५९ औँ विद्यार्थी दिवस र विद्यार्थी आन्दोलनको औचित्यको प्रश्न

५९ औँ विद्यार्थी दिवस र विद्यार्थी आन्दोलनको औचित्यको प्रश्न

शाही ‘कू’ मार्फत २०१७ साल पुस १ गते सत्ता कब्जा गरेको तत्कालीन तानाशाही महेन्द्र शाहको पञ्चायती व्यवस्थाले विद्यार्थीहरूको आन्दोलनमा बर्बर, आततायी दमन मच्चायो । पञ्च–मण्डलेहरूको अमानवीय फासिस्ट दमन र ज्यादती नरोकिएपछि विद्यार्थीहरू झुकेनन्, गलेलनन्, पछि हटेनन । निरन्तर तानाशाही जल्लादहरूका विरुद्ध डटेर सामना गरिरहे । अन्ततः सत्ता विद्यार्थीसामु घुँडा टेक्न विवश भयो र त्यसै दिन हो २०२२ साल जेठ १ अनेरास्ववियु क्रान्तिकारीको स्थापना भयो । स्थापनाको ५९ वर्ष पूरा गरेको आज । विद्यार्थीहरूको वीरतापूर्ण, बहादुरीपूर्ण र बलशाली आन्दोलनको सम्झना, सम्मान र आगामी विद्यार्थी आन्दोलनलाई प्रेरणा र हौसला दिने दिनमा सम्पूर्ण विद्यार्थीलाई शुभकामना छ ।
आज विद्यार्थी सङ्गठनको नेतृत्वको गलत क्रियाकलापले शैक्षिक आन्दोलन धरापमा पर्दै गएको छ । अहिलेका विद्यार्थी नेताहरूको आन्दोलनप्रतिको उदासीन प्रवृत्ति र शैक्षिक मुद्दाको पहिचान गर्न नसक्ने कमजोर नेतृत्वका कारण पनि विद्यार्थी आन्दोलनले सही बाटो लिन सकिरहेको छैन । हिजो राजनीतिक व्यवस्था परिवर्तनका लागि, जनजीविकाका सन्दर्भमा, राष्ट्रियताका सन्दर्भमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको थियो तर अहिलेका विद्यार्थी नेताले टुलुटुलु हेर्नुबाहेक अन्य काम गर्न सकेका छैनन् ।
हिजो पार्टी, नेता र सत्तालाई दबाब र खबरदारी गर्ने विद्यार्थी नेता आज सत्ताको दलालीमा लिप्त छ । सत्ताको चरित्र बदलियो । त्यो चरित्र बोक्ने विद्यार्थी आन्दोलन र नेताको गति बदलिएन । शिक्षा र स्वास्थ्य हिजोभन्दा आज झन्झन् महँगो र गरिब जनताबाट टाढा बन्दै गएको छ । यस्तो बेलामा विद्यार्थी नेतृत्व सत्ता रक्ष केन्द्रित हुनु दुःखद् छ । विद्यार्थी आन्दोलनको सार्थकता अझै छ । जनताको हरेक मागको नेतृत्व यसले गर्नुपर्दछ । आफू निकट दल सत्तामा भए पनि उसको गलत कदममा प्रश्न उठाउन सक्नु र जनताको समस्यालाई सम्बोधन गर्न सरकारलाई बाध्य पार्नु नै विद्यार्थी आन्दोलन हो ।
स्पष्ट भन्नुपर्दा हाल आएर विद्यार्थी आन्दोलन र यसको अस्तित्वमाथि प्रश्नचिह्न उठेको अवस्था छ । ‘विद्यार्थी सङ्गठनहरूले उठान गरेका विशेष मुद्दा के हुन् ? विद्यार्थी आन्दोलनको हालको उपलब्ीि के हो ? कहाँ पुग्यो विद्यार्थी आन्दोलन ? अबको विद्यार्थी आन्दोलनको रोड म्याप कस्तो रहने ?’ यस्ता यावत् सवालहरू छन् विद्यार्थी आन्दोलनप्रति । विद्यार्थी आन्दोलन यो धराशायी स्थितिमा आइपुग्नुमा कमजोरी कसको हो ?
हाल आएर विद्यार्थी सङ्गठनहरूको कुनै एउटा निर्दिष्ट उद्देश्य बनेको छैन । तिनीहरूको वैचारिकता र आन्दोलन केन्द्रीकृत बनेको देखिँदैन । यसबाहेक पनि बीचबीचमा विद्यार्थी मुद्दाहरूलाई सरकारसँग जोड्ने, शैक्षिक कुरीतिका विरुद्धमा सिर्जनशील आन्दोलन चलाउने मात्र नभएर राजनीतिक सवालमा पनि ठूला–ठूला रक्तपातयुक्त आन्दोलनदेखि वैचारिक आन्दोलनमा काँध थापेर लागेको विद्यार्थी राजनीति र विद्यार्थी सङ्गठनको महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ । चाहे उपभोक्ता अधिकारका लागि होस् वा किसान–मजदुर, सीमान्तकृत पीडित–शोसित सबैको हक र अधिकारका माग र सुनिश्चिततामा जिम्बेवारीपूर्वक निरन्तर सङ्घर्षशील विद्यार्थी अभियान हाल आएर धराशायी बन्नुमा सङ्गठनको नेतृत्व र हालको राजनीतिक परिवेश मुख्य जिम्मेवार रहनुपर्छ ।
विश्वइतिहासमा विद्यार्थी सङ्गठन र आन्दोलनको अभ्यासमाथि अध्ययन गर्ने हो भने केही अफ्रिकी र थोरै अमेरिकी मुलुकमा वर्णविभेदविरुद्ध विद्यार्थीहरू एकीकृत भई उठाएका सामान्य वर्णविरोधी आन्दोलनभन्दा ज्यादा केही अनुभव पाइन्न । युरोपतिर हेर्दा फ्रान्स, ग्रिस, आयरल्यान्ड, पोर्चुगल, बेलायतलगायत देशहरूमा विद्यार्थी सङ्गठनको भूमिका राजनीतिक, सामाजिक, शैक्षिक र विद्यार्थी हकअधिकार सुनिश्चिततातर्फ जोडिएका विद्यार्थी सङ्गठनहरू प्रायः गरी राजनीतिक रूपमा परिचालित नभई स्वतन्त्र रूपमा क्याम्पस तथा विश्वविद्यालयभित्र विभिन्न क्रियाकलाप, अभियान तथा क्याम्पेइन सञ्चालन गर्न स्थापित हुने गरेको तथ्य छ । एसियामा भने भारत, नेपाल, न्युजिल्यान्ड, श्रीलङ्कालगायत मुलुकमा विद्यार्थी राजनीतिको अभ्यास गतिलो देखिन्छ । यसरी हेर्दा विश्वसमुदायमा अभ्यासमै रहेका राजनीतिक गतिविधिको फितलो प्रयोग नेपालमा हाल आएर देखिएको नमिठो यथार्थ छ ।
गर्विलो र दर्बिलो पृष्ठभूमि बोकेको, लामो अनुभवसहितको र अत्यधिक प्रयोगमा रहेको नेपालको विद्यार्थी राजनीतिको वर्तमान भने घिनलाग्दो बनेको छ । हाल आएर विद्यार्थी सङ्गठनहरूको कुनै एउटा निर्दिष्ट उद्देश्य बनेको छैन जसमा तिनीहरूको बैचारिक रूपमा समस्या देखा परेको छ ।
अब विद्यार्थी आन्दोलनको औचित्य नै सकिएको हो त ? भन्ने सवाल सर्वत्र उठ्ने गरेको छ । त्यसो त विद्यार्थी सङ्गठनले बेलाबेलामा आफ्नो आन्दोलन र सङ्घर्षको शैली र मुद्दामा पनि वैचारिक छलफल गरेर फेरबदल गर्न सक्नुपर्छ तर त्यसो हुन सकेन । यसको दोष अरू कसैलाई नदिएर सिङ्गो पार्टीपङ्क्ति एवम् गन्तव्यहीन विद्यार्थी नेतृत्व आफैँले लिनुपर्छ । २०६२–६३ को आन्दोलनपछि राजतन्त्रको अन्त्य भइसकेको अवस्थामा त्यसैअनुसारको विद्यार्थी आन्दोलन र मुद्दा जन्माउन सक्नुपर्ने थियो, त्यो हुन सकेन । छलफल र बहसहरू यदाकदा सुनिने दन्त्य कथाजस्तै भएका छन् र पनि निरर्थक तथा गन्तव्यहीन छन् जसले कुनै ठोस दिशा र निर्णय लिन सकेको पाइन्न । सानातिना झारेझुरे मुद्दामा घुमिरहेर विद्यार्थी सङ्गठनहरू आफ्नो औचित्य पुष्टि गर्न असफल हुँदैछन् ।
विद्यार्थी आन्दोलनको इतिहास निकै पुरानो छ र यसको सान्दर्भिकता निकै पछिसम्म रहनेछ । बदलिँदो सन्दर्भमा विद्यार्थी आन्दोलनका बारेमा कुरा गर्दा तीन विषयहरू प्रमुख रूपमा अगाडि बडाउन आवश्यक छ ः पहिलो, विद्यार्थी आन्दोलनलाई परिभाषित गर्ने दृष्टिकोण, दोस्रो यसको चरित्र र तेस्रो, यसले उठान गर्ने मुद्दाहरू ।
सर्वप्रथम, विद्यार्थी आन्दोलनलाई विभिन्न रूपमा बुझ्नुपर्ने हुन्छ– आन्दोलन, अभियान र आन्दोलनमा जेको रिक्तता छ त्यो प्राप्त गर्नका लागि त्यहाँ ओगटेर बसेको पक्षसँग सङ्घर्ष गर्ने कुरा हो । नेपालको विद्यार्थी आन्दोलनले आन्दोलनको आयामलाई ज्यादा अङ्गीकार गरेको पाइन्छ भने अभियानका रूपमा यसको परिचय स्थापित हुन सकिरहेको छैन महत्वपूर्ण पक्ष भनेको विद्यार्थी आन्दोलनले समेट्ने मुद्दाको दायरासम्बन्धी विषय छ । ती विषयलाई दुई तरिकाले बुझ्न आवश्यक देखिन्छ ः पहिलो, हालको विद्यार्थी आन्दोलनले विगतदेखि उठाउँदै आएका शैक्षिक तथा राजनीतिक मुद्दाहरूमा आफूलाई इमानदार ढङ्गले प्रस्तुत गरिरहेको छ वा छैन भन्ने कुराको आत्मबोध र दोस्रो, समयको गतिसँगै थपिएका नयाँ सवालहरूलाई विद्यार्थी आन्दोलनको दायराभित्र ल्याउन पर्याप्त ध्यान दिइएको छ कि छैन भन्ने बुझाइ र अर्को विषय ‘आन्दोलन’ शब्दलाई अवरोध, हडताल एवम् तोडफोडका रूपमा व्याख्या गर्ने भाष्य निर्माण हुँदै गरेको सन्दर्भमा विद्यार्थी आन्दोलनलाई नयाँ ढङ्गले पुनर्परिभाषित गर्न आवश्यक छ । यस सन्दर्भमा विद्यार्थी आन्दोलनभित्र सामाजिक न्यायका बहुआयामिक , पर्यावरणीय मुद्दामा र प्रविधि सम्बद्ध विषयसमेत बहस र छलफलका विषय बन्न आवश्यक छ ।
उदाहरणका लागि अमेरिकामा ब्ल्याक लाइभ्स म्याटर आन्दोलनमा र विश्वभर जलवायु परिवर्तनका कारण वातावरणमा परेको असरका सम्बन्धमा विद्यार्थीले निर्वाह गरेको भूमिका आदिबाट नेपालको विद्यार्थी आन्दोलनले थुप्रै प्रेरणा लिन सक्छ । सामाजिक, आर्थिक, पर्यावरणीय एवम् प्रविधिजन्य विषयमा विद्यार्थी सङ्गठनको धारणा तथा उनीहरूले निर्वाह गर्ने भूमिका के हो भन्नेबारेमा खासै छलफल भएको पाइँदैन । यस्ता आयामहरूमा बृहत् छलफल गर्ने, अनुसन्धान तथा विकासमा संलग्न व्यक्तिहरूलाई विद्यार्थी आन्दोलनसँग जोड्न आवश्यक छ । विद्यार्थी आन्दोलनले विद्यार्थीको मनोवैज्ञानिक आयामलाई समेत सम्बोधन गर्ने गरी कार्यक्रमहरू अगाडि ल्याउन आवश्यक छ । यस सन्दर्भमा विद्यार्थी आन्दोलनको चरित्र र शैलीमा समयानुकूल परिमार्जन हुन जरुरी छ ।
हिजो स्ववियु जुन उद्देश्य र लक्ष्य राखेर स्थापना गरिएको थियो आज त्यसको कोर्स नै परिवर्तन भइसकेको छ । अहिलेको बदलिएको समयमा यसलाई फरक ढङ्गले लैजान जरुरी छ । आजको सन्दर्भ फेरिएको छ । समयसँगै समाजका सन्दर्भ र आयाम फेरिएका छन् । यही विभिन्न कारणले पनि आजको स्ववियुको पुनर्संरचना आवश्यक छ ।
आजको विद्यार्थी आन्दोलनलाई औचित्यहीन गराउँदै समाप्त गर्ने खेल धेरै पहिलेदेखि नै भएको देखिन्छ । यसलाई रूपान्तरण गरी आमविद्यार्थी वर्गको हक, अधिकारको संरक्षक संस्थाका रूपमा खडा गर्नुपर्छ । त्यसका लागि सम्पूर्ण विद्यार्थी सङ्गठनहरू एउटै मञ्चमा बसेर साझा एजेन्डाहरू तयार गरी लडे मात्र आजको विद्यार्थी आन्दोलनले विजय हासिल गर्न सक्नेछ । अन्यथा अबको नेपालको विद्यार्थी आन्दोलनको औचित्य नरहन सक्छ ।

(लेखक अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य तथा गण्डक प्रदेश इन्चार्ज हुन्– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :