नेपाल कम्युनिस्ट पार्टी, चितवनको साङ्गठनिक विकास

चितवनमा कम्युनिस्ट सिद्धान्तको प्रवेश कहिले भयो भन्ने सम्बन्धमा वस्तुनिष्ट उत्तर दिन सकिँदैन र पनि प्रजातन्त्र स्थापनासँगसँगै कम्युनिस्ट सङ्गठन निर्माणको आधारभूत पृष्ठभूमि निर्माण भएको देखिन्छ । २००८ सालमा गौरीभक्त प्रधान चितवनको चनौलीमा आएर बसोबास गर्न सुरु गरे । पछि उनी उत्तर गण्डक प्रान्तीय समितिका सदस्य भएका थिए । तर उनले साङ्गठनिक संरचनाको विकास र विस्तारमा कुनै उल्लेखनीय भूमिका निर्वाह गर्न सकेनन् । उनी चितवनमा रहँदाकै समयमा रक्षा दलको विद्रोह (डा. केआई सिंहको विद्रोह) मा संलग्न भएको भनी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो । यस घटनालगत्तै गौरीभक्त प्रधानलाई गुरिल्ला तालिम लिनका लागि चीन पठाइयो । झन्डै २ वर्ष १० महिनाको बसाइपछि चीनबाट स्वदेश फर्किएका गौरीभक्त प्रधान कहिले काठमाडौं कहिले चितवन गर्दै रहे तर पनि उनी चितवनमा साङ्गठनिक संरचना निर्माणमा अग्रसर हुन सकेनन् । स्वयम् उनैको भनाइमा तत्कालीन समयमा उनी सङ्गठनको केन्द्रीय समितिमा एक सल्लाहकारका रूपमा रहेका थिए ।

चितवनमा कम्युनिस्ट सङ्गठनको विकासक्रमका सन्दर्भमा चर्चा गर्दा किशोरचन्द्र ढुङ्गानाको भूमिका पनि स्मरणीय रहेको देखिन्छ । ढुङ्गाना पूवी चितवनको जुटपानीस्थित कछारमा जन्मि–हुर्किएका व्यक्ति थिए । चितवनमा व्यवस्थित बसोबास सुरु हुनुभन्दा अगाडिदेखि नै पहाडी बस्तीहरूबाट पूर्वी चितवनमा बसाइ सरी आउनेहरूले खोरिया फाँडेर नयाँ बस्ती विकास गर्दै थिए । यसक्रममा वन प्रशासनले नयाँ बसोबास गर्न आउनेहरूलाई दुःख दिँदा ढुङ्गानाले सदैव गाउँलेहरूलाई साथ दिँदै आएका थिए । उनी निमुखा गरिब किसानहरूका भरोसाका व्यक्ति बने । घनाजंगल अनि जंगली जनावर हरूको ठूलो बिगबिगी भइरहेको समयमा जङ्गली जनावरको आक्रमणबाट जनतालाई मुक्ति दिलाउन ‘हरियो वन फाँड्नैपर्दछ – वन्यजन्तु खेद्नैपर्दछ’ भन्ने नारा अगाडि सारेर वन फँडानी गरी बस्ती विकासको अभियान अगाडि बढाए । उनले सञ्चालन गरेको सो अभियानमा ३५० जनाभन्दा बढी व्यक्तिहरूले गिरफ्तारी दिएर साथ दिएका थिए । तत्कालीन समयसम्म राजनीतिक चेतना शून्यप्रायः रहेको यहाँको समाजमा ढुङ्गानाका गतिविधिहरू अगाडि देखिए । एक निडर हक्की र विद्रोही स्वभाव भएका ढुङ्गानाका क्रान्तिकारी गतिविधिबाट लाल कम्युनिस्ट पार्टीका नेताहरू पनि निकै प्रभावित भए । यसक्रममा लाल कम्युनिस्ट पार्टीका एक नेता षडानन्दको प्रेरणा तथा तत्कालीन चितवनको सामाजिक तथा आर्थिक परिस्थितिको परिणामस्वरूप ढुङ्गाना चितवनमा एक क्रान्तिकारी व्यक्तिका रूपमा स्थापित भए । यसक्रममा उनले किसानसभा गठन गरे । किसानसभामार्फत किसान आन्दोलन अगाडि बढाउँदा उनी गिरफ्तार परेका थिए । किसानसभामार्फत उनी विशेषगरी शोषित–पीडित आदिवासी थारुहरूका अभिभावक बने । लाल कम्युनिस्ट पार्टीमा आबद्ध रहेका किशोरचन्द्रले किसानसभामार्फत अन्याय र अत्याचारका विरुद्ध लडाइँ गरे पनि औपचारिक रूपमा कम्युनिस्ट सङ्गठन निर्माणमा समर्पित हुन भने सकेनन् । वास्तवमा उनको क्रान्तिकारी एवम् जुझारु गतिविधिले कम्युनिस्ट आदोलनका लागि सुनौलो अवसर सिर्जना भए पनि सही दुरुपयोग हुन पाएन ।

चितवनको कम्युनिस्ट सङ्गठनको विकास र विस्तारमा बन्दीपुरको कम्युनिस्ट सङ्गठनको भूमिकालाई पनि यस सन्दर्भमा उल्लेख गर्नैपर्ने हुन्छ । नेकपाको मध्य– गण्डक प्रान्तको केन्द्र रहेको बन्दीपुर, लमजुङ, तनहँु, गोर्खाको व्यापारिक केन्द्र पनि थियो । चितवनमा नयाँ बसोबास सुरु हुनुअघि बन्दीपुरका व्यापारीहरू हिउँदमा नारायणगढमा बसेर व्यापार चलाउँदै गर्दा राजनीतिक चेतनालाई पनि नारायणगढमा स्थायी रूपमा बसोबास गरी व्यापार सुरु गरेका बन्दीपुरका व्यापारीहरूले पनि नारायणगढमा व्यापारका साथसाथै, राजनीतिक गतिविधिमा पनि जोड दिएका दिए । यस सन्दर्भमा कदमकुमार पिया, मदनमोहन जोशी, बटुकलाल प्रधान आदिको योगदान विशेष उल्लेखनीय रहन गएको देखिन्छ ।

चितवनमा कम्युनिस्ट सङ्गठनको विकास र विस्तारमा यहाँको सामाजिक तथा आर्थिक संरचनाले पनि मलजल पु¥याएको देखिन्छ । चितवनको नयाँ बसोबासको योजना लागू भएपछि विभिन्न जिल्लाबाट विभिन्न स्वभाव र पृष्ठभूमिका व्यक्तिहरूको आगमन भयो । भोकानाङ्गा तथा सुकुमबासीहरूमात्र थिएनन् । समाजको असमानताविरुद्ध विद्रोह गर्नेहरू, समाजको अन्याय– अत्याचारबाट पिल्सिएकाहरू, उच्च महत्वाकाङ्क्षा बोकेर, नयाँ–नयाँ उत्साह र उमङ्ग लिएर आएका व्यक्तिहरू पनि थिए जसबाट चितवनमा एउटा नयाँ र मिश्रित समाज निर्माण भयो । नयाँ र मिश्रित समाजका कारण अन्य जिल्लाको जस्तो चितवनमा धनी र गरीबबीच ठूलो भेदभाव रहेन । यहाँको समाज सहिष्णु र प्रगतिपथतर्फ उन्मुख रह्यो । यस अवस्थामा समाजमा राजनीतिक विचारधाराअनुरूपका सङ्घ संगठनका आधारहरू निर्माण भए । यसै सन्दर्भमा कम्युनिस्ट सिद्धान्तबाट प्रभावित व्यक्तिहरूले पनि साङ्गठनिक संरचनामा जोड दिए । जसको विवरण तल प्रस्तुत गरिन्छ ः
नेपाल युवक संगठन चितवन (२०१३)
चितवनमा व्यवस्थित बसोबास सुरु हुनुपूर्व नै नारायणगढ एक प्रमुख व्यापारिक नाकाका रूपमा रहँदै आएको भए पनि व्यवस्थित बजारको विकास हुन सकिरहेको थिएन । राप्ती उपत्यकाका विकास योजना लागू भएर चितवनमा व्यवस्थित बसोबास सुरु भएपछि नारायणगढमा पनि स्थायी बजारको विकास भयो । विशेष गरी बन्दीपुरका नेवार व्यापारीहरूको बाहुल्य रहेको नारायणगढ बजारलाई व्यवस्थित बनाउन गठन भएका विभिन्न समितिहरूमा पनि राजनीतिक विचारले प्रभाव पार्ने ग¥यो । यसैक्रममा बन्दीपुरमा रहँदा नै कम्युनिस्ट विचारबाट प्रभावित भएर नेकपा बन्दीपुर शाखाको सचिवसमेत भइसकेका मदनमोहन जोशीको सक्रियतामा नारायणगढ चितवनमा युवाहरूको एक समिति गठन भयो कि मदनमोहन जोशी यस समितिलाई चितवनको पहिलो कम्युनिस्ट सङ्गठन भन्न रुचाउँछन् तर निम्नलिखित तर्कहरूका आधारमा यो समिति चितवनको पहिलो कम्युनिस्ट सङ्गठन नरहेको प्रस्ट गर्न सकिन्छ ।
१) मदनमोहन जोशीको घरमा उनैको उपस्थितिमा २०१६ मा चितवनमा नेकपाको समिति गठन हुँदा यसपूर्व २०१३ मा समिति गठन भएको कुनै चर्चा परिचर्चासमेत गरिएको देखिँदैन ।
२) यदि यो समिति २०१३ मा गठन भएको भए २०१४ मा सम्पन्न नेकपाको दोस्रो महाधिवेशनमा यस समितिबाट पनि कुनै न कुनै रूपमा सहभागिता हुनुपर्ने थियो तर त्यसो पनि भएन । यसबाट पनि २०१३ मा चितवनमा नेकपाको समिति गठन भएको विश्वास गर्न सकिँदैन ।
३) यदि २०१३ मा समिति गठन भएको भए तत्कालीन चितवनको कम्युनिस्ट राजनीतिसँग निकट रहेका केन्द्रीय सदस्य कृष्णलाल प्रधान, काठमाडौं शाखाका कार्यालय सचिव रहेका पुण्यप्रताप राणा, केन्द्रीय समितिमा सल्लाहकारका रूपमा रहेका गौरीभक्त प्रधानहरूलाई जानकारी हुनुपर्ने थियो । उपर्युक्त तीनजनालाई नै सो समिति गठनबारे कुनै जानकारी भएको देखिँदैन ।
४) तत्कालीन समयमा कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा भइसकेको थियो । पार्टीगत गतिविधिहरू खुल्ला रूपमा सञ्चालित भइरहेका थिए तर पनि सो समितिबाट सङ्गठनात्मक पहिचान रहने कुन कार्यहरू भएको पाइँदैन ।
५) मदनमोहन जोशीका अलावा सो समितिमा रहेका भनिएका गणेशकुमार शाक्यलाई पनि यस समितिका सम्बन्धमा कुनै जानकारी रहेको पाइँदैन बरु उनी तत्कालीन समयमा नारायणगढ बजार विकासका लागि युवक सङ्गठनका नाममा बजार समिति गठन भएको र आफू सो समितिमा रहेको बताउँछन् ।
उपर्युक्त विभिन्न तथ्यहरूबाट २०१३ मा चितवनमा कम्युनिस्ट पार्टीको समिति गठन भएको नभई नेपाल युवक सङ्गठनका नाममा बजार व्यवस्थापन समिति गठन भएको मान्न सकिन्छ ।

नेपाल कम्युनिस्ट पार्टी चितवनको सङ्गठनात्मक विकासको इतिहासमा महत्वपूर्ण वर्ष बन्यो । काठमाडौं जिल्ला सङ्गठनको कार्यालय सचिवको जिम्मेवारी सम्हालिसकेका पुण्यप्रताप राणा, चीनमा गुरिल्ला तालिम प्राप्त गरी फर्केका गौरीभक्त प्रधान, नेकपा बन्दीपुर शाखाका सचिवको जिम्मेवारी सम्हालिसकेका मदनमोहन जोशी तथा पुष्पलाल श्रेष्ठसँग निकट सम्बन्ध भएका तनहुँका एक कार्यकर्ता गुणबहादुर घले गरी ४ जना मिलेर नारायणगढस्थित मदनमोहन जोशीको घरमा २०१६ को जेठ महिनामा नेकपा चितवन शाखा गठन भयो । यस समितिमा क्रमशः छविलाल आचार्य २०१६ कार्तिकमा, जगतबहादुर श्रेष्ठ २०१६ फागुनमा र टेकनाथ बराल २०१७ जेठमा यस समितिमा थप गरिए । यसरी हेर्दा २०१७ साल पुसको राजनीतिक परिवर्तनपूर्व नेकपा चितवनको औपचारिक संगठनमा पुण्यप्रताप राणा, गौरीभक्त प्रधान, गुणबहादुर घले, मदनमोहन जोशी, छविलाल आचार्य, जगतबहादुर श्रेष्ठ र टेकनाथ बराल गरी ७ जना सस्यहरू मात्र रहेको प्रस्ट हुन आउँछ ।
नेपाल कम्युनिस्ट पार्टी, चितवन शाखाको प्रथम सचिवका सम्बन्धमा विवाद
नेपाल कम्युनिस्ट पार्टीको संस्थापक सदस्यहरू तथा पार्टीको स्थापना दिवसका सम्बन्धमा विवाद देखिएजस्तै चितवनको कम्युनिस्ट संगठनको प्रथम सचिवका सम्बन्धमा पनि विवाद रहँदै आएको देखिन्छ । प्रमाणिक दस्तावेजका अभावमा निर्विवाद निष्कर्ष निकाल्न नसकिए पनि सम्बन्धित विभिन्न स्रोत तथा सम्बन्धित व्यक्तिहरूसँगको भेटवार्ताबाट पुण्यप्रताप राणा प्रथम सचिव हुन् भन्ने निचोडमा पुग्न सकिन्छ । यस सम्बन्धमा देखिएको विवाद र निष्कर्षका लागि भएका प्रयास तथा निष्कर्षका सम्बन्धमा तल सङ्क्षेपमा उल्लेख गर्नु सान्दर्भिक देखिन्छ ः
चितवनमा कम्युनिस्ट पार्टीको इतिहाससम्बन्धी छलफल गर्न मिति २०५९/११/२ मा काठमाडौंमा र मिति २०५९/११/१३ मा चितवनमा आयोजित चितवनका पुराना नेता तथा कार्यकर्ताहरूको भेलाबाटसमेत पहिलो कम्युनिस्ट सङ्गठन कुन थियो ? प्रथम सचिव को हो ? भन्ने सम्बन्धमा यकिन हुन सकेको देखिँदैन । चितवनमा आयोजना गरिएको सो भेलाबाट २०१३ मा चितवनमा मदनमोहन जोशीको सचिवत्वमा पहिलो समिति गठन भएको र २०१६ मा गठित समितिको प्रथम सचिव गौरीभक्त प्रधान भन्ने निष्कर्ष निकालिएको देखिन्छ तर सो निर्णयप्रति पुण्यप्रताप राणा सहमत रहेको देखिँदैन । यस सम्बन्धमा उनको भनाइ छ ः
उक्त भेलामा २०१३ मा गठित समितिको सचिवमा मदनमोहन जोशी र २०१६ मा गठित समितिको पहिलो सचिवका सम्बन्धमा कसैले गौरीभक्तको नाम उठायो । काम गर्नु थियो काम गरियो । बुझ्नेले बुझेका छन्, जान्नेले जानेका छन् । मैले कम्युनिस्ट पार्टी छोडिसकेको अहिलेको अवस्थामा सो भेलाबाट तर्क–वितर्क गरिरहन आवश्यक पनि थिएन । उपयुक्त पनि लागेन । त्यसैले चुपचाप लागेँ । अन्तमा उक्त भेलामा गौरीभक्तलाई सो समितिको सचिव भनी निष्कर्षसहित निर्णय भयो । वास्तविक रूपमा म नै चितवनको कम्युनिस्ट सङ्गठनको पहिलो सचिव हुँ ।

सो समितिको पहिलो सचिवका सम्बन्धमा सोही समितिका अर्का सस्थापक सदस्य गौरीभक्त प्रधानको भनाइ अलि भिन्न रहेको पाइन्छ । उनका अनुसार ः
नेकपा चितवनको पहिलो सचिव पुण्यप्रताप राणा हुन् । सचिव पुण्यप्रताप राणाको अनुपस्थितिमा कहिलेकाहीँ आफँैले सचिवको जिम्मेवारी समाल्नुपरेको अवस्थालाई लिएर कसैले सो समितिको प्रथम सचिवका रूपमा मलाई चिनाएको भए पनि म चितवनको प्रथम सचिव होइन ।
यसैगरी सो समितिका अर्का एक संस्थापक सदस्य मदनमोहन जोशी चितवनको कम्युनिस्ट सङ्गठनको पहिलो सचिव आफू भएको धारणा व्यक्त गर्दछन् । जब कि जोशीले चितवनका पुराना कम्युनिस्ट नेता कार्यकर्ताहरूको भेलामा उपस्थित भएर २०१६ मा गठित समितिको प्रथम सचिव गौरीभक्त प्रधान हुन् भन्ने निष्कर्षको निर्णयमा हस्ताक्षर गरेका थिए । यस सङ्गठनमा प्रवेशका दृष्टिले पाँचौँ व्यक्ति बनेका छबिलाल आचार्य पहिलो सचिव गौरीभक्त नै हुन् भन्ने कुरामा ठोकुवा गर्दै गौरीभक्तले सचिवको हैसियतमा आफूलाई २०१७ माघमा सम्पन्न भएको पार्टीको दरभङ्गा प्लेनममा प्रतिनिधिका रूपमा भाग लिन पठाएको बताउँछन् । यसैगरी सो समितिका अन्य सदस्यहरू जगतबहादुर श्रेष्ठ र टेकनाथ बरालअनुसार सो समितिको प्रथम सचिव गौरीभक्त प्रधान नभई पुण्यप्रताप राणा रहेको देखिन्छ ।

२०१६ मा गठित यस कार्य समितिले साङ्गठनिक विकासका साथै साङ्गठनिक पहिचान गराउने केही गतिविधिहरू पनि अघि बढाएको पाइन्छ । आनन्दपुर, केशरबाघ तथा शिवनगर इलाका समितिहरू गठन भए । नेपाल भारतबीच सम्पन्न गण्डक सम्झौताको विरोधमा नारायणगढ बजारमा जुलुस प्रदर्शन ग¥यो । यसैगरी तत्कालीन समयमा छोडपत्रका आधारमा जग्गा खरिद– बिक्री भइरहेको कार्यलाई सरकारी मान्यता दिलाउन जोड दिइयो । राप्ती उपत्यका विकास योजनाअन्तर्गत भूमि वितरण गर्दा छुट्याइएका गौचरनहरूमा कृष्णबम मल्लपछिका निर्देशकहरूले जथाभावी बसोबास गराउने कार्यको विरोधमा ‘गौचरन बचाउ अभियान’ सञ्चालन गरेका थिए । २०१७ माघमा भएको नेकपाको दरभङ्गा प्लेनममा यस समितिका तर्फबाट गौरीभक्त प्रधान, पुण्यप्रताप राणा तथा छबिलाल आचार्यले भाग लिएका थिए । २०१७ को भदौ महिनाको अन्तिम सप्ताहमा सम्पन्न नेकपाको केन्द्रीय समितिको बैठकबाट पार्टीको तेस्रो महाधिवेशन २०१७ को फागुन ७ गतेबाट चितवनको नारायणगढमा गर्ने निर्णय गरिएको थियो । चितवनको नारायणगढलाई महाधिवेशन स्थलमा छनौट गरिनु साङ्गठनिक विकासको कारण हो भन्न सकिन्छ ।

२०७४ भदौ ३० गते ६ : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :