देश टाटपल्टाउने लुटेराहरू नेकपा (बहुमत) को निशानामा

देश टाटपल्टाउने लुटेराहरू नेकपा (बहुमत) को निशानामा

झापा :नेकपा (बहुमत) झापाले प्रेस विज्ञप्ति जारी गरी देश टाटपल्टाउने ठग र लुटेराहरू आफ्नो पार्टीको निशानामा रहेको जनाएको छ । पार्टीले ३ अर्ब ६० करोड मुनाफा गर्ने र देशका विभिन्न व्यवसायमा नेपालीलाई ठग्ने धन्दा चलाउँदै आएको एनआईसी एसिया बैङ्क र एनआईसी लघुवित्त सञ्चालन गर्दै आएका भारतीय मूलका व्यापारी तुलसीराम अग्रवाल, रामचन्द्र सङ्घाई, आदित्यकुमार अग्रवाल, विजय सुवारलगायतले ऋणको धितो पचाएकोमा ध्यानाकर्षण भएको पनि जनाएको छ ।
पार्टीका जिल्ला संयोजक जितले विज्ञप्ति जारी गरी दमक नगरपालिका ४ बस्ने दुर्गाप्रसाद कँडेलले १५ वर्षको सम्झौतामा लिएको ऋण ३ महिना किस्ता तिर्न नसक्दा उनको घरमा सेक्युरिटी गार्ड नै राखिएको काण्ड तथा देशका विभिन्न भागमा देखाउँदै आएको माफियागिरी हर्कतमार्फत सामाजिक मर्यादा खलबल्याउने दुष्कर्म बढेको भन्दै चेतावनी पनि दिएको छ ।
विज्ञप्तिमा देश लुट्ने, देश टाटपल्टाउने, देश बेच्ने अग्रभूमिकामा रहेका नालायक संसदीय व्यवस्थाका मतियारहरू पार्टीको निशानामा रहेको र बेलैमा आफ्नो कुकार्य नसच्याइए नेपाल र नेपाली जनताको जीविकाका लागि जारी सङ्घर्ष र जनकारबाही तीव्रतामा अघि बढ्ने जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दलाल संसदीय व्यवस्था र निगम पुँजीवादले आक्रान्त बनाएको नेपाली समाज र डुबेको देश रक्षा गर्नु नेपाली क्रान्तिकारी योद्धाहरूको जिम्मेवारी हो । आवश्यकतामा कुनै पनि मूल्य चुकाउन तयार रहेको प्रस्ट हुन यसै विज्ञप्तिमार्फत सूचित गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :