नेपालमा मनाइयो कोरियाली वर्कर्स पार्टीको ७८ औँ स्थापना दिवस 

नेपालमा मनाइयो कोरियाली वर्कर्स पार्टीको ७८ औँ स्थापना दिवस 

काठमाडौँ : नेपालमा रहेका जनगणतन्त्र कोरिया समर्थक नेपाल–कोरिया मैत्री सङ्घ, नेपाल–कोरिया लेखकरपत्रकार मञ्चलगायत संस्थाको संयुक्त आयोजनामा काठमाडौँमा कोरियाली वर्कर्स पार्टीको ७८ औँ स्थापना दिवस मनाइएको छ ।

नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्ष र नेकपा मालेका महासचिवसमेत रहेका कोरियाली वर्कर्स पार्टीको ७८ औँ स्थापना दिवस समारोह आयोजक समितिका अध्यक्ष सीपी मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ मानले संयुक्त रूपमा कोरियाली वर्कर्स पार्टीको स्थापना दिवस उत्साहका साथ मनाउने सबै सङ्घसंस्थालाई हार्दिक धन्यवाद व्यक्त गरे । जुछेमा आधारित कोरियाली समाजवाद आज पनि निरन्तर साम्राज्यवादविरुद्ध लडिरहेको र समाजवादका दुस्मनहरूले लगाएका सबै किसिमका नाकाबन्दीको प्रतिरोध गरिरहेको राजदूत जो योङ मानको भनाइ थियो । नेपाल र कोरियाबीचको सम्बन्ध अझै प्रगाढ हुने र यो सम्बन्ध अझ जनस्तरमा विकास हुने राजदूत जो योङ मानको भनाइ थियो । उनले कोरियाली सरकारका तर्फबाट पार्टी स्थापना दिवस र कोरियाले गरिरहेको सङ्घर्षसम्बन्धी पत्र वाचन गरेर सुनाएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले कोरियाली नेता किम इल सुङ लेनिन, माओ, स्टालिन हाराहारीका दार्शनिक र अन्तर्राष्ट्रिय व्यक्तित्व रहेको प्रस्ट पार्दै उनकै नेतृत्वमा साम्राज्यवादका सामुन्ने शिर ठाडो पार्नसक्ने कोरिया र कोरियाली वर्कर्स पार्टी निर्माण हुनु अनुकरणीय रहेको बताए । अहिले संसारमा कुनै पनि मुलुक कोरियाजस्तो शिर ठाडो पारेर साम्राज्यवादलाई चुनौती दिनसक्ने अवस्थामा नरहेको धारणा राख्दै प्रवक्ता कञ्चनले पराधीनताबाट मुक्त कोरियाले संसारका सबै उत्पीडित राष्ट्र र जनतालाई स्वाधीनताको पाठ सिकाएको पनि प्रस्ट पारे । साम्राज्यवाद र पराधीनताबाट मुक्त हुन संसारका सबै उत्पीडित राष्ट्र र जनताले कोरियाले जस्तै युद्ध लड्न र जित्न सक्नुपर्ने धारणा राख्दै कञ्चनले नेपालमा पनि मुक्तिका लागि दस वर्षसम्म जनयुद्ध भएको तर मुख्य नेतृत्वको आत्मसमर्पणका कारण लडाइँ अधुरै रहेको र क्रान्तिकारीहरूले त्यसलाई अघि बढाइरहेको बताए ।

कोरियाले चट्टानजस्तो प्रतिरोध सङ्घर्षमा उभिएर संसारको श्रमजीवी वर्गलाई सकारात्मक प्रभाव पारिरहेको धारणा राख्दै प्रवक्ता कञ्चनले कोरियालाई बुझ्ने र सिक्ने मात्र नभएर प्रतिरोध सङ्घर्ष र मुक्तियुद्ध सञ्चालन गरेर उत्पीडित देश र वर्गलाई मुक्त पार्ने कठोर यात्रामा अघि बढ्नुपर्ने स्पष्ट पारे । ‘हामी यहाँबाट नेपाली, कोरियाली र संसारका सबै उत्पीडित वर्गका पक्षमा लडिरहेका छौँ’, कञ्चनले भने, ‘आवश्यकताअनुसार कोरिया, चीन र रुसले देश र जनताका पक्षमा न्युक्लियर र ब्यालेस्टिक मिसाइलहरू प्रयोग गर्नुपर्छ ।’

अन्तर्राष्ट्रियतावादलाई केन्द्रमा राखेर नेपालका बन्दुक उठाउन सक्ने, बलिदान दिनसक्ने क्रान्तिकारीहरूबीच ध्रुवीकरण भइरहेको र यो अभियानका रूपमा अघि बढ्ने नेता कञ्चनको भनाइ थियो ।

समारोह आयोजक समितिका सदस्यसमेत रहेका नेपाल–कोरिया लेखकरपत्रकार मञ्चका अध्यक्ष अशोक सुवेदीले कोरियाली वर्कर्स पार्टीको ७८ औँ वार्षिकोत्सवका अवसरमा मार्सल किम जोङ उन, कोरियाली जनता र जनमुक्ति सेनालाई शुभकामना दिँदै नेपालका क्रान्तिकारीहरूले पनि कोरियाली जनताले जस्तै साम्राज्यवाद र उसका दलालहरूका विरुद्ध शक्तिशाली सङ्घर्ष छेड्नुपर्ने धारणा राखे ।

नेपालमा साम्राज्यवादका दलालहरूले मुलुकलाई साम्राज्यवादी युद्धमैदान बनाउने उद्देश्यका साथ ल्याइएको एमसीसी परियोजना पारित गरेर अमेरिकाको दलाली गरेको तर अर्कातिर कोरियाप्रति ओठेभक्ति देखाएर जग हँसाइरहेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले कथित समाजवादी मोर्चा र त्यसमा टाँसिने समूहहरू पनि प्रकारान्तरले साम्राज्यवादका एजेन्टहरू नै रहेको पुष्टि हुँदै गएको जिकिर गरे । उनले निकट भविष्यमा हुन लागेको मञ्चको पाँचौँ राष्ट्रिय भेलाका लागि कोरियाली राजदूतावास र कोरिया समर्थक सङ्घसंस्थाहरूलाई हार्दिक आमन्त्रण पनि गरे । मञ्चले मार्सल किम जोङ उनलाई पठाएको शुभकामनापत्र वाचन गरेर उनले राजदूत जो योङ मानलाई हस्तान्तरण पनि गरे ।

नेकपा मालेका नेतासमेत रहेका कार्यक्रम आयोजक समितिका सदस्य कुमार बेल्बासेले स्वागत गरेको कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव फणिन्द्र पन्तले गरेका थिए । कार्यक्रममा प्रदेश सांसद रेखा यादव, कोरिया निकट संस्थाका चेतलाल कुँवर, वसन्त श्रेष्ठलगायतले शुभकामना प्रदान गरेका थिए । जापानी साम्राज्यवादविरुद्धको लडाइँ जितेर कोरियालाई मुक्त पारेपछि सन् १९४५ अक्टोबर १० तारिखका दिन कोरियाली नेता किम इल सुङले धेरै कम्युनिस्ट पार्टी र समूहहरूलाई एकतृत गरी कोरियाली वर्कर्स पार्टी निर्माण गरेका थिए ।


कार्यक्रममा कोरियाली दूतावासमार्फत मार्सल किम जोङ उनलाई नेपाल–कोरिया लेखकरपत्रकार मञ्चले प्रेषण गरेको शुभकामनापत्र यसप्रकार रहेको छ :

शुभकामना–पत्र :

२२ असोज, २०८० (9th oct. 2023)

महामहिम मार्सल किम जोङ उन
अध्यक्ष
कोरियाली वर्कर्स पार्टी
मार्फत
महामहिम जो योङ मान
नेपालस्थित जनगणतन्त्र कोरियाली राजदूत ।

सर्वप्रथमतः कोरियाली वर्कर्स पार्टी स्थापनाको ७८ औँ वर्षगाँठका अवसरमामा नेपालस्थित जनगणतन्त्र कोरियाली दूतावासमार्फत कोरियाली वर्कर्स पार्टीका अध्यक्ष महामहिम मार्सल किम जोङ उन, कोरियाली जनता र कोरियाली जनमुक्ति सेनालाई हार्दिक शुभकामना प्रकट गर्दछौँ । यो गौरवशाली दिनले मरणोन्मुख साम्राज्यवादको धाक, धम्की र आतङ्कलाई परास्त गर्नसक्ने, खुला हाँक दिनसक्ने र समाजवादविरोधी, साम्राज्यवादीहरूले लगाएका साह्रा नाकाबन्दी र प्रतिबन्धलाई झेल्दै कोरियालाई अझ शक्तिशाली बनाउन, संसारका उत्पीडित राष्ट्र र जनतालाई मुक्तिका लागि जस्तोसुकै चुनौतीको सामना गर्नसक्ने आँट र हौसला प्रदान गर्न र समाजवाद निर्माणको दिशामा अघि बढिरहन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि प्रदान गर्दछौँ ।

कोरिया र कोरियाली जनताका मुक्तिका प्रणेता, जुछेका प्रवर्तक एवम् कोरियाली समाजवादका संस्थापक राष्ट्रपति किम इल सुङको साहस र दूरदृष्टिका कारण स्वतन्त्र, सार्वभौम र शक्तिशाली समाजवादी कोरिया निर्माण सम्भव भएको कुरा स्मरणीय र अनुकरणीय छ । नेपाल–कोरिया लेखक÷पत्रकार मञ्च नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न र अमेरिकीलगायत विश्वसाम्राज्यवादका विरुद्धको लडाइँमा कोरियाले गरिरहेको नेतृत्व अझ प्रभावकारी बनोस् भन्ने शुभकामना दिन चाहन्छ । नेपाललगायत संसारका विभिन्न देशमा साम्राज्यवादको दलाल सत्ता र सरकारका विरुद्ध जारी विभिन्न किसिमका वैधरअवैध मुक्तिसङ्घर्षप्रति हाम्रो मञ्च ऐक्यबद्धता जनाउँछ र नेपालमा दलाल पुँजीवादी सत्ता अन्त्य गर्न निकट भविष्यमा अरू ठूलो मात्रामा भीषण सङ्घर्ष सञ्चालन गर्नुपर्ने अवस्था उत्पन्न भएको तथ्य पनि जानकारी गराउन चाहन्छ ।

आजको शक्तिशाली कोरिया निर्माणमा कोरियाली जनताका महान् नेता किम जोङ इल र कोरियाली वर्कर्स पार्टीका वर्तमान अध्यक्ष मार्सल किम जोङ उनको कुशल नेतृत्वको महत्वपूर्ण भूमिका रहेको छ । हाम्रो मञ्च यो अवसरमा दक्षिणकोरियाबाट अविलम्ब अमेरिकी साम्राज्यवादी सैनिक क्याम्प हटाउन र कोरिया एकीकरणको वातावरण निर्माण गर्न सहयोग पुर्याउनका लागि आवाज उठाउन विश्वभरका समाजवाद र न्यायका पक्षधरहरूलाई हार्दिक आह्वान गर्दछ ।

यसैबीचमा नेपालस्थित कोरियाली महामहिम राजदूत जो योङ मानमार्फत नेपाल–कोरिया लेखक÷पत्रकार मञ्चको पाँचौँ राष्ट्रिय भेला विचारगोष्ठी र उत्सवका साथ आगामी महिना हुन लागेको जानकारी गराउन पाउँदा गौरवान्वित छौँ । मञ्चमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ कार्यालय सदस्य क। हेमन्तप्रकाश ओली ‘सुदर्शन’, सचिवालय सदस्य क। पूर्णबहादुर सिंह, आधा दर्जनको हाराहारीमा पार्टी केन्द्रीय सदस्यलगायत ठूलो पङ्क्ति आबद्ध भएको र लामबद्ध हुने क्रम रहरलाग्दो रूपमा बढिरहेको सुनाउन पाउँदा हर्षित छौँ । पाँचौँ राष्ट्रिय भेलामा पार्टीका अन्य कयौँ नेता–कार्यकर्ताहरू मञ्चमा आबद्ध हुन र जुछे अध्ययन गर्न व्यग्र प्रतीक्षारत रहेको सुखद खबर पनि सम्प्रेषण गर्न चाहन्छौँ ।

अन्त्यमा, जनगणतन्त्र कोरियाले जनउत्तरदायी व्यवस्था, कुशल नेतृत्व र जनताको एकताले नै देश र व्यवस्थालाई सक्षम र सुदृढ बनाउन सक्छ भन्ने एउटा असल उदाहरण प्रस्तुत गरेको छ । कोरियाली वर्कर्स पार्टीले कोरियालाई अझ विकसित, समृद्ध र उन्नत बनाओस् भन्ने अपेक्षा गर्दै पार्टीको ७८ औँ स्थापना दिवसमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

अशोक सुवेदी
अध्यक्ष
नेपाल–कोरिया लेखकरपत्रकार मञ्च

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :