विदेशीहरू आफ्ना दलाल लगाएर नेपाललाई खोक्रो र असफल बनाइरहेका छन् : सुदर्शन

‘चिकित्सा शिक्षा र पुँजी–प्रतिभा पलायन’ विषयमा अखिल क्रान्तिकारीले चलायो गम्भीर बहस

विदेशीहरू आफ्ना दलाल लगाएर नेपाललाई खोक्रो र असफल बनाइरहेका छन् : सुदर्शन

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले विदेशी शक्तिहरू आफ्ना दलालहरूमार्फत नेपाललाई खोक्रो, कमजोर र असफल बनाउन लागिपरेको र संसद्वादी दलहरू विदेशी शक्तिका दास बनेर देश र जनताको हितविपरीत हिँडिरहेको बताएका छन् ।
अखिल (क्रान्तिकारी) द्वारा राजधानीको संवाद डबलीमा बुधबार आयोजित ‘चिकित्सा शिक्षा र पुँजी–प्रतिभा पलायन’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रवक्ता सुदर्शनले नयाँ जोस लिएर उदाएका हौँ भन्नेहरूले पनि जनतालाई निराश बनाएको, युवाहरू देशमा रहिरहे विदेशी हस्तक्षेपको प्रतिरोध गर्ने हुनाले युवा तथा प्रतिभा पलायनको वातावरण बनाइरहेको पनि बताए ।
उनले आफूसँगै जनयुद्धमा लडेका प्रचण्डको भनाइ र गराइमा आकाश–जमिनको फारक भएको प्रस्ट पार्दै भने, ‘उहाँले हामीलाई एउटा कुरा पढाउनुभयो तर आफू अर्कै बाटो लाग्नुभयो । उहाँ आज सत्तामा भएर के गर्नु, जनता झन् आहत छन् । प्रचण्डले व्यवस्था परिवर्तनका लागि लड्ने र लडाउने कार्य गर्नुभयो तर आफैँ त्यही दलाल संसदीय व्यवस्थाको भासमा पसेर झन् देश असरल्ल पार्नुभयो ।’
उनले दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन क्रान्तिमार्गमा निरन्तर अघि बढिरहनुपर्ने धारणा पनि राखे ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले देशमा काङ्ग्रेस, कम्युनिस्ट वा नयाँ जोससहित जनताबाट चुनिएर सरकार र सत्तामा पुगेका कसैले पनि जनअपेक्षाअनुसार काम गर्न नसकेकाले आशा र भरोसा गर्न लायक मान्छे नै नरहेको बताए । कोइरालाले परिवर्तनका पुराना नाराले केही नहुने भन्दै सबैले व्यवहार सुधार्नुपर्ने धारणा राखे ।
चिकित्सा शिक्षा आयोगका सदस्यसचिव भोजराज काफ्लेले ऐननियमले पारेका जटिलताहरू सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा (बहुमत) का कार्यालय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ ले वर्तमान संसदीय व्यवस्थामा कर्पोरेटरहरूले राजनीतिज्ञहरूलाई पनि आफ्नो पन्जामा पारेर सरकार र सत्ता चालइरहेकाले देश असफलतातिर गएको बताए । दीपकले देशबाट दैनिक हजारौँ युवा तथा विद्यार्थीसँगै अर्बौंको ढुकुटी पलायन गराउने अनि देशलाई कङ्गाल बनाएर असफल राष्ट्रमा परिणत गराउने विदेशी षड्यन्त्र उदाङ्गो भएकाले युवाहरू पुनः जागरुक हुनुपर्नेमा जोड दिए । उनले विदेशी कुचेष्टामा यहाँका नेताहरू सम्मिलित भएको विषय दिनको घामजस्तै छर्लङ्ग भएको प्रस्ट्याउँदै भने, ‘आज युवाहरू निराश भएर प्रेम आचार्य हुने कुराभन्दा पनि चे ग्वे भारा हुने सोच्नुस् । फेरि एकपटक विदेशी एजेन्टहरूलाई पराजित गरेर युवाका सपना पूरा गर्नुपर्छ ।’
सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्लेले देशमा हरेक क्षेत्रमा राजनीति चलेको, ऐन, नियम र कानुनमा प्रस्टै अधिकार प्रत्यायोजन गरिए पनि विविध कारण देखाएर काम गर्ने वातावरण नभएको बताए ।
नेकपा बहुमतका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका अखिल (क्रान्तिकारी) का फ््रयाक्सन इन्चार्ज पूर्णबहादुर सिंहले कार्यक्रमको विषयवस्तु राख्दै देशबाट हजारौँ प्रतिभा र पुँजी पलायन गर्न कन्सल्ट्यान्स र विदेशी सम्बन्धन प्राप्त कलेजले मुख्य भूमिका निर्वाह गरेकाले उनीहरूलाई कडा नियमन गर्नुपर्ने धारणा राखे ।
शिक्षा मन्त्रालयकी उपसचिव दुर्गा कँडेलले युवा विद्यार्थी निराश नभएर देशमै भविष्य खोज्ने वातावरण निर्माण भइरहेको बताइन् ।
क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले शैक्षिक तथा चिकित्सा क्षेत्रमा व्यापारीकरण, दलालीकरण हुँदै माफियाकरणमा गएकाले त्यसविरुद्ध कडा आन्दोलनको आवश्यकता भएको बताए ।
फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका महासचिव निर्मल सापकोटाले सरकारी विश्वविद्यालयले पनि निजीले जस्तै शुल्क बढाएर महँगो बनाउने, कोटा तोक्ने तर गुणस्तरमा सुधार नगर्ने काम गरिरहेकाले शिक्षा तथा चिकित्सा क्षेत्र बिग्रिएको बताए ।
कार्यक्रममा इन्स्टिच्युट अफ मेडिसिन महाराजगन्जको डिन कार्यालयले सहमति कार्यान्वयन नगरेको भन्दै चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका प्रवक्ता सूर्यबहादुर थापाले आफूहरूलाई निराश बनाएको बताए । सङ्घर्ष समितिका ४ दर्जन विद्यार्थीले प्लेकार्ड प्रदर्शन गरेर ध्यानाकर्षण गराएका थिए ।
अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले विद्यार्थीले बेथितिका विरुद्ध गरेको अन्दोलनलाई कमजोर ठानिएमा ठूलो क्षति हुने चेतावनी दिए ।
सङ्गठनका उपाध्यक्ष वीरेन्द्र शाहले देशमा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था काहालीलाग्दो भएको बताए । कार्यक्रममा आन्दोलनरत विद्यार्थीका तर्फबाट चिकित्सा शिक्षा सुधार समितिका सदस्य सूर्यबहादुर थापाले पनि मन्तव्य राखेका थिए । सङ्गठनका अध्यक्ष राईको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव रूपा बुढामगरले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :