ्नै पार्टीमा ब्यवहारतः लागू गर्नुपर्दछ । हो, कम्युनिस्टहरू पनि बिद्यमान पुँजीवादी समाजमै जन्मे–हुर्केका कारण उनीहरूमा पनि त्यसको केही न केही गन्ध आउनु अस्वाभाविक होइन । तर जब एउटा मान्छे कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेर त्यो भट्टीमा खारिन्छ तव ऊ सामान्य मान्छे रहँदैन/रहनु हुँदैन । उसमा व्यक्तिगत आर्थिक लोभ, लालच हुनु हुँदैन किनकि व्यक्तिगत आर्थिक लोभ, लालचले कम्युनिस्ट पार्टीको सदस्यलाई गम्भीर प्रकारको आर्थिक विचलनको सिकार बनाउँछ । आर्थिक विचलनले मान्छेलाई साउनमा आँखा फुटेको गोरुझैँ बनाउँछ र उसले जताततै आर्थिक नै आर्थिक देख्छ । आर्थिकबाहेक अरू केही देख्दैन । आर्थिक विचलनकै कारण उसले गर्ने गतिविधिहरूले उसलाई कम्युनिस्ट पार्टीको सदस्य भन्न सुहाउँदैन । उसले पार्टी र क्रान्तिको प्रतिष्ठामा होइन, उसको आर्थिक चाहनामा आफूलाई केन्द्रित गर्दछ । उसले ठीक–बेठीक, वैध–अवैध सबै गरेर आर्थिक जोहो गर्दछ ।

आर्थिक विचलनका रोगीहरू चाहे त्यो कुनै पनि पार्टीको नेता, कार्यकर्ता नै किन नहोस्, सुरुमा उसले आफू जिउनका निम्ति पार्टीका नाममा कसैलाई धम्क्याउने, लुट्ने र माग्ने काम गर्दछ । त्यसपछि दोस्रो चरणमा उसले शानदार ढङ्गले आफू चल्नका निम्ति पार्टीका नाममा अनेकौँ धन्दा (ठगी, चोरी, डकैती, दलाली, भ्रष्टाचारी) पनि गर्दछ । यही चरणमा उसले आफूसँग मिल्दाजुल्दा मान्छे खोजेर एउटा जबर्जस्ती आर्थिक गिरोह निर्माण गर्दछ । पार्टी सत्ताको आडमा पार्टीभित्र आफ्नो अवैध धन्दा वैध बनोस् भन्नको खातिर त्यो गिरोहले पार्टीमा माथि, तल सबैतिर प्रभावमा पार्दै दायाँ, बायाँ धम्क्याउँदै पार्टीको सबै अङ्ग–प्रत्यङ्ग एकएक गर्दै कब्जा गर्ने प्रयत्न गर्दछ र तेस्रो चरणमा उसले पार्टीका नाममा धम्क्याउने, लुट्ने र माग्ने मात्र होइन, सबै धन्दा (ठगी, चोरी, डकैती, दलाली, भ्रष्टचारी) गरेर सम्पत्ति थुपार्न (घर, घडेरी जोड्न, बैङ्क ब्यालेन्स गर्न) मरिहत्ते गर्दछ । यसरी उसले पार्टीको एउटा पङ्ंक्तिलाई प्रभावमा पारेर पार्टी र क्रान्तिकै नाममा पार्टी र क्रान्तिको हुर्मत लिने गर्दछ । सायद त्यसैले होला संसारका कैयौँ सच्चा कम्युनिस्ट पार्टीहरू यसप्रकारको आर्थिक विचलनका घटनाहरूमा शून्य सहनशीलता अपनाएको देखिन्छ । वास्तवमा यसप्रकारका घटनाहरूमा सबैतिर यही ढङ्गले शून्य सहनशीलता अपनाइनुपर्दथ्यो । तर बिडम्बना ! त्यस्तो छैन । कैयौँ ठाउँमा त त्यसलाई नेतृत्वबाटै संरक्षण दिने र उत्साहित गर्ने काम भएको देखिन्छ । आर्थिक विचलनप्रति उदार बन्ने प्रवृत्ति गलत हो । कम्युनिस्ट पार्टी आर्थिक विचलनप्रति सबभन्दा बढी निर्मम हुनुपर्दछ ।

आर्थिक विचलनले राजनीति, सिद्धान्त, विचार, दृष्टिकोण र संस्कृति सबैतिर विकृति पैदा गर्दछ । जब राजनीति, सिद्धान्त, विचार,दृष्टिकोण र संस्कृतिमा विकृति पैदा हुन्छ तब चीज सबैतिर चिप्लिन सुरु गर्दछ । संसारका कैयौँ ठूलाठूला क्रान्तिकारी पार्टी, सत्ता र व्यक्तिहरू आर्थिक लालचले पैदा गरेको आर्थिक विचलनकै कारण नराम्रोसँग पछारिएका छन् । पूर्वी युरोपका तत्कालीन कम्युनिस्ट पार्टी र समाजवादी सत्ताहरू,तत्कालीन सोभियत सङ्घ, चीनलगायत देशका कम्युनिस्ट पार्टी र तत्कालीन समाजवादी सत्ताहरू यसका ज्वलन्त उदाहरण हुन् । तत्कालीन विश्वका खुँखार कम्युनिस्ट नेताहरू टिटो, ख्रुस्चोभ, ब्रेजनेभ, गोर्वाचोभ, तेङ् स्याओ पिङ, ,लि स्याओ ची, चाउ चेस्को आदि पनि व्यक्तिगत रूपमा यसका निम्ति उदाहरणका लागि योग्य पात्रहरू हुन् । भनिन्छ, तत्कालीन कम्युनिस्ट नेता तथा रुमानियाका राष्ट्रपति चाउ चेस्कोको पत्नीका जुत्ता मात्र हजारौँ जोर थिए रे जहाँका जनताले पाउरोटीसम्म पेटभरि खान पाउँदैनथे । आर्थिक लालच र त्यसले पैदा गरेको आर्थिक बिचलनको कुरूप उदाहरण हो यो । अन्त्यमा चाउ चेस्को दम्पतीलाई त्यहाँका जनताले हाकाहाकी (प्रत्यक्ष टेलिभिजन प्रसारणमा) मृत्युदण्ड दिए । आखिर किन यस्तो भयो ? कुनै दिनका लोकप्रिय तथा सम्मानित कम्युनिस्ट नेता तथा देशको राष्ट्रपतिको यो हालत किन भयो ? सीधा र प्रस्ट कुरा आर्थिक लालच र त्यसले पैदा गरेको आर्थिक विचलन नै यसको मुख्य कारण हो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा रायमाझीद्वय (केशरजङ्ग रायमाझीदेखि टोपबहादुर रायमाझी) सम्मको घटनालाई केलाएर हेर्दा (यद्यपि भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीको आफ्नै अडान छ साथै उनलाई अदालतले अपराधी नै करार गरिसकेको अवस्था होइन) सबै आर्थिक लालच र त्यसले पैदा गरेको आर्थिक विचलनको कारण सिर्जित समस्या नै जबर्जस्त देखिन्छन् । कुनै दिनका नेपाल कम्युनिस्ट पार्टीका महासचिव केशरजङ्ग रायमाझी हेर्दाहेर्दै शाही कम्युनिस्ट बने । कुनै दिन तत्कालीन मसालमा भर्भराउँदो युवा नेता थिए टो बहादुर रायमाझी । उनी अखिल छैटौँको अध्यक्षदेखि अनेयुसङ्घको अध्यक्ष हुँदासम्म मसालभित्र एउटा थेगो थियो युवा हुनत टोपबहादुरजस्तो । त्यति बेला हामीले सुन्थ्यौँ भारतमा चित्रबहादुरको कोट मागेर लगाएर टोपबहादुरले विवाह गरे । कालान्तरमा उनी मसालबाट विद्रोह गरी बाबुरामसँंगै एकताकेन्द्र हुँदै माओवादी बने । माओवादीमा पनि उनको क्षमता र सिद्धान्तप्रतिको निष्ठा एवम् क्रान्तिप्रतिको आस्थाकै कारण उनी हर्लक्कै बढे । वाईसीएलको संस्थापक प्रवक्ता, युद्धरत अवस्थामा जनमुक्ति सेनाको डिभिजन कमिसार हुँदै पार्टीको पदाधिकारी र सरकारको कैयौँपटक मन्त्री र उपप्रधानमन्त्रीसमेत बने । हेर्दै जाँदा पार्टी कथित शान्ति र संविधानको बाटोमा लागेपछि नै टोपबहादुर रायमाझीमा आर्थिकप्रतिको मोह तीव्र भएको देखिन्छ । त्यही तीव्र आर्थिक मोहले नै उनलाई आर्थिक विचलनतिर धकेल्यो जसको स्वाभाविक परिणाम (उनीप्रतिको आरोप प्रमाणित भएमा) देश, जनता र क्रान्तिप्रति उनले गद्दारी गर्न पुगे ।

जब केशरजङ्ग नेकपाको महासचिव चुनिँदै थिए त्यति बेला महाधिवेशन प्रतिनिधिहरू कसैले पनि सोचेका थिएनन् उनी एक दिन दरबारिया बन्नेछन् । तर दरबारको रसिलो आर्थिक लालचले उनलाई दरबारभित्र डो¥यायो । जब टोपबहादुर अखिलका अध्यक्ष थिए, युवा सङ्घको अध्यक्ष थिए, वाईसीएलका संस्थापक प्रवक्ता र जनमुक्ति सेनाको डिभिजन कमिसार थिए त्यति बेला सायद कसैले सोचेको थिएन देश, जनता, पार्टी र क्रान्तिप्रति उनले यति ठूलो गद्दारी गर्नेछन् । तर कथित शान्ति र संविधानको नारापछि उनमा अस्वाभाविक ढङ्गले देखिएको आर्थिकप्रतिको लालचले पैदा गरेको गम्भीर आर्थिक विचलनले उनलाई त्यहाँसम्म पुर्यायो । हो, आज हामीले साङ्केतिक ढङ्गले उठाएको आर्थिक लालच र विचलनका प्रश्नहरूतिर धेरैको ध्यान नजान सक्छ किनकि हिजो रायमाझीद्वय जति जिम्मेवार, सक्रिय र सक्षम देखिन्थे । आज जोजसका विरुद्ध औँला उठिरहेका छन्, पक्कै तिनीहरू पनि रायमाझीद्वय जस्तै जिम्मेवार, सक्रिय र सक्षम देखिन्छन् तर आज जो जतिसुकै जिम्मेवार सक्रिय, सक्षम र बफादार देखिए पनि ऊभित्रको चरम आर्थिक लालच र त्यसले पैदा गरेको आर्थिक विचलनको अन्तिम परिणाम भोलि पार्टी, क्रान्ति तथा देश र जनताप्रति अन्ततः गद्दारी नै हो । पूर्व जान हिँडेको रेल चढेको मान्छे अन्ततः ढिलोचाँडो पूर्व नै पुग्छ पश्चिमको रेल चढेको मान्छे एक दिन पश्चिम नै ।

रायमाझीद्वय त यो वा त्यो कारणले सतहमा आएका प्रतिनिधि पात्र मात्र हुन् । मौका पाएर गर्नुसम्म कुकर्म गरी गहिराइमा छिपेर बस्न सफल तथा मौका नपाएर कुकर्म गर्न नसकेका त्यस्ता रायमाझीहरू हरेक पार्टीहरूमा हजारौँ छन् । ‘फाटेको जालैले छेकेको छेके पनि छर्लङ्गै देखेको’ भनेझैँ देश र जनता, नेता, कार्यकर्ताले देखिरहेका छन् । समयक्रममा ती सबै सतहमा आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :