प्राकृतिक सम्पदाको दोहन नरोके कडा सङ्घर्ष गर्ने नेकपा(बहुमत)को चेतावनी

प्राकृतिक सम्पदाको दोहन नरोके कडा सङ्घर्ष गर्ने नेकपा(बहुमत)को चेतावनी

काठमाडौँ :  राष्ट्रियता जनतन्त्र र जनजीवीका लगायतका विषयमा संघर्षरत नेकपा(बहुमत)ले देशमा हुने सबैखाले तस्करी, भ्रष्टाचार, कमिसनखोरी, महँगो ब्याजदर, प्राकृतिक सम्पदाको उत्खनन तत्काल नरोके कडा सङ्घर्ष गर्ने चेतावनी दिएको छ । सो पार्टीका प्रवक्ता सुदर्शनले एक प्रेस विज्ञप्ति जारी गर्दै देशमा भ्रष्टाचारलाई संस्थागत गरिएको र जनप्रतिनिधिका नाममा जनतामाथि ज्यादती गरिएको बताएका छन् । प्रवक्ता सुदर्शनको विज्ञप्तिमा भनिएको छ –‘नेपाली शोषित–उत्पीडित श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी (बहुमत) देशमा भइरहेको भ्रष्टाचार, तस्करी, कमिसनखोर, कालोबजारी, महँगी, करछली, व्यवसायीहरूमाथि महँगो ब्याजदर, राष्ट्रिय प्राकृतिक सम्पत्तिको दोहनका विरुद्ध सङ्घर्ष गर्दै आएको स्पष्ट छ । आज देशमा भ्रष्टाचारलाई संस्थागत गरिएको छ भने जनप्रतिनिधिका नाममा जनतामाथिको ज्यादतीलाई दलाल सत्ताले वैधानिकता दिँदै आएको छ ।
बर्सौंदेखि प्रशासन र बिचौलियाहरूको मिलोमतोमा देशका सम्पूर्ण प्राकृतिक स्रोतहरूको दोहन र तस्करी हुँदै आएको छ । आज स्थानीय निकायहरूले विकास गर्ने बहाना बनाउँदै नदीहरूमा स्काभेटरहरू चलाई प्राकृतिक विपत्तिको हेक्का नराखी नदी दोहन गरिराखेका छन् । यस्ता गैरकानुनी कार्यहरूले राज्यलाई अर्बौंको राजस्व क्षति भइरहेको छ । यो मुलुकमा अहिले बिचौलिया, तस्करहरूको मिलोमतोमा राज्यलाई दोहन गरिरहेको कुरा दिनको घामजस्तै छ । देशमा हुने सबैखाले तस्करी, भ्रष्टाचार, कमिसनखोरी, महँगो ब्याजदर, प्राकृतिक सम्पदाको उत्खनन तत्काल नरोके थप कडा सङ्घर्ष गर्नेसमेत जानकारी गराउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :