सबैखाले दमन र षड्यन्त्र मुर्दावाद ! जनयुद्धका सपना जीवित छन् !!

सबैखाले दमन र षड्यन्त्र मुर्दावाद ! जनयुद्धका सपना जीवित छन् !!

जनयुद्धका नायक भनिएका पुष्पकमल दाहालका विगतका अभिव्यक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेर बयानका लागि बोलाउने निर्णय भएपछि अलपत्रमा पारिएको जनयुद्धकालीन मुद्दा (विषय) हरूको निकासको विषयलाई लिएर माओवादी वृत्त तरङ्गित बन्नु स्वाभाविक मात्र होइन, अत्यावश्यक पनि थियो तर यति बेला दाहालले जनयुद्धकालीन विषयलाई गहिराइमा पुगेर समाधान दिनेभन्दा पनि आफूमाथि आइपरेको लाठोको मार माओवादी धाराका पार्टी र समूहहरूको टाउकोमा समेत पार्ने गरी उनीहरूलाई आफ्नो ‘फेस सेभिङ’ का लागि दुरुपयोग गरिरहेका छन् । सक्कली माओवादीहरूबीच एकता, संयुक्त मोर्चा, कार्यगत एकता हुने कुरा राम्रो हो तर जनयुद्धका सबै प्रस्तावनाहरूलाई समाप्त पारेर दलाल पुँजीवादको सेवक मात्र होइन, रक्षक र अगुवा नै बन्दै गएका कुनै पात्रविशेषलाई जोगाउने, चोख्याउने र तिनका गलत हर्कत छोप्ने र महिमामण्डित गर्ने गरी सच्चा माओवादीहरूसमेत मुछिने कुनै पनि किसिमका मोर्चाहरू दीर्घकालीन महत्व र अर्थका हुँदैनन् । ती केवल देखावटी, उद्देश्यविहीन र गन्तव्यरहित हुन पुग्छन् । दाहालले आफूमाथिको लाठी माओवादी आन्दोलनबाट आएका क्रान्तिकारी पार्टी, समूहदेखि संसद्वादी÷संसदीय संशोधनवादीहरू सबैको टाउकोमा बराबरी पर्ने गरी जनताको भावनासँग ‘इमोसनल ब्ल्याकमेलिङ’ (संवेदनाको दलाली) गरेर आफ्नो बदनाम चरित्र सुधार्ने असफल प्रयत्न गरेको देखिन्छ तर दाहालको त्यो कुटिल चाल र व्यर्थ प्रयास केही दिनमै पानीको फोकासरह बनिसकेको छ । तर माओवाद र जनयुद्धको पवित्र उद्देश्यमाथि कुनै पनि कोणबाट भएको प्रहार नेपाली जनता र मालेमावादी क्रान्तिकारीहरूलाई सह्य छैन ।
दस वर्षसम्म नेपाली जनताको त्याग, शौर्य र बलिदानमा टिकेको र मुलुकको असी प्रतिशत भूभागमा जनसत्तासहित जनसेना, जनन्यायालय, जनकम्युन स्थापना गरिसकेको जनयुद्ध नेपाली जनताका कारण धराशयी बनेको होइन, पार्टीको मूल नेतृत्व अर्थात् प्रचण्ड–बाबुरामको मस्तिष्कमा पलाएको व्यक्तिगत स्वार्थ, कायरता र लालसाका कारण समाप्त भएको हो । नेपाली जनतालाई मुक्तिको सपना देखाएर बन्दुक थमाउने र आफ्ना निहित स्वार्थका कारण जनताको हातको बन्दुक दुस्मनलाई बुझाएर उसकै पाउमा लम्पसार पर्ने जनयुद्धको मूल नेतृत्वका कारण आज नेपाल र नेपाली जनताका सपनाहरूको हत्या भएको छ र हैरानी थपिएको छ । जनयुद्धमा छाती फुलाएर हिँडेको श्रमिक–उत्पीडित–सर्वहारा वर्ग र विशेषतः महान् जनयुद्धमा लामबद्ध योद्धा, सहिद–बेपत्ताहरूका परिवारका सदस्यसमेतले समाजमा अपराधीजस्तो बनी मुख लुकाएर हिँड्नुपर्ने बाध्यता छ । यो सबै जनयुद्धको मूल नेतृत्व र जनयुद्ध समाप्त भएको घोषणा गर्ने दाहालकै कारण भएको हो ।
यो सत्ताले जनताको विद्रोह दबाउने फासिवादी सत्ताका प्यादा र जनताका तर्फबाट बलिदान गर्नेहरूलाई कतै एउटै लहरमा र कतिपय स्थानमा त अपराधीका रुपमा दुव्यर्वहार गरिरहेको छ । यो परिणाम जनताका कारण होइन, जनयुद्धको मूल नेतृत्वको गद्दारीका कारण भएको हो । देश र जनतामाथि दिएको धोका र गद्दारीको परिणाम वर्गसङ्घर्षसँगै जनताले नै दिनेछन्, कुनै फासिवादी निकाय वा पुरानै न्यायालयले होइन । त्यसमाथि सङ्क्रमणकालीन विषयहरू टुङ्ग्याउने भनेर निर्माण गरिएका निकायहरूको अस्तित्व रहेकै समयमा नियमित विषयहरू हेर्ने न्यायालयले छिनाझप्टी गर्नु जनताका तर्फबाट युद्धरत माओवादी र पुरानो सत्ताका बीचमा भएको सहमति लत्याउनु, उल्ट्याउनु र त्यसको अस्तित्व अस्वीकार गर्नु हो । जनयुद्ध परित्याग गरेर दलाल पुँजीवादी सत्तामा प्रवेश गरिसकेपछि दाहाल अब इतिहासका पात्र बनिसकेका छन्, उनको भिन्न कुनै वर्तमान र भविष्य छैन तर पनि साम्राज्यवाद उनीमाथि प्रहार गरेर समग्र जनयुद्धको इतिहास नै नामेट र अझ बदनाम गर्ने ध्याउन्नमा छ । यसप्रकारका हर्कतहरू अविलम्ब बन्द गरिनुपर्छ र यसअघि भनिँदै आएको शान्तिप्रक्रियालाई एउटा निष्कर्षमा पु¥याउनुपर्छ तर उक्त कार्यले जनयुद्ध वा मुक्तिका लागि जनताको विद्रोह नै समाप्त भएको भन्ने अर्थ लाग्दैन किनकि माओवादी पार्टीहरू विभाजित भए पनि क्रान्ति जारी छ र क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्रक्रिया जारी छ ।
हिजो जनयुद्धको नेतृत्व गर्दाका मूल नेतृत्वले आत्मसमर्पण गरे पनि नेपाल र नेपाली श्रमिक–उत्पीडित वर्गका समस्या समाधान भएका छैनन् । प्रकारान्तरले नेपाली जनता हिजोको युद्धकै निरन्तरतामा छन् । शासकहरूले शान्तिप्रक्रिया नटुङ्ग्याएकाले पनि जनयुद्ध समाप्त भएको छैन भन्ने बाहिरै छ्याङ्गै देखिन्छ । एउटा नेतृत्वले विद्रोह अन्त्यको घोषणा गरे पनि जनताले जुन लक्ष्यका साथ विद्रोह गरेको थियो, त्यो उद्देश्य पूरा नभएसम्म त्यसको अन्त्य कागजमा लेखेर हुँदैन, जनताको जीवन बदलिएपछि कसैले विद्रोह जारी छ भने पनि अर्को उद्देश्यका लागि अघि बढ्ने सत्य शासकहरूले नबुझेका छैनन्, बुझपचाइरहेका छन् ।
केही समयअघि पुष्पकमल दाहालले जनयुद्ध अन्त्य गरेकोमा पश्चातापभन्दा पनि गर्व गर्दै जनयुद्धमा मारिएका पाँच हजारको जिम्मा आफूले लिने भनी गरेको भाषणलाई आधार बनाएर साम्राज्यवादले दाहालमाथि डन्डा बर्साउन विभिन्न नाउँ र थरका बुख्याँचाहरू खडा गरेको छ र कथित न्यायालयले दाहालको हैसियत तौलिन पनि बयान लिन निर्देश गरेको छ । दाहाललाई बहाना बनाएर सिङ्गो माओवादी आन्दोलनलाई भ्रष्टीकरण र निषेध गर्न खोज्ने साम्राज्यवादी योजना नेपाली उखानमा भनिएजस्तै ‘छोरी कुटेर बुहारी तर्साउने’ योजना हो । नेपाली जनताले यो विषय राम्ररी बुझेका छन् । दाहालले बनाउन लगाएको माओवादी धारको संसद्वादी मोर्चाबाट क्रान्तिकारीहरूले गरेको विद्रोहले पनि के स्पष्ट गरेको छ भने जनयुद्धको विसर्जन नेपाली जनता र क्रान्तिकारी शक्तिका लागि मान्य छैन र क्रान्तिलाई अझै माथि उठाएर र सफल पारेर मात्र जनयुद्धको कार्यभार पूरा हुनेछ । त्यसैले अब ‘भेडा भेडातिर र बाख्रा बाख्रातिर’ हुनु अनिवार्य छ । क्रान्तिकारीहरूलाई पनि आफूजस्तै संसद्वादी बनाउने दाहालमार्काको खेल र माओवादी नाउँका सबैलाई एउटै डालोमा राखेर दमन, षड्यन्त्र गर्दै सिध्याउने साम्राज्यवादी षड्यन्त्रलाई नेकपा (बहुमत) लगायत मालेमावादी क्रान्तिकारी पार्टीहरूले ध्वस्त बनाइदिएका छन् । मालेमालाई, जनयुद्धलाई, जनयुद्धका उपलब्धिलाई, महान् जनयुद्धमा भएको त्याग, शौर्य, समर्पण र बलिदानलाई होच्याउने, हियाउने, गिज्याउने, टुक्र्याउने, बदनाम गर्ने कुनै पनि षड्यन्त्र नेपाली जनतालाई मान्य छैन । नेपाली जनताका लागि क्रान्तिकारी विद्रोह र वैज्ञानिक समाजवाद हुँदै साम्यवादको यात्रा मात्र स्वीकार्य र मान्य छ । चेतना भया ! सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :