जेठ १३ गते २२ औँ इच्छुक स्मृति तथा बलिदान दिवसमा प्रभातफेरी र कविगोष्ठी गर्ने निर्णय

जेठ १३ गते २२ औँ इच्छुक स्मृति तथा बलिदान दिवसमा प्रभातफेरी र कविगोष्ठी गर्ने निर्णय

काठमाडौँ : जनयुद्धका महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को २२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसँग सम्बन्धित सञ्चार र संस्कृतिसँग सम्बन्धित सङ्गठनहरूको काठमाडौँमा बुधबार बसेको बैठकले जेठ १३ गते बिहान काठमाडौँ शान्तिवाटिकाबाट प्रभातफेरी सुरु गरी इच्छुकको हत्या भएको स्थल महेन्द्र पुलिस क्लबअघि कोणसभा र कविगोष्ठी आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी पत्रकार महासङ्घको संयुक्त आयोजनामा प्रभातफेरी, कोणसभा र कविगोष्ठी गर्ने निर्णय गरेको जनाइएको छ । प्रभातफेरी र गोष्ठीमा नेपाल पत्रकार महासङ्घ, सञ्चारसँग सम्बन्धित माओवादी धाराका विभिन्न सङ्गठन, सञ्चारकर्मी, संस्कृतिकर्मी, स्रष्टा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जवस, मोर्चा र पार्टी नेता–कार्यकर्ताहरूलाई आमन्त्रण गर्ने निर्णय गरेको जानकारी अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्राडा जगदीशचन्द्र भण्डारीले दिए ।
बैठकमा महासङ्घ अध्यक्ष भण्डारीका साथै पार्टीको केन्द्रीय प्रचार मोर्चाका संयोजक अशोक सुवेदी, क्रान्तिकारी पत्रकार महासङ्घका सल्लाहकार एवं पार्टी प्रचार विभागका सदस्य इन्द्र राउत, क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका संयोजक कमल बुढा, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष नारायण पंज्ञानी लगायत सहभागी थिए ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले यसअघि नै जेठ १३ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्षसमेत रहेका इच्छुक सांस्कृतिक प्रतिष्ठानका संरक्षक मोहन वैद्य ‘किरण’ को प्रमुख आतिथ्यमा प्रतिष्ठानको सभाकक्षमा इच्छुक पुरस्कार वितरणको कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
स्मरणीय छ, तत्कालीन शाहीसत्ताले स्रष्टा, संस्कृतिकर्मी एवम् जनपक्षीय पत्रकार कृष्ण सेन ‘इच्छुक’ लाई २०५९ साल जेठ ६ गते काठमाडौँमा गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा एक सातासम्म निरन्तर शारीरिक र मानसिक यातना दिएर जेठ १३ गते हत्या गरेको थियो । इच्छुकलगायत महान् सांस्कृतिक सहिदहरूको स्मृति र सम्मानमा नेपालका माओवादी क्रान्तिकारीहरूले जेठ १३ गते इच्छुक स्मृति तथा बलिदान दिवस मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :