शब्द र चित्रमा जनयुद्ध

सन्दर्भ : २८ औँ जनयुद्ध दिवस

शब्द र चित्रमा जनयुद्ध

दसबर्से जनयुद्धमा माओवादी जनमुक्ति सेनाले हजारौँ लडाइँहरू लडेको थियो । यसक्रममा बाह्रवटा फौजी योजनाअन्तर्गत लडिएका थिए । त्यसमध्ये अधिकांश लडाइँहरूमा जनमुक्ति सेनाले विजय हासिल गरेको थियो । नेपाली इतिहास र विश्वसर्वहारा आन्दोलनको इतिहासमा फौजी कार्यदिशाको यो पछिल्लो कार्यान्वयन कम कष्टकर पक्कै थिएन । त्यसका साथै यो कार्यान्वयन एक स्वाभाविक आवश्यकता र विकासको खुट्किलो पनि थियो । निकै ठूलो त्याग, समर्पण र बलिदानले भरिपूर्ण जनयुद्धको यो कार्यान्वयनमा फौजी कार्यदिशाको विकास तथा नवीन फौजी कार्यनीतिहरूको प्रमुख स्थान थियो ।

लेखक
लेखक

 

 

होलेरी, राडी र सिन्धुलीगढी प्रहरीचौकी आक्रमण
फागुन १ गते देशव्यापी मूलतः पर्चा छरेर, पोस्टर टाँसेर र भित्तेलेखन गरेर युद्ध घोषणाको सन्देश प्रवाह गरिएको थियो । त्यही दिन राती केही सशस्त्र हमलाहरू पनि गरिए । सशस्त्र हमलाको निशानामा रहेका थिए– ‘स्थानीय सूदखोर, जाली–फटाहाहरू’, सरकारी कार्यालय (फौजी र गैरफौजी) र बहुराष्ट्रिय कम्पनीहरू । रोल्पा जिल्लाको होलेरी, रुकुम जिल्लाको राडी र सिन्धुली जिल्लाको सिन्धुलीगढीस्थित प्रहरीचौकीहरूमा समेत आक्रमण गरियो । माओवादी पार्टीको तत्कालीन प्रारम्भिक सैन्यशक्ति ‘लडाकु दल’ को प्रमुख नेतृत्वमा ती कारबाहीहरू सम्पन्न भएका थिए । काभ्रे र जाजरकोटमा स्थानीय सूदखोरहरू दौलतविक्रम बिष्ट र दीपबहादुर सिंहमाथि उनीहरूको घरमा रहेका किसानका तमसुक च्यातेर कारबाही भएको थियो । गोरखामा साना किसान विकास बैङ्कमा आक्रमण गरियो । बैङ्कमा रहेका कागजपत्र जलाएर जनतालाई सरकारी कृषि ऋणबाट मुक्तिको घोषणा गरियो ।
प्रथम सफल कारबाही बेथान (पानीघाट), रामेछाप
जनयुद्धको सुरुआत भएदेखि माओवादी लडाकु योद्धाहरूले प्रहरीको हतियार खोस्ने थुप्रै योजना बनाए तर ती कोही पनि सफल भइरहेका थिएनन् । युद्धको सुरुआत भएयता करिब ११ महिना यसरी नै बितिसकेका थिए । देशका तीनवटा कमान्डअन्तर्गत चौकी आक्रमणको केन्द्रीय योजना नबनेको पनि होइन । त्यसलाई कार्यान्वयन गर्न पश्चिम कमान्डको त्रिवेणी (रुकुम, जाजरकोट र डोल्पाको सिमाना– २०५३ मङ्सिर २८) मा गरिएको कारबाही असफल भइसकेको थियो । पश्चिम कमान्डकै प्युठानको लुङ प्रहरीचौकी (२०५३ पुस १) मा गरिएको कारबाही प्रहरीसँग हतियार नभएको कारण निर्धारित लक्ष्यमा सफल हुन सकेन । यसैक्रममा २०५३ पुस १९ गते पूर्वी कमान्डअन्तर्गत रामेछाप जिल्लाको बेथान पानीघाटमा अवस्थित प्रहरीचौकीमाथि आक्रमण भयो जुन कारबाही निर्धारित उद्देश्यमा सफल मात्र भएन, बरु जनयुद्धको इतिहासमै पहिलो सफल फौजी हमलामा दर्ज भयो ।
प्रथम सफल कमान्डो कालिकाटार, तनहुँ
२०५४ जेठ १२ गते तनहुँ जिल्लाको कालिकाटारमा सम्पन्न यो कारबाही ‘जनयुद्धको तेस्रो योजना’ सुरुआतीको एक उत्कृष्ट कारबाही थियो । कालिकाटारको उक्त कारबाहीबाट छापामारहरूले प्रहरीका सम्पूर्ण हतियार कब्जा गरेका थिए तर आफ्नै क्रस–फायरका कारण छापामारतर्फ एकजनाको क्षति भएको थियो । भिडन्तमा प्रहरीतर्फ एकजनाको क्षति भएको थियो । बिहान करिब दस बजेतिर जनताको शैलीमा गएर गरिएको यो कारबाहीमा महिला छापामारहरूको भूमिका विशेष उल्लेखनीय रहेको थियो । अत्यन्त जोखिम मोलेर प्राप्त कालिकाटारको उक्त उपलब्धि बच्न भने सकेन । प्रहरीले तुरुन्त ‘काउन्टर अप्रेसन’ चलायो । कारबाहीबाट फर्किंदै गर्दा प्रहरीको घेरामा परी थप एकजना छापामारको नदीमा डुबेर क्षति भयो ।
प्रथम सफल एम्बुस क्युबाङ, रुकुम
क्युबाङ कारबाही जनयुद्धको इतिहासमै प्रथमपटक एम्बुसको तरिकाले हतियार कब्जाको कारबाही थियो । आक्रमणको सुरुमा प्रहरीको पैदल–गस्तीमाथि माइन विस्फोट गरियो । भरुवा बन्दुक र सुतली बमले आक्रमणलाई थप मद्दत गरी प्रहरीमाथि थप आक्रमण गरेर यो कारबाही सम्पन्न भएको थियो । यो गुञ्जायमान वातावरणमा लड्दै जाँदा साढे पाँचतिर १ राइफल र पचासौँ गोलीहरू हाम्रो कब्जामा पर्दछ । २०५४ माघ १६, रुकुमको क्युबाङमा भएको एम्बुसमा ३ प्रहरीको मृत्यु, ४ घाइते र एक थान राइफल प्राप्त भयो ।
अभियानात्मक कारबाहीअन्तर्गत उच्च केन्द्रीकृत आक्रमण लहँँ, जाजरकोट
२०५५ देखि देशव्यापी सञ्चालित प्रहरीको ‘किलो सेरा टु’ (राज्यद्वारा सञ्चालित किल एन्ड सर्च अप्रेसन) अप्रेसन जारी नै थियो । प्रहरीद्वारा हत्या, लुटपाट र बलात्कारका घटना व्यापक बढिरहेका थिए । लहँ पूर्वी जाजरकोटको एक निकै सामरिक स्थल थियो । त्यहाँ माओवादी प्रतिकारका लागि स्थानीय स्तरबाटै प्रहरीको बलमा ‘खुकुरी दल’ नामक भिजिलान्ते समूह गठन गरिएको थियो । सोही अखडामा २०५६ जेठ ३१ गते विशेष कार्यदलका रूपमा सङ्गठित माओवादी छापामारहरूद्वारा भीषण हमला भयो । कारबाहीमा छापामारतर्फ कुनै मानवीय क्षति भएन । २५ जनाको सङ्ख्यामा रहेको दङ्गा प्रहरीतर्फ चारजनाको घटनास्थलमै मुत्यु भयो । बाँकीले आत्मसमर्पण गरेका थिए । छापामारहरूले प्रहरीका १८ थान राइफल, २ थान माउजर र १ थान रिभल्बर एवम् हजारौँ गोली कब्जा गरेका थिए ।
प्रतिरणनीतिक कारबाही महत, रुकुम
यता देशव्यापी कथित जङ्गल सर्च अभियानअन्तर्गत व्यापक अपे्रसन र हत्याको शृङ्खला थालियो । त्यस अप्रेसनको प्रतिरोध, हत्याको बदला र योजनाको प्रारम्भका रूपमा २०५६ असोज ५ गते फौजी, गैरफौजी कार्यक्रम सम्पन्न गरियो । यसमा उल्लेख्य घटनाका रूपमा रुकुमको स्ट्राइकिङ बेसक्याम्पमाथिको साहसिक हमला र डीएसपी ठूले राईको गिरफ्तारी रह्यो । डीएसपी ठूले राईलाई लिएर ३ महिनापछि आफन्तहरूलाई बुझाउने काम भयो । यस कारबाहीले कथित जङ्गल सर्च अभियानलाई काफी हदसम्म असफल तुल्यायो र क. वासु वाग्लेको हत्याको बदला लिने र देशव्यापी राज्यआतङ्क रोक्नलाई महत्वपूर्ण भूमिका खेल्यो ।
महत कारबाहीमा माओवादी पार्टीले ‘दुस्मनका महत्वपूर्ण मान्छे कब्जा गरेर आफ्ना मान्छे छुटाउन वा उनीहरूको जीवनरक्षाका लागि दबाब दिने नयाँ युद्ध कार्यनीतिको ढोका खोल्यो; जसको परिणाम माओवादी पार्टीका तत्कालीन केन्द्रीय सदस्य देव गुरुङलाई महतबाट कब्जा गरिएका डीएसपी ठूले राईसँग साटिएको थियो ।
पहिलो सदरमुकाम हमला दुनै, डोल्पा
सिङ्गो राज्यसत्तालाई तहसनहस र ठूलो झट्का दिने गरी यो कारबाही २०५७ असोज ८ गते राती बटालियनस्तरको शक्तिले सम्पन्न गरेको थियो । यस कारबाहीमा जिल्ला कारागार शाखा, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र जिल्ला प्रहरी कार्यालयहरू पूर्ण रूपले ध्वंस गरियो । ४ घन्टासम्म चलेको उक्त कारबाही उच्च प्रकारको चलायमान मोर्चाबद्ध युद्धको पनि एउटा अभ्यास बन्यो । यो आक्रमण जनयुद्धको इतिहासमा ऐतिहासिक महत्वको कारबाही हो । कारबाहीबारे सुइँको पाएर राज्यद्वारा आधुनिक तालिमप्राप्त दङ्गा फोर्ससमेत थप्दा पनि प्रहरीको पराजय भयो । अत्यन्तै भीषण रूपले भएको यस लडाइँमा जनसेनातर्फ २ जनाको क्षति भएको थियो भने १७ जना घाइते भएका थिए । प्रहरीतर्फ दर्जनाँैको मृत्यु भएको थियो । यस कारबाहीबाट करिब ५ करोड नगदसहित ५० औँ थान प्रहरीका हतियार कब्जा गरियो ।
प्रहरी शक्तिमाथिको रणनीतिक हमला :  रुकुमकोट र नौमुले
रुकुम जिल्लाको दोस्रो सदरमुकामका रूपमा अवस्थित रुकुमकोट एउटा सामरिक महत्वको ठाउँ थियो भने दैलेखको नौमुले पनि निकै व्यवस्थित प्रहरी क्याम्प थियो । दुवै ठाउँमा व्यवस्थित किल्लाबन्दी (तार–बार, ट्रेन्च, टनेल, बुबी ट्र्याप आदि) थियो । सयौँको सङ्ख्यामा रहेको प्रहरी शक्ति, उनीहरूसँग प्रशस्त राइफलहरू थिए । गोलीगट्ठाको अभाव थिएन तर पनि माओवादी पार्टीले ती दुई क्याम्पलाई नै आफ्नो निशाना बनाए र सफलतापूर्वक नियन्त्रणमा लिन सफल भयो । जनयुद्धको दोस्रो आधारका रूपमा विकसित भेरी–कर्णालीमा कार्यरत प्लाटुनहरूको सहभागितामा नौमुलेमा आक्रमण भएको थियो । दुवै कारबाहीहरूमा स्थानीय प्लाटुन र स्क्वायडहरूको पनि सहभागिता रहेको थियो । लडाइँमा दर्जनौँ प्रहरीको मृत्यु भयो । दुवै ठाउँमा प्रहरीतर्फ इन्स्पेक्टरसहित ३२÷३२ जनाको मृत्यु भयो । पचासौँजना घाइते भए । जनसेनातर्फ रुकुमकोटमा ८ जना र नौमुलेमा ७ जनाको मानवीय क्षति भयो । छापामारतर्फ पनि उक्त क्षति त्यति बेलासम्मकै सबभन्दा ठूलो थियो । दुवै ठाउँको कारबाहीबाट साना–ठूला गरेर सयौँ थान प्रहरीका हतियार र हजारौँ राउन्ड गोलीहरू छापामारहरूले कब्जा गरे ।
पुरानो सत्ताभित्र अन्तर्विरोधको विस्फोट : होलेरी आक्रमण, रोल्पा
२०५८ असार २८ गते रोल्पाको होलेरीमाथिको आक्रमणमा जनमुक्ति सेनाले आफ्नोतर्फ बिनाकुनै मानवीय क्षति ७१ जना प्रहरीहरूलाई कब्जामा लिएको थियो । माओवादी आक्रमणको डरले रातभरि अन्तै कतै सुत्ने र बिहान मात्र क्याम्पमा आउने यति बेलाको प्रहरीको रक्षात्मक रणनीति थियो । फेरि पनि उनीहरू बच्न सकेनन् । यो कारबाहीपछि पुरानो सत्ताभित्र अन्तर्विरोध विस्फोटन हुन गयो । दरबार र सरकार (संसद्वादी शक्ति) बीच विवादले उत्कर्ष रूप लिएको थियो । यो आक्रमणपछि पहिलोपटक शाही नेपाली सेनाको परिचालन गरिएको थियो । होलेरी कारबाहीमा सरकार फौजी रूपले होइन, त्योभन्दा धेरै नैतिक रूपले पराजय भयो ।
शाहीसेनामाथिको पहलकदमीपूर्ण हमला दाङ आक्रमण
जनयुद्ध थालनीको करिब पाँच वर्षपछि माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन (२०५७ माघ–फागुन) सम्पन्न भयो । यसै अवधिबीच २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश विनास हुने गरी नारायणहिटी दरबारमा नृशंस हत्याकाण्ड भयो । दरबार हत्याकाण्डले देशको राजनीतिक वातावरणमा निकै ठूलो हलचल ल्याइदियो । सुरुका केही दिनहरूमा उत्तेजक अभिव्यक्तिका बाबजुद माओवादी पार्टीले दरबारसँग सहकार्यको आफ्नो नीतिलाई निरन्तरता नै दियो । फलस्वरूप दरबार हत्याकाण्डपछि गठित सरकारसँग वार्ताको प्रक्रिया (२०५७ साउन) समेत सुरु भयो । तीन चरणसम्म जारी वार्ता भने निष्कर्षविहीन भयो ।
२०५८ मङ्सिर ८ गते धक्कापूर्ण हमलाको मिति तय भइसकेको थियो । देशभरि सानाठूला सयौँ कारबाहीको योजना बनेका थिए । मुख्य कारबाहीका रूपमा दाङको अञ्चल सदरमुकाम घोराही कब्जा रहेको थियो । उता मध्यकमान्डअन्तगर्तको स्याङ्जा र पूर्वी कमान्डअन्तर्गतको सोलु सदरमुकाम पनि आक्रमणको निशानामा थिए । दाङको हमला ऐतिहासिक र भव्य रूपले सफल भयो । स्याङ्जा मुकाम हमला पनि शानदार सफल भयो तर सोलुखुम्बुको सदरमुकाम सल्लेरी कारबाही भने निर्धारित समयमा हुन सकेन । दुई दिनपछि गरिएको सोलु–सल्लेरी कारबाही पनि सफल नै भयो तर त्यहाँ रहेको नेपाली सेनाको क्याम्प भने कब्जा हुन सकेन ।
लडाइँका क्रममा ७ जना प्रहरी र मेजरसहित १४ जना शाही नेपाली सैनिकको मृत्यु भयो । जनमुक्ति सेनातर्फ ७ जनाको क्षति भयो । शाहीसेनाका विरुद्ध पहिलो पहलकदमीपूर्ण यस आक्रमणमा सेनाका सयौँ अत्याधुनिक हतियारहरू कब्जा भए । ५ थान ८१ एमएम मोर्टार, ३ थान टु इन्च, ३ थान रकेट लन्चर, २ थान जीपीएमजी, २ थान वेस्ट स्नाइपर, १४ थान एलएमजी, ४८ थान एसएमजीसहित सयौँको सङ्ख्यामा एसएलआर तथा थ्री नट थ्री राइफल कब्जा गरिए । बम, गोलीहरूलगायत कैयौँ ट्रक युद्ध–सामग्रीसमेत कब्जा भयो । उता त्यही दिनमा गरिएको स्याङ्जा सदरमुकाम हमला जनसेनातर्फ बिनाकुनै क्षति सदरमुकाममाथिको ऐतिहासिक सफल हमला बन्यो । सल्लेरीको हमला भने त्यो दिन हुन सकेन । कारबाहीका लागि नजिकै पुगिसकेको बेला जनसेनाको एकजना सदस्यले ग्रिनेड विस्फोटको दुर्घटना गरिदिँदा निर्धारित योजना रद्द गरियो । दुई दिनपछि अर्थात् मङ्सिर १० गते गरिएको सल्लेरी हमलामा सेनाको ब्यारेकबाहेक सम्पूर्ण सदरमुकाम जनसेनाले कब्जा गर्न सफल भयो । कारबाहीमा १४ जना जनसेनाको क्षति भयो । विगतका सम्पूर्ण लडाइँहरूको संश्लेषणसहितको यी आक्रमणहरूमा जनमुक्ति सेनाद्वारा कुशल युद्धक्षमता प्रदर्शन गरियो । जनमुक्ति सेनाको यो एक व्यवस्थित र बृहत् हमला थियो । यी ठूला कारबाहीको मद्दतमा देशैभरि अन्य थुप्रै साना र प्रचारात्मक कारबाहीहरू भएका थिए ।
शाहीसेनामाथि ‘काउन्टर अप्रेसनल’ कारबाही : लिस्ने–गाम भिडन्त, रोल्पा
माओवादी पार्टीले शाहीसेनामाथिको हमला सुरु गरिसकेपछि ऊ यसलाई निरन्तर बढाउन चाहन्थ्यो । पुरानो सत्ताको विघटन वा कम्तीमा पनि उसलाई फौजी ढङ्गले समेत झुकाउन निरन्तर विजयको जरुरी थियो । दाङको केही समयपछि अछाम सदरमुकाम मङ्गलसेनको हमला र विजयले यो कुराको पुष्टि गर्दछ । त्यसको थप निरन्तरताका लागि दोस्रो धक्काको कार्यक्रम तय ग¥यो ।
शाहीसेनाको अप्रेसन फोर्समाथि जनसेनाबाट गरिएको यो पहिलो हमला थियो । यो निकै शानदार सफल भयो । गाम सैन्य–बेसक्याम्पमाथि हमला प्रकारान्तरले अमेरिकी सैन्य रणनीतिका विरुद्धको हमला थियो । यो हमलामा शाहीसेनाको सर्मनाक पराजय भयो । जनाधार क्षेत्रलाई निशाना बनाएर सुरु गरिएको पुरानो सत्ताद्वारा सञ्चालित ‘सर्च एन्ड डिस्ट्रोय’ नामक घेरा हाल र सखाप पारको नीतिमा आधारित जनसंहारकारी अभियानमाथि समेत भयङ्कर हमला भयो । गाम हमलापछि रोल्पा, रुकुमका प्रायः सैनिक क्याम्पहरू उठाएर सदरमुकाम र केही निश्चित इलाकामा केन्द्रित गरिए । जनसेनाले यी दुवै कारबाहीमा अत्यन्त उच्च युद्धकौशल र साहस प्रदर्शन गरे । जनसेनातर्फ करिब ४० जनाको क्षति भएको यो कारबाहीमा सेना–प्रहरीतर्फ एक सयभन्दा बढीको क्षति भयो । सेना–प्रहरीका सयौँ थान अत्याधुनिक हतियारहरू जनसेनाले कब्जा गर्न सफल भयो ।
व्यवस्थित किल्लाबन्दीविरुद्धको आक्रमण सन्धिखर्क, अर्घाखाँची
जब रोल्पाको गाममा रहेको शाही नेपाली सेनाको अप्रेसन बेसक्याम्प जनमुक्ति सेनाले ध्वस्त पारिदियो, तब त्यसको चोट नेपाली सेनालाई होइन, सीधै अमेरिकालाई पर्न गयो । त्यसपछि नेपाली सेनाले आफ्नो रणनीति बदल्यो । आफ्नो किल्लाबन्दीलाई बलियो बनाउने र रक्षात्मक पङ्क्तिको लडाइँ लड्ने उनीहरूको विशेष रणनीति बन्यो जुन कुरा जनमुक्ति सेनाका लागि नयाँ चुनौती बन्यो । यही कुरालाई ख्याल गरी माओवादी पार्टीले आफ्नो रणनीतिमा नेपाली सेनाको व्यवस्थित किल्लाबन्दीसमेत तोड्ने नयाँ योजना बनायो जसअनुसार २०५९ भदौ २३ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमाथि आक्रमणको योजना तय भयो । यो आक्रमणमा भारी मात्रामा अत्याधुनिक हतियारहरू– एलएमजी, एसएमजी, एसएलआर, टु इन्च मोर्टार, राइफल, पेस्तोल, रिभल्बोर, म्यग्नम, हर्नेटजस्ता १७५ थान हतियार तथा ४ करोड ४५ लाख नगद, २० किलो सुन र जिन्सी गरेर थुप्रै युद्धसामग्री कब्जामा लियो ।
बाहिरी पङ्क्तिका उच्च प्रतिहमलाहरू : पण्डौन, खैरीखोला, सिद्धधारा, कृष्णभीर र लेउतीखोला
मङ्सिर १ गते जनमुक्ति सेनाले काठमाडौँ–चितवन पृथ्वी राजमार्गको कृष्णभीरमा सडक जाम गरी शाहीसेनालाई योजनाबद्ध बोलाएर आक्रमण ग¥यो । उक्त कारबाहीमा पहिला माइन विस्फोट गरी त्यसलगत्तै फायरबाट आक्रमण गरिएको थियो । सडक अवरोध हटाउन भनेर शाहीसेना गाडी र पैदल दुवै तरिकासहित आएको थियो । शाहीसेना जब आफ्नो निर्धारित ठाउँमा आइपुग्यो तब जनसेनाले भीषण आक्रमण सुरु ग¥यो । शाहीसेनाले सकेजतिको प्रतिरोध ग¥यो तर टिक्न सकेन । केही मिनेटमै आफ्नो निर्धारित सफलता हासिल गरेर जनसेना आफ्नो बाटो लाग्यो । समग्र जनयुद्धको यो एक चर्चित कारबाही हो । यो कारबाहीमा शाहीसेनातर्फ ४ जनाको र जनसेनातर्फ २ जनाको मानवीय क्षति भएको थियो । कारबाहीबाट जनमुक्ति सेनाले १ थान टु इन्च मोर्टार, ६ थान इन्सास राइफल, २ थान एसएलआर, २ थान एसएमजीलगायत हतियार कब्जा गरेको थियो । बोलाएर आक्रमण गर्ने तरिकाअनुसार नै मङ्सिर १ र २ गते बाँकेको खैरीखोलामा जनमुक्ति सेनाको एउटा टुकडीले लगातार पुरानो सत्ताको सेना र सशस्त्र प्रहरीसँग भिडन्त ग¥यो । उक्त भिडन्तमा आफ्नोतर्फ बिनामानवीय क्षति जनमुक्ति सेनाले सशस्त्र प्रहरीका ८ थान एसएलआर र एक थान ५१ एमएम मोर्टार कब्जा गर्न सफल भयो । जनसेनालाई लखेट्न भनेर अप्रेसनको व्यापक सरजामसहित गएको यो टुकडीलाई ‘एन्टी अप्रेसन प्लान’ मा जनसेनाले आक्रमण गरेको थियो । भिडन्तमा शाहीसेनातर्फ ९ जना र जनमुक्ति सेनातर्फ ११ जनाको क्षति भयो । यसक्रममा शाहीसेनाले भीषण हवाई हमलासमेत गरेको थियो तर शाहीसेनाको केही जोर चलेन । उनीहरू पछाडि हटे । कारबाहीबाट जनमुक्ति सेनाले उनीहरूको साथमा रहेका अत्याधुनिक हतियारहरू १ थान एम १६ कोल्ट कमान्डो, १ थान ४० मिमी लन्चर सेट एम १६ तथा ४ थान एम १६ ए टु गरी कुल ६ थान एम १६ कब्जा गरेको थियो ।
मङ्सिर ३० गते अर्घाखाँचीको सिद्धधारा दोबाटोमा योजनाबद्ध फायर एम्बुसद्वारा गस्तीमा निस्केको शाहीसेनाको पैदल फोर्समाथि जनमुक्ति सेनाले अर्को हमला ग¥यो । पूर्व–पश्चिम राजमार्गमा गरिएको यो आक्रमणबाट जनसेनाले शाहीसेनाको साथमा रहेका १ थान एलएसडब्लू र ८ थान इन्सास राइफल कब्जा ग¥यो । यो हमलामा जनमुक्ति सेनातर्फ कुनै पनि मानवीय क्षति भएन । शाहीसेनातर्फ १९ जनाको घटनास्थलमै क्षति भयो ।
पुस १७ गते धनकुटाको लेउतीखोलामा जनमुक्ति सेनाले शाहीसेनाको एउटा टुकडीमाथि अर्को एउटा हमला ग¥यो । फायर एम्बुसको तरिकाले गरिएको यो हमला सडकलाई अवरुद्ध बनाएर बोलाएर गरिएको थियो । शाहीसेनाको टुकडीलाई नजिकभन्दा नजिक आउन दिएर गरिएको यो आक्रमणमा दुवै पक्षबीच गुत्थमगुत्थाको लडाइँसमेत भएको थियो । शाहीसेनाले घटनास्थल आउनुपूर्व निकै ठूलो बमबार्ड गरी एरिया क्लियरको कारबाही गरेको थियो । त्यसका बाबजुद पनि जनसेनाले आफूलाई उद्देश्यमा अविचलित राखेर आक्रमणका लागि कुरेर बसेको थियो जसको परिणाम नै लडाइँमा जनसेना शानदार विजयी भयो । यो लडाइँमा जनसेना शाहीसेनाका दर्जनाँै अत्याधुनिक हतियार खोस्न सफल भयो । शाहीसेना र प्रहरीतर्फ भने दर्जनौँको क्षति भयो ।
भारतीय प्रविधिविरुद्धको हमला : पिली, कालीकोट
२०६२ साउन २३ गते पिलीमा रहेको शाहीसेनाको ब्यारेकमाथिको भीषण आक्रमण गरी अत्यन्त शानदार सफलता हासिल गरिएको थियो । पिली कारबाही एकातिर जनयुद्धको आन्तरिक जीवनका उपर्युक्त प्रश्नहरूको जबाफ थियो भने अर्कोतिर जनयुद्धको इतिहासमै सबैभन्दा धेरै स्वचालित हतियार कब्जाको कारबाही बन्न पुग्यो । जनसेनाद्वारा दिउँसै जीपीएमजी र ८१ मिमी मोर्टारबाट आक्रमणको सुरुआत गरिएको थियो । त्यसपछि एसल्ट गु्रपहरू क्याम्पको तीनतिरबाट घेराबन्दी गर्दै (एक साइडमा भीर भएकाले) अघि बढेका थिए । लडाइँमा जनमुक्ति सेनातर्फ दुई दर्जनभन्दा बढी र शाहीसेनातर्फ १५९ जनाको मानवीय क्षति भयो । ६४ जना शाहीसेनालाई जनसेनाद्वारा बन्दी बनाइयो । उनीहरूलाई केही समयपछि ससम्मान छोडिएको थियो । कारबाहीबाट १ थान ८१ मिमी मोर्टार, १ थान जीपीएमजी, टुइन्च मोर्टार २ थान, एसएमजी २ थान, ब्राउनिङ २ थान, एसएलआर ८० थान, इन्सास ७० थान र एलएमजी २० थान कब्जा भएका थिए ।
शाही निरङ्कुशताविरुद्ध प्रतिरोधको सन्देश : तानसेन आक्रमण, पाल्पा
चुनबाङ बैठकले ढाडमा टेकेर टाउकोमा हान्ने नीति पारित ग¥यो । मध्यक्षेत्रले मुख्यतः राजधानी आसपास, पूर्व र पश्चिमले पूर्व–पश्चिम राजमार्गलाई युद्धक्षेत्र निर्धारण गरी सैन्य कारबाहीका स्थानहरूसमेत छनोट गरिए । यो परिभाषामा सिङ्गो योजनाको केन्द्रीय टाउको राजधानी थियो भने कमान्ड, क्षेत्र र जिल्लाका टाउकाहरू पनि सापेक्षित रूपमा निर्धारण गरिएका थिए । सामान्यतः सहर, सदरमुकाम र सडक टाउकाको परिभाषामा राखिएका थिए । त्यसअन्तर्गत पश्चिम कमान्डको गण्डककेन्द्रित जनमुक्ति सेनाले पाल्पाको सदरमुकाम आक्रमण गरेको थियो । यो आक्रमणपूर्व गण्डक केन्द्रित जनमुक्ति सेनालाई शाहीसेनाले निकै ठूलो घेराबन्दी गरिरहेको थियो । पैदल र हवाई हमलाहरू दिनहुँजसो भइरहेका थिए । त्यही आक्रमण र घेराबन्दीकै बीचबाट गरिएको यो आक्रमण भएको थियो । यो अवधिमा देशभरि अरू सयौँ सानाठूला कारबाहीहरू भएका थिए । राजधानीको थानकोट र दधिकोट तथा सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा गरिएका हमलाहरू पनि निकै उच्चस्तरका थिए । तर ती सबैको नेतृत्व तहमा भने पाल्पा आक्रमण नै रहन गएको थियो ।
(२८ औँ जनयुद्ध दिवसका अवसरमा यो सामग्री कमरेड दीपकको ‘जनयुद्ध र जनमुक्ति सेना : सङ्क्षिप्त सिंहावलोकन’ पुस्तक २०७४ बाट लिएर पुनः प्रकाशन गरिएको हो– सम्पादक)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :