जनयुद्धका तीन सहिदकी आमाको घरमा २० वर्षपछि पक्राउ पुर्जी

नेकपा बहुमतद्वारा सहिदको घरमा पुर्जी टाँसिएकोमा गम्भीर आपत्ति र घोर भत्र्सना

जनयुद्धका तीन सहिदकी आमाको घरमा २० वर्षपछि पक्राउ पुर्जी

काठमाडौँ/नेकपा (बहुमत) दोलखाले सहिद केशरराज स्वराज रिमाल ‘विपीन’ को घरमा १९ वर्षपछि पक्राउ पुर्जी टाँसेकोमा घोर आपत्ति प्रकट गरेको छ ।

पार्टीका दोलखा इन्चार्ज विनयराज शर्मा र संयोजक अन्जन लामाले आइतबार विज्ञप्ति जारी गरी २०६० साल मङ्सिर १९ गते हालको कालिञ्चोक गाउँपालिका ७ स्थित बन्चरेमा तत्कालीन राज्य पक्षबाट नियन्त्रणमा लिई जघन्य हत्य गरिएका केशरराज स्वराज रिमाल ‘विपीन’ को बलिदान भएको ३ वर्षपछि २०६३ साल जेठ २८ गते अदालतमा दर्ता गरिएको कथित विस्फोटक पदार्थ, हातहतियार, खरखजाना ओसारपसार मुद्दामा वर्तमान सरकारको गृह प्रशासनले गत पुस २५ गते पक्राउ पुर्जी बोकेर उनकी आमाको घरमा पुगेको विषयमा आश्चर्यचकित मात्रै बनाएको नभएर निकम्मा, दलाल राज्यसत्ताप्रति जनविश्वासमा समेत प्रश्नचिह्न खडा भएको उल्लेख गरेका छन् ।

स्मरणीय के छ भने एउटै परिवारबाट केशरराज स्वराज रिमाल ‘विपीन’ का साथै उनका भाइ नवीनराजस्वराज रिमालकी जीवनसँगिनी लक्ष्मी पराजुलीको २०५९ साल साउन १८ गते दोलखाको बोद्लेमा र दाजु केशव स्वराज रिमालको ओखलढुङ्गाको रगनीमा २०५९ सालमा बलिदान भएको थियो । सरकारले छोरा र बुहारीको बलिदानको झन्डै दुई दशकपछि पनि सहिदकी आमाको हातमा उल्टै पक्राउ पुर्जी थमाएर जनयुद्धका सहिदको घोर अपमान गरेको छ ।

इन्चार्ज विनयराज र सयोजक अन्जनको विज्ञप्तिमा भनिएको छ, ‘तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित महान् जनयुद्धका क्रममा २०६० साल मङ्सिर १९ गते हालको कालिञ्चोक गाउँपालिका ७ स्थित बन्चरेमा तत्कालीन राज्य पक्षबाट नियन्त्रणमा लिई जघन्य हत्या गरिएका महान् सहिद क. केशरराज स्वराज रिमाल ‘विपीन’ का विरुद्ध मृत्यु भएको ३ वर्षपछि २०६३ साल जेठ २८ गते अदालतमा दर्ता गरिएको विस्फोटक पदार्थ, हातहतियार, खरखजाना ओसारपसार कथित मुद्दामा वर्तमान सरकारको गृह प्रशासनले गत पुस २५ गते पक्राउ पुर्जी बोकेर उनकी आमाको घरमा पुग्नुलाई आश्चर्यचकित मात्रै बनाएको छैन, निकम्मा दलाल राज्यसत्ताप्रति जनविश्वासमा समेत प्रश्नचिह्न खडा भएको छ । यसले द्वन्द्वकालीन घाउहरूमा नुनचुक लगाउने काम गरेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो घटनाबाट वर्तमान सरकार संशोधनवादी कम्युनिस्टहरू सत्तामा पुगेपछि कतिसम्म उन्मत्त र गैरजिम्मेवार हुन्छन् भन्ने कुरा स्पष्ट हुन्छ जब कि प्रतिक्रियावादी राज्यबाट क्रूर हत्या गरिएका महान् सहिद क. विपीनका नाममा १९ वर्षपछि पक्राउ पुर्जी जारी गर्नु र मुद्दा दर्ता गर्नुले वर्तमान दलाल संसदीय व्यवस्था कस्तो हो भन्ने कुरा छर्लङ्ग भएको छ । हाम्रो पार्टी यस घटनाको गम्भीर आपत्ति र घोर भत्र्सना गर्दै सहिद र सहिद परिवारप्रति उच्च सम्मान गर्दै क्षतिपूर्तिको समेत माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :