नेपाल–कोरिया लेखक/पत्रकार मञ्चको राष्ट्रिय भेला सिन्धुलीगढीमा हुने

नेपाली र कोरियाली जनताका बीचको सम्बन्ध अझ प्रगाढ हुँदै गएको छ : राजदूत जो योङ मान

नेपाल–कोरिया लेखक/पत्रकार मञ्चको राष्ट्रिय भेला सिन्धुलीगढीमा हुने

काठमाडौँ
नेपाल–कोरिया लेखक/पत्रकार मञ्चको तेस्रो राष्ट्रिय भेला ऐतिहासिक सिन्धुलीगढीमा हुने भएको छ । भेला कात्तिकमा हुने जनाइएको छ । जनगणतन्त्र कोरियाको ७५ औँ राष्ट्रिय दिवस मनाउन बुधबार नेपालस्थित जनगणतन्त्र कोरियाली राजदूतावासमा आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
दूतावासद्वारा आयोजित विशेष कार्यक्रममा मञ्चद्वारा राजदूतमार्फत मार्सल किम जोङ उनलाई प्रेषित पत्र प्रस्तुत गरेपछि मञ्चका पदाधिकारीहरूलाई सम्बोधन गर्दै नेपालस्थित जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ मानले उत्साहपूर्वक ७५ औँ गणतन्त्र दिवस मनाएको भन्दै मञ्चलाई धन्यवाद दिए । उनले नेपालमा कोरियाली समाजवादप्रतिको रुचि र सक्रियताका कारण नेपाली र कोरियाली जनताबीचको सम्बन्ध झन्झन् प्रगाढ बन्दै गएको बताए । मञ्चको राष्ट्रिय भेलालाई अग्रीम बधाई तथा शुभकामना दिँदै राजदूत जो योङ मानले मञ्चको क्रियाशीलता सबैका लागि उत्साहवद्र्धक र अनुकरणीय रहेको पनि बताए ।
नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्षसमेत रहेका नेकपा (माले) का महासचिव सीपी मैनालीले नेपाल र कोरियाबीच दौत्य सम्बन्ध कायम भएको ४९ वर्ष भएको स्मरण गराउँदै पछिल्ला दिनहरूमा दुई देशबीचको सम्बन्ध जनस्तरसम्म प्रगाढ बन्दै गएको बताए । जनगणतन्त्र कोरियाले आफ्नो समाजवाद र जनताको रक्षाका लागि अमेरिकी साम्राज्यवादविरुद्ध कायम राखेको र विस्तार गरेको शक्ति प्रशंसनीय रहेको उनले बताए ।


नेपाल–कोरिया लेखक÷पत्रकार मञ्चका अध्यक्ष अशोक सुवेदीले जनगणतन्त्र कोरिया साम्राज्यवादविरोधी, समाजवाद पक्षधर संसारका सबै देश र जनताको प्रिय मित्र रहेको बताए । राष्ट्रपति किम इल सुङ प्रतिपादित जुछे विचार, नेता किम जोङ इल प्रतिपादित सङ्गुन नीति र मार्सल किम जोङ उनको हिम्मत, दूरदर्शिता र दृढताका कारण नै आज जनगणतन्त्र कोरियाले विश्व–साम्राज्यवादको नाइके अमेरिकी साम्राज्यवादलाई थर्कमान बनाएको उनको भनाइ थियो । मञ्चले जनगणतन्त्र कोरियाली राजदूत, कोरियाली पाहुना र कोरियासँग सम्बन्धित सबै सङ्घसंस्थाको उपस्थितिमा ऐतिहासिक सिन्धुलीगढीमा तेस्रो राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी पनि दिए ।
मञ्चले दूतावासमार्फत जनगणतन्त्र कोरियाका राष्ट्रप्रमुख मार्सल किम जोङ उनलाई पठाएको शुभकामनापत्र मञ्चका महासचिव हरिश भट्टले वाचन गरेर सुनाएपछि सामूहिक रूपमा राजदूत जो योङ मानलाई हस्तान्तरण गरिएको थियो । दूतावासका काउन्सिलर किम जेएचले विचार र राजनीतिले प्रेरित मञ्चको शुभकामनापत्रले आफूहरूलाई थप उत्साहित पारेको प्रतिक्रिया दिए ।
कार्यक्रममा मञ्चका उपाध्यक्षहरू सुभास गजुरेल, अम्बिका चन्द, मञ्चका सचिव रहिसकेका क्रान्तिकारी कम्युनिस्ट पार्टी काठमाडौँका सहसंयोजक रणबहादुर विक, सदस्य मोहनलाल घिसिङ, प्रस्तावित आजीवन सदस्य बद्रीकुमार चौलागाईंलगायत सहभागी थिए ।
कार्यक्रममा कोरियासँग सम्बन्धित साहित्यिक संस्थाका अध्यक्ष शङ्कर भारती, जुछे विचारका अनुयायी चेतन कुँवरलगायत उपस्थित थिए ।
छलफलअघि मञ्चका पदाधिकारी र सदस्यहरूले पुष्पगुच्छा र खादा प्रदान गरी कोरियाली व्यवस्था र कोरियाली जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
मञ्चले राजदूतावासमार्फत मार्सल किम जोङ उनलाई पठाएको शुभकामनापत्रको पूर्ण विवरण यसप्रकार रहेको छ :

महामहिम मार्सल किम जोङ उन
राष्ट्रप्रमुख
जनगणतन्त्र कोरिया
मार्फत
जो योङ मान
नेपालका लागि जनगणतन्त्र कोरियाका महामहिम राजदूत
काठमाडौँ ।

विषय :७५ औँ जनगणतन्त्र दिवसको हार्दिक शुभकामना !
सर्वप्रथमतः ७५ औँ कोरियाली जनगणतन्त्र दिवसका अवसरमा महामहिम मार्सल किम जोङ उनसहित समग्र न्यायप्रेमी, स्वतन्त्रताप्रेमी, समानताप्रेमी कोरियाली जनताको सुख र समृद्धिको अपेक्षा गर्दछौँ, अन्याय र विभेदका विरुद्ध कोरियाली जनताको महान् बलिदान र त्यागको उच्च प्रशंसा गर्दै उनीहरूले निरन्तर जारी राखेको सङ्घर्षमा देशभक्त, क्रान्तिकारी नेपाली जनता र हाम्रो संस्था नेपाल–कोरिया लेखक÷पत्रकार मञ्चका तर्फबाट ऐक्यबद्धता प्रकट गर्दछौँ । साथै साम्राज्यवादी दमन र षड्यन्त्रलाई चिर्दै एउटै शक्तिशाली समाजवादी कोरिया निर्माणका लागि जनगणतन्त्र कोरियाले गरिरहेको पहल सार्थक बनोस् भन्ने शुभकामना प्रदान गर्दछौँ !
विश्व–साम्राज्यवाद र त्यसको नाइके अमेरिका आज पनि आफ्नो अन्तिम धुकधुकी बाँकी राख्दै संसारका न्यायप्रेमी, स्वतन्त्रताप्रेमी देश र जनताविरुद्ध अन्यायपूर्ण युद्ध लादिरहेको छ र आफ्नो रक्तपिपासु चरित्र प्रदर्शन गरिरहेको छ । महान् लेनिनले भन्नुभएझैँ साम्राज्यवाद भनेको युद्ध हो र महान् माओले भन्नुभएझैँ साम्राज्यवाद कागजी बाघ नै हो । त्यो सत्य कोरियाली जनताले राष्ट्रपति किम इल सुङको नेतृत्वमा राष्ट्रिय स्वाधीनताको लडाइँ जितेर साबित गरिसकेका छन् । मार्सल किम जोङ उनको कुशल नेतृत्वमा आज जनगणतन्त्र कोरियाले साम्राज्यवाद कागजी बाघ मात्र रहेको प्रमाणित गरिरहेको छ । साम्राज्यवादका सबैखाले घृणित हर्कतहरू संसारका कुनै पनि स्वाभिमानी, क्रान्तिकारी जनतालाई सैह्य छैन । साम्राज्यवादविरुद्धको सङ्घर्षमा आज जनगणतन्त्र कोरियाले संसारकै स्वतन्त्रताप्रेमी, साम्राज्यवादविरोधी शक्तिहरूको विश्वास जितेको छ र न्यानो माया पनि पाइरहेको छ । हामी नेपालका मालेमावादी–क्रान्तिकारी, देशभक्तहरू साम्राज्यवादका तमाम षड्यन्त्र र साम्राज्यवादका दलाल नेपाली शासकहरूको चरम दलालीको मारमा छौँ । यहाँका शासकहरूले साम्राज्यवादलाई रिझाउन र नेपाललाई साम्राज्यवादी युद्धमैदान बनाउने षड्यन्त्रस्वरूप लागू गर्न लागेको एमसीसीजस्तो राष्ट्रघाती सम्झौताका विरुद्ध पनि प्रतिरोध सङ्घर्ष चलाइरहेको स्मरण गराउँछौँ ।
न्याय, समानता र मुक्तिको यो अन्तिम लडाइँमा कोरियाली जनता र नेपाली मुक्तिप्रेमी जनताको हातेमालो हुनेछ भन्ने सन्देश पनि ७५ औँ जनगणतन्त्र दिवसका अवसरमा व्यक्त गर्दछौँ ।
अशोक सुवेदी
अध्यक्ष
नेपाल–कोरिया लेखक÷पत्रकार मञ्च

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :