जगत बुझ्ने र बदल्ने प्रश्न : सुदर्शन

नेपाल कम्युनिस्ट पार्टी विश्व कम्युनिस्ट आन्दोलनको एक टुकडी हो । नेपाली श्रमजीवी र उत्पीडित वर्गको अग्रदस्ता हो । माक्र्सवाद–लेनिनवाद–माओवाद यसको मार्गदर्शक, सूक्ष्मदर्शक र दूरदर्शक हो । नेपालमा हामी यसको रक्षा, प्रयोग र विकासको प्रक्रियामा छौँ । आठौँ महाधिवेशनले परम्परागत स्कुलमा क्रमभङ्ग गरी नयाँ स्कुलको प्रारम्भ गरेको छ । मालेमावादी विज्ञानको अध्ययन, अनुसन्धान, अनुसरण र विकासको सट्टा पुरानै सत्ताको स्वार्थ, आफूभित्रै रहेको परम्परागत संस्कार र आदतको सिकार भएर क्रान्तिकारी विचार र पार्टीको विघटन हुने चुनौती बढेर गएको स्थितिमा यो महाधिवेशनले विचारधारा विकासको उद्घाटन गरी उज्ज्वल भविष्य देखाएको छ । क्रान्तिकारी कार्यदिशा कार्यान्वयनको सट्टा निम्नपुँजीवादी आर्थिक आधारबाट पैदा हुने आत्मकेन्द्रित व्यक्तिवादका कारण अराजकता, अकर्मण्यता, अनुशासनहीनता, टुटफुट, निराशा र अल्छीपनाको सिकार पार्टी हुने खतरा पनि बढेर गएको छ । समग्रमा भन्दा यो विश्वदृष्टिकोणकै समस्या हो । उल्लिखित समस्याको समाधान भनेको नेता र कार्यकर्ताको पुनः संस्कार र पुनर्शिक्षण गर्नु नै हो ।

एकीकृत जनक्रान्ति कार्यदिशाअनुसार दर्शनलाई जनताबीच लैजानु पर्दछ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको आधारभूत ज्ञान र तदनुरुपको गतिशील बोध तथा व्यवहारबिनाको टपरटुइयाँ राजनीतिले कोही पनि वास्तविक कम्युनिस्ट बन्न सक्तैन । त्यसैगरी राजनीतिक अर्थशास्त्रको आधारभूत ज्ञानबिना द्वन्द्वात्मक भौतिकवादको कुरा गर्नु भनेको जराबिनाको रुखको कल्पना गर्नुजस्तै हो । वैज्ञानिक समाजवादको बोध नहुनु भनेको वर्गसङ्घर्ष र क्रान्तिबाट भाग्नु हो । कला र साहित्यका बारेमा नजान्नु भनेको जीवनरस र सौन्दर्यबोध नभएको उदास जिन्दगी बाँच्नु हो । स्कुलिङ र प्रशिक्षणमा फरक छ । स्कुलिङ समग्र कम्युनिस्ट जीवनको आधार खडा गर्ने विषय हो भने प्रशिक्षण त्यो आधारमा तयार भएका नेता तथा कार्यकर्तालाई पार्टीका समसामयिक निर्णयहरू लागू गर्नका खातिर दिइने सम्प्रेषण–तालिम हो । पार्टीमा प्रशिक्षणहरू त भइरहन्छन् तर विश्वदृष्टिकोणको बलियो आधारबिना नेता र कार्यकर्ताहरू धागो छिनिएका चङ्गा हुन जान्छन् ।

अन्ततः केही समयपछि उद्देश्यविहीन भएर धुलोमा पछारिने परिस्थिति आउँछ । हामीसँग नयाँ जनवादी क्रान्तिको पुल पार गर्दै वैज्ञानिक समाजवादमा पुग्ने रणनीति भएको आठौँ महाधिवेशनको कार्यदिशा छ । यसलाई आठौँ महाधिवेशनपछिको केन्द्रीय समितिको दोस्रो बैठकले निकै समृद्ध पारेको छ । उद्देश्य चन्द्रमामा पुग्ने बनाइए पनि नेता र कार्यकर्ताहरूमा विश्वदृष्टिकोण र इच्छाशक्ति भएन भने महान् रक्तरञ्जित झन्डा धुलोमै लत्रनेछ । एउटा कम्युनिस्ट ‘तातै खाऊँ, जली मरिजाऊँ’ जस्तो अधैर्य हुनै सक्तैन । कम्युनिस्ट त्यो हो जसले सफलता र सफलताबाट सिक्दै महान् उद्देश्यमा पुग्नका लागि अन्धकारमा पनि जूनकीरी बन्नुपर्दछ । क्षितिजमा देखिएको उज्यालोलाई धर्तीमा ओराल्न अध्ययन र अनुसन्धान गरिरहनु पर्दछ । कम्युनिस्ट बनिसकेपछि आफू त मुक्त भएकै हुनुपर्छ । दुनियाँको मुक्तिबारे नै बढी मेहनत गर्नुपर्दछ । दुनियाँको मुक्ति सोच्नु र तदनुरूप आचरण गर्नु नै आफ्नो मुक्तिको सही मार्ग हो । यी समस्याहरूमाथि ध्यान दिएर नै हाम्रो पार्टीमा स्कुलिङ विभाग गठन गरी स्कुलिङ सञ्चालन गरिएको थियो र आठौँ के.स. को दोस्रो बैठकले यसलाई अझ अघि बढाएको छ ।
(केन्द्रीय स्कुलिङ विभागको निर्देशिकाबाट । यसको शीर्षक हामीले दिएका हौँ ।)

२०७४ भदौ २९ गते २२ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :