भ्रष्ट एवम् सूदखोर मेयर श्यामकुमारमाथि कालोमोसो

गुन्डा लगाएर गिरफ्तार गरिएका साधुशरण महरालाई अविलम्ब रिहा गर : नेकपा (बहुमत)

भ्रष्ट एवम् सूदखोर मेयर श्यामकुमारमाथि कालोमोसो

काठमाडौँ : नेकपा (बहुमत) ले सिराहाको सिर्जनशील लघुवित्तका सञ्चालक तथा गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठलाई कालोमोसो लगाएर चेतावनीमूलक कारबाही गरिएको विषयमा गुन्डा लगाएर केही भिजिलान्ते समूहले पार्टीको नरहा गाउँ समितिका इन्चार्ज साधुशरण महरालाई कुटपिट गरी प्रहरीलाई बुझाएको घटनाप्रति गम्भीर आपत्ति प्रकट गर्दै अविलम्ब रिहा गर्न माग गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जनसङ्घर्ष परिचालन समिति, सिराहाका सचिव मुक्तिरामले विज्ञप्ति जारी गरी भ्रष्ट एवम् सूदखोर मेयर श्यामकुमार श्रेष्ठलाई मङ्गलबार दिउँसो कालोमोसो लगाएर चेतावनीमूलक कारबाही गरिएकोमा गुण्डाहरू परिचालन गरेर पार्टी कार्यकर्तालाई गिरफ्तार गर्ने कुराको घोर निन्दा एवम् भत्र्सना गर्दै महरालाई अविलम्ब रिहा गर्न माग गरेका हुन् । जनतालाई शोषण गर्ने, पीडित जनताले बोलेमा धम्क्याउने, कुटपिट गर्ने र आत्महत्या गर्न विवश बनाउने यस किसिमको गुण्डागर्दीको पार्टीले दृढतापूर्वक विरोध गरेको जनाएका छन् । सचिव मुक्तिरामले पीडित जनता र न्यायका पक्षपाती सबैमा यसखाले अत्याचारको विरोधमा सङ्घर्ष गर्न हार्दिक अपिलसमेत गरेका छन् ।
मुक्तिरामले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘बैङ्क, सहकारी र लघुवित्तीय संस्थाहरूद्वारा चरम रूपमा थोपरिएको मिटरब्याजी शोषण देशको विकराल आर्थिक समस्याका रूपमा देखापरेको छ । हाम्रो पार्टीले यसखाले अत्याचारका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको छ । कमजोर आय भएका र मध्यम वर्गका श्रमजीवी जनताले अत्यन्तै दुःख गरेर आर्जन गरेको पैसा समूह बनाएर उठाउने र उनै जनतामा लगानी गरेर कैयौँको उठीबास लगाउने यसखाले अत्याचारमा लघुवित्तीय संस्थाहरू पहिलो पङ्क्तिमा रहेका छन् । अधिकांश लघुवित्तीय संस्थाहरूले एकातिर सर्वसाधारण जनताको सम्पत्ति लुट्ने गलत मनसायद्वारा चर्को ब्याज लगाउनु र अर्कोतिर सत्ताको आडमा घूस, भ्रष्टाचार र कमिसनको तरिकाले आर्जन गरेको कालो धनलाई समेत सेतो बनाउन यसप्रकारको उत्पीडन बढाउँदै गएको हुँदा हाम्रो पार्टी लघुवित्तीय संस्था खारेजीको कार्यक्रम लिएर देशव्यापी अभियानमा लागिरहेको छ ।’
वक्तव्यमा अगाडि भनिएको छ, ‘यो अभियानअन्तर्गत विविध कार्यक्रमहरू भइरहेका छन् । यसैक्रममा सिर्जनशील लघुवित्तका सञ्चालक तथा गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठलाई आज दिउँसो कालोमोसो लगाएर चेतावनीमूलक कारबाही गरिएको छ । यो विषयलाई निहुँ बनाएर हाम्रो पार्टीको नरहा गाउँ समितिका इन्चार्ज साधुशरण महरालाई केही भिजिलान्ते समूहले कुटपिट गरी प्रहरीलाई बुझाएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी कमरेड साधुशरणको यथाशीघ्र रिहाइका लागि सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछ । साथै गुण्डाहरू परिचालन गरेर जनतालाई शोषण गर्ने, पीडित जनताले बोलेमा धम्क्याउने, कुटपिट गर्ने र आत्महत्या गर्न विवश बनाउने यसखाले गुण्डागर्दीको पार्टी दृढतापूर्वक विरोध गर्दछ । पीडित जनता र न्यायका पक्षपाती सबैमा यसखाले अत्याचारको विरोधमा सङ्घर्ष गर्न हार्दिक अपिलसमेत गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :