स्वास्थ्यकर्मीहरुको आन्दोलनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको ऐक्यबद्धता

स्वास्थ्यकर्मीहरुको आन्दोलनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको ऐक्यबद्धता

काठमाडौं । स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथि दुर्वव्यवहार हुने घटनालाईलाई लिएर अहिले सडक आन्दोलन चलिरहेको छ । स्वास्थ्य सेवा रोगव्याधी विरुद्ध संघर्ष गरी मानव जीवन रक्षा गर्ने पवित्र, परोपकारी र परम सम्मानित पेशा हो । यस्तो पेशामा लागेका व्यक्तिहरुमाथि कुटपिट हुनु, दुव्र्यवहार हुनु दुःखद विषय भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले यसप्रकारका घटनाहरुको तीव्र निन्दा गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले स्वास्थ्य कर्मीहरुको सुरक्षा प्रत्याभूतिको माग गर्दै स्वास्थ्यकर्मीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, “यस प्रकारका घटनाहरु किन घटिरहेका छन् भत्रे कारणहरु खोज्नु सबैको दायित्व हो । नेपालको दलाल पूजीवादी व्यवस्थाले राज्यबाट व्यवस्थित गरिनु पर्ने स्वास्थ्य जस्तो जनताको नैसर्गिक अधिकारको विषयलाई व्यापारीकरण गरेपछि चिकित्सकहरुको पवित्र पेसा दलाल पुँजीपतिवर्गका लागि अकुत पैसा कमाउने आपराधिक पेशामा बदलिएको छ । बिरामी मानिसको विवशतामा मोलमोलाई गर्दै परिवारलाई सम्पत्तिहीन अवस्थामा पु¥याउने, उपचारको नाममा मृत मानिसहरुलाई घण्टौं भेन्टिलेटरमा राखेर पैसा असुल्ने, पैसा दिन नसक्ने बिरामीको उपचार बन्द गरिदिने, अत्यधिक मुनाफाका लागि चिकित्सकहरुले धेरै बिरामी हेर्नुपर्ने दवावका कारण कतिपय अवस्थामा निदान प्रक्रिया अपूर्ण हुने जस्ता घटनाहरु व्यापारिक अस्पतालमा हुने गरेका छन् । व्यापारिक एवम् व्यावसायिक अस्पतालका मालिकहरुको यो आपराधिक क्रियाकलापको मार चिकित्साकर्मीहरुमाथि पर्दै आएको छ, जसका कारण बिरामीका आफन्तको अगाडि आइपर्ने स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार हुने गरेको छ ।”

वक्तव्यमा भनिएको छ, “यसप्रकारको सामाजिक समस्याको वैज्ञानिक, न्यायोचित र जिम्मेवारपूर्ण समाधान गर्न सम्पूर्ण व्यावसायिक तथा व्यापारिक अस्पताल तथा शिक्षण संस्थाहरु बन्द गरी राष्ट्रियकरण गर्न र राज्यले समानरुपमा आम जनताका लागि शुलभ र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गर्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।”

वक्तव्यमा शिक्षक कर्मचारीहरुको माग पूरा गर्न सरकारसँग विशेष माग गर्दै भनेको छ, “विद्यालय शिक्षक तथा कर्मचारीहरु पनि लामो समयदेखि आन्दोलनरत छन् । शैक्षिक समस्याको मूल कारण पनि शिक्षा क्षेत्रलाई निजीकरण गरी नाफा आर्जनगर्ने व्यापारीकरण नै हो । हाम्रो पार्टी यसको विरोध गर्दछ । शिक्षा क्षेत्रलाई सम्पूर्ण रुपमा राष्ट्रियकरण गरी शिक्षाको व्यापारीकरणको अन्त्य गर्न, शिक्षकहरुका जायज मागहरु पुरा गर्न र सम्पूर्ण विद्यार्थीहरुलाई समान तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न हाम्रो पार्टी नेपाल सरकारसँग विशेष माग गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :