प्रचण्डको भारत भ्रमण राष्ट्रघातको निरन्तरता : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

‘गिरफ्तार नेता–कार्यकर्तालाई अविलम्ब रिहा गर’

प्रचण्डको भारत भ्रमण राष्ट्रघातको निरन्तरता : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण राष्ट्रघातको निरन्तरता रहेको जनाएको छ । पार्टी प्रवक्ता कञ्चनले शनिबार साँझ प्रेस वक्तव्य जारी गर्दै व्यापार तथा पारवहन, जलविद्युत् परियोजनालगायत ७ बुँदे राष्ट्रघाती सहमति गरेर नेपाल फर्किन लागेका प्रधानमन्त्री दाहाललाई कालोझन्डा देखाउने तयारी गरिरहेका पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरिएकोमा घोर निन्दा र भत्र्सना गर्दै अविलम्ब रिहा गर्न माग गरेका छन् ।

प्रवक्ता कञ्चनको वक्तव्यमा भनिएको छ, ‘आफूलाई ‘कम्युनिस्ट’ नै भन्न रुचाउने तर कम्युनिस्ट मूल्य–मान्यताबाट च्यूत भएर सर्वाङ्ग नाङ्गै भएका नेपालका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट नेपाल फर्केका छन् । भारत भ्रमणका क्रममा उनले समकक्षी नरेन्द्र मोदीसँग व्यापार तथा पारवहन, जलविद्युत् परियोजनालगायत ७ बुँदे सहमति गरेका छन् । उक्त ७ बुँदे सहमति सारतः राष्ट्रघाती र आत्मसमर्पणवादी रहेको छ । यो भ्रमण र सहमति विगत सरकार र सरकार प्रमुखहरूले गर्ने गरेको राष्ट्रघातको निरन्तरताबाहेक अरू केही पनि होइन ।’

प्रवक्ताको वक्तव्यमा अगाडि भनिएको छ, ‘यसखाले राष्ट्रघाती र आत्मसमर्पणवादी कार्यको विरोध गर्न जुटेका युवा तथा विद्यार्थी नेताहरू– हरिकृष्ण गजुरेल, मिलन राई, वीरेन्द्र शाह, रूपा बुढा, केबी मल्ल, झलक विक, कविता कार्की, गोविन्द बिष्ट, रमेश सुनार, नेत्र शाही, निराजन किराँती, भुन्टे छिरिङ, उषाकिरण ‘आजाद’, डीबी शाही, सपना पुन, नमराज विक, कविता लामा, बादल घर्तीलगायत २५ जनालाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थल गेटबाट गिरफ्तार गरेको छ । उहाँहरू सबैजनाको तुरुन्त रिहाइको जोडदार माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :