महिला सङ्गठनको राष्ट्रिय एकता भेला सम्पन्न, ७५ सदस्यीय सम्मेलन आयोजक समिति गठन

महिला सङ्गठनको राष्ट्रिय एकता भेला सम्पन्न, ७५ सदस्यीय सम्मेलन आयोजक समिति गठन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट महिला सङ्गठन क्रान्तिकारी महिला सङ्गठनको राष्ट्रिय एकता भेला सम्पन्न भएको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) र अखिल नेपाल महिला सङ्गठनबीचको एकता भेलाबाट सङ्गठनको नाम ‘क्रान्तिकारी महिला सङ्गठन, नेपाल’ तय गरेको छ ।
भेलाले अम्बिका मुडभरीको संयोजकत्वमा ७५ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण गरेको छ । उक्त सङ्गठनको सहसंयोजकमा शारदा महत र अञ्जना तामाङ रहेका छन् । भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ कार्यालय सदस्य सीपी गजुरेल र सुदर्शनको उपस्थिति थियो । यस्तै पार्टी सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक सुरेश श्रेष्ठ, लालबहादुर बीसी, प्रा.डा.जगदीशचन्द्र भण्डारीलगायत अतिथिका रूपमा उपस्थित थिए ।
अम्बिका मुडभरीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन पार्वती सिंहले गरेकी थिइन् भने स्वागत मन्तव्य अम्बिका रेग्मीले गरेकी थिइन् । भेलामा अम्बिका मुडभरीले प्रतिवेदन र अञ्जना तामाङले विधान प्रस्तुत गरेका थिए ।
भेलापछि बसेको नवगठित केन्द्रीय समितिको बैठकले प्रदेशका संयोजक, सहसंयोजक, प्रदेश र जिल्लाको एकता भेलाको मितिसमेत तय गरेको छ । बैठकले गरेको निर्णयअनुसार प्रदेश १ को संयोजकमा अम्बिका रेग्मी, सहसंयोजकमा रितु रपाल, प्रदेश २ को संयोजकमा नरमाया मगर र सहसंयोजकमा यशोदा माझी, प्रदेश ३ को संयोजकमा धनमाया निरौला ‘अनु’ र सहसंयोजकमा गीता कार्की, कमला चन्द र विमला भण्डारी, प्रदेश ४ को संयोजकमा लक्ष्मी खड्का, सहसंयोजकमा देवी थापा र उर्मिला थापा, प्रदेश ५ को संयोजकमा तेजकुमारी थापा, सहसंयोजकमा बिना भट्टराई, निमकला पुन र ईश्वरी थापा, प्रदेश ६ को संयोजकमा लक्ष्मी चौलागाईं, सहसंयोजकमा कैला बिष्ट, प्रदेश ७ को संयोजकमा पवित्रा कार्की, सहसंयोजकमा मीना कडाल र लक्ष्मी चौधरीलाई जिम्मेवारी दिएको छ । बैठकले असोज मसान्तसम्म प्रदेशको भेला र मङ्सिर मसान्तसम्ममा जिल्ला एकता भेला सम्पन्न गरिसक्ने निर्णयसमेत गरेको छ । भेलामा सहभागी अतिथिहरूले राजनीतिक–वैचारिक प्रशिक्षण राखेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :