अखिल क्रान्तिकारी मधेस ब्युरोको बैठक सम्पन्न

अखिल क्रान्तिकारी मधेस ब्युरोको बैठक सम्पन्न

हरिवन (सर्लाही)/नेकपा (बहुमत) का सचिवालय सदस्य एवम् मधेस ब्युरो इन्चार्ज नयनले संसदीय व्यवस्थाको भन्डाफोर गर्ने, राष्ट्रघाती सन्धि–सम्झौता र दलाल संसदीय व्यवस्थाले दिएको उपहार महँगी, भ्रष्टाचार, कालोबजारीका विरुद्ध व्यापक आन्दोलन गर्नुपर्ने बताएका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी) मधेस प्रदेशको प्रथम पूर्ण बैठकमा प्रमुख अतिथिको मन्तव्य राख्दै इन्चार्ज नयनले भने, ‘विद्यार्थी भनेको चुम्बकजस्तै हो । क्रान्तिकारी विद्यार्थी सङ्गठनले क्रान्तिकारी विद्यार्थीको शक्तिशाली सङ्गठन निर्माण गरेर वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको आन्दोलन अघि बढाउनु अपरिहार्य छ ।’

बैठकका विशिष्ट अतिथि सङ्गठनका केन्द्रीय सचिव नवराज भट्टले शिक्षा क्षेत्रमा देखिएका समस्या, व्यापारीकरण, निजीकरण, माफियाकरणका विरुद्ध सङ्घर्ष गर्दै शिक्षालाई राज्यको अनिवार्य दायित्वको विषय बनाउन निरन्तर सङ्घर्ष गर्नुपर्ने बताए । उनले वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि सम्पूर्ण युवा–विद्यार्थी निरन्तर सडक आन्दोलनमा लाग्नुपर्ने बताए ।

भट्टले विद्यार्थीलाई जागृत गराउन तत्काल प्रज्वल सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्न निर्देशन पनि दिए । चैत ५ गते हुने स्ववियु निर्वाचनमा लाग्न पनि उनले मातहतका सङ्गठनलाई निर्देशन दिएका थिए ।

अखिल क्रान्तिकारी मधेस प्रदेशको प्रथम पूर्ण बैठक सर्लाही हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सम्पन्न भएको हो । बैठक सङ्गठनका मधेस प्रदेश इन्चार्ज उपेन्द्र परियरको अध्यक्षतामा बसेको थियो । बैठकमा पार्टीका सर्लाही–महोत्तरी इन्चार्ज झमानसिङ, सर्लाही जिल्ला संयोजक बिहानी पनि अतिथिका रूपमा उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :